२०८१ चैत ५ गते १४:१० इन्द्रसरा खड्का
काठमाडौं । काठमाडौंको ठैबका राकेश मगर (नाम परिवर्तन) लाई ६ महिना पहिले ह्वाट्सएपमा एउटा म्यासेज आयो । उनले हत्तपत्त मेसेज खोले । जहाँ लेखिएको थियो- तपाईं भाग्यशाली हुनुहुन्छ, तपाईंले लक्की ड्रमार्फत ५ हजार बोनस जित्नुभएको छ, यो रकम तपाईंले प्राप्त गर्न केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।’
राकेश पनि पाँच हजारमा लोभिए । उनले थप कुरा गरे । ह्वाट्सएपमै उनीसँग जोडिएको व्यक्तिले भनेअनुसार उनले त्यही काम गर्दै गए । कुरा हुँदै जाँदा उनलाई पैसा पठाइदिने बैंक डिटेल्स मागियो । राकेशले जे-जे काम उसले लगायो ती सबै काम गर्दै गए । नभन्दै उनको खातामा पाँच हजार रुपैयाँ आयो । उनी खुसी भए ।
त्यो व्यक्ति को थियो ? रकम केको आधारमा आयो ? उनलाई केही थाहा थिएन र यो विषयमा खोजी पनि गरेनन् । उनलाई फेरि प्रलोभन देखाइयो । ती व्यक्तिले उनलाई अब तपाईं लगानी गर्नुहोस्, त्योबापत तपाईंलाई यति प्रतिशत बानेस आउँछ भन्दै प्रलोभन देखायो । राजेश पनि जसोजसो भन्यो त्यहींअनुसार काम गर्दै गए । सुरुमा उनले केही रकम पाउँदै गए । उनी झन् आकर्षित भए । कामै नगरी पैसा आउन थालेपछि उनको काम दिनभरि अनलाइनमै बस्ने भयो ।
राकेशलाई यसरी अन्य साथीहरू पनि यो काममा लगाउन भन्यो । उनले अरु साथीहरूलाई पनि सिकाउँदै गए । जब उनले लगानी गर्दागर्दै दुई लाख पुर्याए तब एकाएक उनीसँग कुराकानी गर्ने व्यक्तिले उनलाई ब्लक गरे । एउटा अन्जानको व्यक्तिसँग ह्वाट्स एपमा बोलेकै कारण राकेशले आफूसँग भएको पैसामात्र गुमाएनन्, उनले काम गर्न लगाएका अन्य साथीहरूको पैसा पनि गयो । अहिले उनीहरू साइबर ब्यूरोमा धाइरहेका छन् ।
राकेश त एक प्रतिनिधि पात्रमात्र हुन् । पछिल्लो समय पढेलेखेका मात्र हैन, बैंकर, सीए, शिक्षकदेखि डाक्टरहरू पनि स्क्यामरको पासोमा पर्न थालेका छन् । काठमाडौंको भोटाहिटीमा रहेको साइबर ब्यूरोमा अहिले यस्ता दैनिक ४० भन्दा बढी व्यक्ति यसरी नै फसेको गुनासो लिएर आउने गरेका छन् ।
धन सम्पत्ति भएकाहरू नै टार्गेटमा
ठगी र स्क्यामको जालोमा सर्वसाधारणमात्रै होइन, पढेलेखेका शिक्षित व्यक्ति नै पर्ने गरेका छन् । साइबर ब्यूरोका प्रवक्ता दीपक अवस्थी प्रविधिमा राम्रै दख्खल भएका व्यक्ति पनि यसको सिकारमा पर्ने गरेका बताउँछन् ।
उनी भन्छन्, ‘स्क्यामरले यस्तो जालो बनाएका छन् कि व्यक्तिको दिमागलाई इमोसनल ब्ल्याकमेलिङ गरेर व्यक्तिलाई आफ्नोबसमा पार्छन् । जो स्क्यामरको जालोमा पर्छ, ऊ तबसम्म त्यहाँबाट उम्कँदैन जब ऊ आफूसँग भएको सम्पत्ति सक्दैन ।’
प्रवक्ता अवस्थीले एकजना डाक्टर एक करोड रुपैयाँ डुबेपछि बल्ल साइबर ब्यूरोमा पुगेको जानकारी गराए । यस्ता ठगहरूले उच्च प्रोफाइल भएका र धनसम्पत्ति भएकाहरूलाई बढी टार्गेट गर्ने गरेको पाइएको छ ।
‘उनीहरूसँग यतिसम्मको सूचना हुन्छ कि यो व्यक्ति कस्तो हो, उसले के काम गर्छ, कति सम्म कमाउँछ भन्नेसम्मको जानकारी हुन्छ,’ उनी भन्छन्, ‘हामीले कल्पनासमेत गर्न नसकेका कुराहरू ठगले पत्ता लगाउन सक्छ ।’
अवस्थी यस्ता जालोबाट उम्कन कुनै पनि अपिरिचत व्यक्तिले पठाएको भिडियो, फोटो लिंक नखोल्ने र त्यस्तो मेसेज आउनेबित्तिकै रिपोर्ट गर्ने अथवा ब्लक गर्नुपर्ने बताउँछन् ।
ठग्ने विदेशी, ठगिने नेपाली
नागरिकलाई ठगी गर्ने व्यक्तीको जालो पत्ता लगाउन प्रहरीलाई नै हम्मे हम्मे नै पर्ने गरेको छ । यसमा कारोबार गर्ने व्यक्तिदेखि बैंक खाता समेत नेपाली नै प्रयोग भएको पाइन्छ । नेपाली खाता नै प्रयोग आएको प्रमाण भेटिँदा अपराध कार्यमा संग्लग्न व्यक्ति नेपाली हो वा विदेशी भन्ने नै प्रहरीलाई पहिचान गर्न गाह्रो हुन्छ ।
अहिलेसम्म भएको अनुसन्धानका आधारमा नेपाली नागरिकलाई प्रयोगमा ल्याइ कारोबार पनि नेपाली बैंकमै भएपनि उनीहरूले पठाएको मेसेज अथवा आवाज सुन्दा विदेशी नै हो भन्ने देखिएको अनुसन्धानमा संलग्न व्यक्तिकोहरूको भनाइ छ ।
‘उनीहरूले स्पष्ट नेपाली बोलेको पनि पाइँदैन, गुगल ट्रान्सलेट गरेर नेपाली बोलिरहेको जस्तो देखिएकाले विदेशीहरूले नेपालमा जालो फैलाएको प्रवक्ता अवस्थीको बुझाइ छ ।
स्क्यामको कुरा गर्दा सबैभन्दा पहिलो सामाजिक सञ्जालमा एउटा विज्ञापन आउँछ । जहाँ घरमै बसेर लगानी गरेर पैसा कमाउन सकिन्छ, त्यहाँ क्लिक गरेपछि त्यो मान्छेसँग कुरा हुन्छ, कुरा गर्दै जाँ ह्वाट्सएप र टेलीग्रामतिर लान्छ । टेलिग्राम ग्रुप बनाएको हुन्छ ।
अवस्थी भन्छन्, ‘अहिलेसम्मको केस हेर्दा यो सञ्चालन गर्ने व्यक्ति नेपालभन्दा बाहिरको जस्तो देखिने गरको छ । तर, समस्या पैसा नेपालीको खातामा मात्र गएको देखिन्छ । पैसा पठाउँदा नेपाली क्युआर कोड दिन्छ । यसरी हेर्दा नेपाली नै पीडक र पीडित दुवै छन् । बाहिर रहेको मान्छेले खुल्ला बोर्डरका कारण भेटेर पनि लिन सक्ने वा हुण्डीमार्फत लिन सक्ने भएकाले नेपाली खाताबाट लिएको पाइँदैन ।’
‘मुख्य खेलाडी बाहिरकै हो जस्तो लाग्छ । एउटा यो पनि हुनसक्छ । तर, अर्को बाहिरको नामले नेपालभित्रै यो गेम चलाइरहेको पनि हुन सक्छ,’ उनले थपे ।
उनी यस्ता सूचना समयमा पनि नआउने भएकाले ट्र्याक गर्न पनि सजिलो नभएको बताउँछन् ।
उच्चपदस्थ व्यक्तिकै नामबाट ठगी
नेपालमा ठगी गर्ने मनसाय भएका व्यक्तिले उच्च पदस्थ व्यक्तिको इमेलबाट समेत ठगी गरेका घटनाहरू छन् । साइबर ब्यूरोका अनुसार नेपाल प्रहरीका उच्च अधिकारीको नामबाट व्यक्तिको इमेलमा तपाईंले यो–यो ठाउँमा गैरकानूनी काम गर्नुभएको छ भन्दै धम्कीपूर्ण इमेलहरू पठाउने र २४ घण्टाभित्र यसको प्रतिउत्तर नदिए यस्तो उस्तो दण्ड जरिवाना र सजाय तोकिने छ भन्दै इमेल पठाउने गरेको पाइएको छ ।
यसरी पठाएको इमलेमा इमेल प्राप्त गर्ने व्यक्तिले प्रक्रिया जनाउने बित्तिकै व्यक्तिको पुरै विवरण ह्याकरले ह्याक गर्ने गरेको पाइएको छ । अवस्थी भन्छन्, ‘अदालतको आदेशबमोजिम नेपाल प्रहरीको साइबर ब्यूरो, राष्ट्रिय अनुसन्धान केन्द्र, केन्द्रीय अनुसन्धान विभागको दायरामा परेको भन्दै ठग्ने प्रवृत्ति बढेको छ ।’
इमेलबाट डर देखाइ पैसा माग्ने मारमा सबैभन्दा बढी व्यवसायीहरू पर्ने गरेका छन् । यसरी उच्च पदस्थको नामबाट इमेल पठाइ ठग्ने गिरोहको बारेमा अनसन्धान गर्दा जर्मनीको डोमेनबाट आएको पत्ता लागेको छ । डिजिटल अरेस्ट नाम दिइएको यस्तो ठगी नेपालमा पनि बढ्दै गएको अवस्थीले बताए ।
यस्ता घटनाहरू केही समय पहिले भारतलगायत अन्य देशमा बढ्दै गएको भएपनि नेपालमा पनि यो जालो फैलिएको छ । अवस्थी नेपालमा साइबर सुरक्षासम्बन्धी चेतनाको अभावका कारण यस्ता घटनाहरू बढ्दै गएको बताउँछन् ।
७ महिनामा ७८ करोड बढी ठगी
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा मात्र ७८ करोड ४० लाख २० हजार १ सय २७ रुपैयाँ बढीको ठगी भएको छ । योभन्दा अगाडि आर्थिक लागत नराख्ने गरिएकोमा चालु आर्थिक वर्षयता भने आर्थिक रकमको पनि लागत राख्ने गरेको ब्यूरोले जानकारी दिएको छ ।
साइबर ब्यूरो स्थापना भएयताको हिसाब नराखेपनि अनुमानका आधारमा मात्रै अर्बौं रुपैयाँसम्मको ठगी भएको हुनसक्ने अधिकारीहरू बताउँछन् । ७ महिनामा ७८ करोड बढी रकम ठगीको उजुरी परेपनि पीडितलाई भने जम्मा चार करोड जतिमात्र फिर्ता गर्न सकेको प्रवक्ता अवस्थी बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ब्यूरोमा दर्ता भएका पाँच हजार एक सय ७३ उजुरीमा यतिको रकम ठगी भएको पाइएको हो ।
उनी आर्थिक रूपमा डिजिटल, अनलाइनमार्फत ठग्नेक्रम नराम्रो बढिरहेको छ । अब पनि नागरिक सचेत हुने होइन भने अवस्था अझै भयाभह हुन सक्ने उनको भनाइ छ ।
बर्सेनि बढ्दै उजुरी
विश्वमा जति धेरै प्रविधिको विकास भयो, त्यसैगरी अपराधिक गतिविधिको पनि ग्राफ बढेको छ । नेपाली जानी नजानी भए पनि गलत काम गर्दैछन् । आफ्नो खाताको दुरुपयोग गरेर आएको पैसा अर्को खातामा पठाउने १० प्रतिशत, ५ प्रतिशत कमीशन खाने र पैसा कमाइ भइरहेको छ भन्ने सोचले गलत गरिरहेका छन् । यसरी जानअञ्जानमा गरिरहेको काममा भोलिका दिनमा तिर्न पर्यो भने तिनीहरुको थाप्लोमा आउँछ । अहिलेसम्म तिनीहरुको खाताबाट जति पठाइएको छ, त्योअनुसारको तिर्नुपर्ने बाध्यता हुन सक्छ ।
तीन वर्षको तथ्यांक हर्ने हो भने पनि नेपालमा यस्ता ठगीका घटना बढ्दै गएका छन् । साइबर ब्यूरोको तथ्यांकअनुसार आजभन्दा तीन वर्ष अगाडि अर्थात आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय १५ उजुरी परेका थिए भने गत आर्थिक वर्ष तथ्यांक बढेर चालु आर्थिक वर्ष २०८०/०८१ मा चार हजार एक सय उजुरी परेका थिए ।
चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामै पाँच हजार एक सय ७३ उजुरी साइबर ब्यूरोमा उजुरी परेका छन् । तीन वर्षको तथ्यांक मात्र हेर्ने हो भने पनि अवस्था डरलाग्दो देखिएको छ । यस्ता ठगहरूको जालोबाट ठगिनबाट बच्न विज्ञहरू अपिरिचत कुनैपनि व्यक्तिले पठाएका लिंक वा म्यासेजलाई इग्नोर गर्नुपर्ने बताउँछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.