‘घाँटी हेरेर हाड निल्नुपर्छ, २० रुपैयाँमा पाइने चियामा २०० खर्च नगरौं’

  २०८१ चैत ४ गते ११:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘ग्लोबल मनि विक २०२५’ को उद्घाटन सत्रमा बोल्दै उनले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने धारणा राखेका हुन् ।

‘घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको खर्च गर्नुपर्छ, जसको क्षमता जेछ सोही अनुसार व्यवहार गर्नुपर्छ, क्षमता छैन भने अनावश्यक खर्च पनि गर्नुहुँदैन,’ २० रुपैयाँमा पाइने चियाको २०० रुपैयाँ किन खर्च गर्ने,’ उनले भने ।

बैंकभित्र बचतका पनि विभिन्न प्रडक्टहरु हुने गरेको बताउँदै उनले त्यस विषयमा पनि बुझ्न आवश्यक रहेको बताए । पछिल्लो समय डिजिटल कारोबार बढेको बताउँदै त्यसमा आफू धेरै सन्तुष्ट रहेको बताए । डिजिटल कारोबारमा अवसरसँगै धेरै चुनौती पनि रहेको सुनाउँदै सबैले सर्तक भएर कारोबार गर्यो भने सुरक्षित बन्न सकिने बताए ।

उनले सबैको पहुँचमा बैंक खाता पुर्याउने लक्ष्य रहेको बताउँदै बैंकमार्फत बचत गरेर भविश्य सुनिश्चित गर्न सुझाव दिए ।

वित्तीय ज्ञानले व्यक्तिको व्यवहारमा पनि परिवर्तन ल्याउन भूमिका खेल्ने उनको भनाइ छ । वित्तीय साक्षरताले स्वच्छ समाज र सिंगो राष्ट्रलाई पनि स्वच्छ बनाउन भूमिका खेल्ने उनको धारणा छ ।

उनले विद्यालयको पाठ्यक्रममा पनि वित्तीय साक्षरतालाई समावेश गर्ने छलफल भइरहेको जानकारी दिए । वित्तीय शिक्षाको महत्वपूर्ण पाटो ‘फोर्स सेभिङ रहेको बताए ।

बैंक तथा वित्तीय संस्थाहरुले ‘लर्न, सेभ एण्ड अर्न’को नाराका साथ ग्लोबल मनि विक मनाइरहेका छन् । १३औैं संस्करणको ग्लोबल मनि विक नेपालमा राष्ट्र बैंकको नेतृत्वमा आयोजना हुँदै आएको छ । एक साताभर ग्लोबल मनि विक आयोजना गर्ने अभ्यास छ ।