जापानमा एक वर्ष : बैंकको किस्ता र साहुको ऋण

  २०८१ चैत ५ गते १७:५७     भुवन केसी

परदेशमा आत्महत्या गर्नेहरूको संख्या बढ्दै गएको देखेपछि मेरो मनमा लागेका, परदेश आएपछि मैले भोगेका, देखेका र अनुभव गरेका केही तीतामीठा सन्दर्भहरू जस्ताको त्यस्तै यस आलेखमार्फत प्रस्तुत गर्न मन लागेर पाठकहरूमाझ यो सामग्री पस्केको छु । हेर्दाहेर्दै स्वदेश छाडेर विदेशी बनेको पनि करिब एक वर्ष पुरा हुन लागेछ । यो एक वर्षको अवधिमा मैले परदेशमा केही कुरा सिक्ने, देख्ने र भोग्ने अवसर पाएँ । परदेश के रहेछ ? घरदेश र परदेशमा के फरक रहेछ ? परदेशमा नेपालीको अवस्था कस्तो छ ? नेपाली-नेपालीबीचको व्यवहार कस्तो हुँदो रहेछ ? के-कस्ता काम गर्नुपर्ने रहेछ ? काम पाउन र कमाउन कत्तिको सजिलो, असजिलो रहेछ ? भन्ने बारेमा मैले प्रत्यक्ष देखे-भोगेका अनुभव र थाहा पाएका केही कुरा यस आलेखमार्फत प्रष्ट पार्ने कोसिस गरेको छु ।

हामी धेरैलाई थाहा भएकै कुरा हो, परदेश आफ्नो देशभन्दा बाहिरको देश हो । नेपालको सन्दर्भमा भन्नु पर्दा हाम्रो देशको सिमाना भन्दाबाहिर जानु परदेशिनु हो । मानिसहरू विभिन्न कारणले परदेशिने गर्दछन । रोजगारी, अध्ययन, व्यापार व्यवसायका लागि मान्छे विदेशिन्छ । घरदेश र परदेशबीच धेरै कुराहरूमा भिन्नता छ । अहिलेलाई यसरी बुझौं जहाँ हाम्रो जन्म हुन्छ, हाम्रो पहिचान हुन्छ, समाज र संस्कृति हुन्छ । भाषा, परिवार र घर हुन्छ त्यो हाम्रो घरदेश हो । जहाँ हाम्रो लागी सबै चिज नयाँ हुन्छ । हामीले जानेको केही पनि हुँदैन । हाम्रो कोही पनि हुँदैन । हाम्रो बस्ने खाने वातावरण फरक हुन्छ । भाषा, संस्कृति र अपनत्वको कमी हुन्छ । संघर्ष र अवसर दुवै हुन्छन, त्यो परदेश हो ।

धेरैको मनमा लाग्न सक्छ, घर छोडेर विदेशिएका नेपालीहरूको परदेशमा व्यवहार कस्तो हुन्छ होला ? उनीहरूबीचको सम्बन्ध कस्तो हुन्छ होला ? यो विषय व्यक्तिमा निर्भर हुने विषय हो । व्यक्तिले जन्मसिद्ध बोकेर ल्याएको र सामाजिक वातावरणले तयार गरेको आनीबानी उसले घरदेश वा परदेश जहाँ भएपनि अभिव्यक्त गर्दछ । कसैको सहयोगी, दयालु र समन्वयतात्मक भावना हुन्छ । उनीहरुमा मानवीय पक्ष सवल हुन्छ । दुःख अनि आपत विपतमा परेकाहरूलाई सहयोग गर्नु उनीहरुको आदत हुन्छ ।

अर्काथरिमा मानवीय भावनामा सहयोगी भाव कम हुन्छ । ‘आफू भलो त जगत भलो’ भन्ने सोच राख्ने उनीहरूमा दया, मायाभन्दा आडम्वर, स्वार्थ र निर्दयीपना बढी हुन्छ । जसले कुनै प्रकारको मानवीय कार्यमा सहभागिता जनाउनुलाई फगत समयको बर्बाद सम्झन्छन । परदेश आएका धेरै नेपालीहरू विभिन्न समस्याले जेलिएका हुन्छन । काम नपाउनुमात्र हैन समय-समयमा दुःख बिरामी हुनु नेपालीहरूको समस्या हो । यति मात्र होइन, कहिलेकाहीँ त प्राणघातक रोगहरू पनि लाग्ने गर्दछ । यस्तो रोग लाग्दासमेत पहिलो थरिका नेपालीहरू सहयोग गर्न अघि सरेका हुन्छन, अभियान सञ्चालन गरेर सहयोग गर्नु आफ्नो धर्म र कर्म दुवै सम्झन्छन ।

दोस्रो थरि मान्छेलाई यी सब चिज फगतजस्तो लाग्छ । मलाई यस्तो लाग्दैन कि परदेशमा सबैलाई राम्रो छ । यसको मतलब यो पनि होइन कि परदेशमा सबैलाई नराम्रो छ । यो सबै आफ्नो भाग्य, मिहिनेत र परिश्रमको कुरा हो । मैले यहाँ राम्रो कमाएर राम्रो प्रगति गरेका मान्छेहरू पनि देखेँ । अर्को, यहाँ बिचल्लीमा परेका खान बस्न समेत समस्या भएका र कलेजको शुल्क जुटाउन समेत धौ–धौ भएका मान्छेहरु पनि देखेँ । यस्तो समस्या मैले पनि भोगेँ । परदेश आएको एक वर्ष पुग्नै लाग्दा यस अवधिमा मैले करिब ६ महिना मात्रै काम गर्ने मौका पाएँ ।

६ महिना कमाएको पैसाले विदेशमा ६ महिना पनि खान पुग्दैन । नेपालबाट आउँदा लागेको ऋणको त के कुरा गर्नु र ? एक दिन मात्रै काम नगरेर खाली बस्ने हो भने कति गाह्रो छ कति । त्यो विदेशमा आएर काम नपाएर बसेकालाई मात्रै थाहा हुँदो रहेछ । परदेशमा एक्लै रहने अनि हर परिस्थितिमा खुशी हुँदै संघर्ष र परिश्रम गर्नुपर्ने हुन्छ । हामीले घरदेशबाट हेर्दा सामाजिक सञ्जालमा देखिने मनोरम र सुन्दर दृश्यहरु हाम्रा लागि बनेका हैनन् कि जस्तो लाग्छ । ‘हाफ फआई’ गर्दै ढल्कदै हिँडेका, चिल्लो कारको अगाडी पछाडी बसेर, चिल्ला सडकमा गगनचुम्बी महललाई दायाँ–बायाँ पारेर खिचेका फोटाहरु घरदेशबाट हेरे जस्तो छैन परदेश ।

आफुभित्र अलिकति हिम्मत नभएपछि निकै गाह्रो हुनसक्छ परदेश । कोही नभएपनि आफ्नो लागि भएपनि बाँच्नु पर्छ भन्ने सकारात्मक सोंचको विकास गर्न सक्ने जस्तोसुकै खराब परिस्थिति सँग पनि मुकाविला गर्न सकिन्छ । आफुप्रतिको विश्वास टुट्न नदिनु मुख्य कुरा हो । मनोवल सधैँ उच्च राख्ने काम गर्नुपर्छ, कहिल्यै पनि हिम्मत हार्नु हुँदैन । परदेश आइसकेपछि समय परिस्थिति अनुसार जे जस्ता समय र परिस्थिति आएपनि म सहन सक्छु र जमेर सामना गर्ने औकात छ भन्ने उच्चस्तरको आत्मविश्वास हुनु पर्दछ ।

परदेश आएपछि यति चाहिँ सोच्नैपर्छ कि घरमा रहेका ती बुढा आमाबुवाको आर्शीवाद लिएर निधारमा टिका लगाई दिँदा दिएको आशीषवचन । बुवा आमाले आशिरवचनका साथ बोलेको शब्दहरु हाम्रो मानसपटलमा सधैँ ताजा रहनु पर्दछ । ती बुढा आमाबुवाको खुसीका लागी भएपनि केही गर्नेपर्छ । परदेशी जीवन यस्तै हो । श्रम गर्दा पसिना बग्छ नै । आफन्तजन र प्रीयजनहरुको यादले आँसु बग्छ । चाडपर्वको समयमा त अझ बढी घरदेशको यादले मुटु पोल्छ, अनि छाती चिरिएको भान हुन्छ । तर, पनि हामीले कहिल्यै हिम्मत भने हार्नु हुँदैन । आफुले आफैसित प्रतिस्पर्धा गर्नुपर्छ न कि अरु सँग ।

अरुको कमाइ कति छ ? अरुको घर परिवार कस्तो छ ? अरुको तलब कति छ ? यस्ता कुरामा कहिल्यै ध्यान दिनु हुँदैन । मेरो कसैसँग प्रतिस्पर्धा छ भने त्यो म आफै हो भनेर सोचाइ राख्नुपर्छ । आफुलाई अरुको तुलना गर्दा मान्छे कहिल्यै सुखी र खुसी हुँदैन । आफुलाई कमजोर बनाउने काम कहिल्यै गर्नु हुँदैन । आत्महत्या गर्ने सोंच कहिल्यै राख्नु हुँदैन । हामी करोडौ शुक्रकिटहरुलाई जितेर आएका हौं । आमाको गर्भमा रहँदादेखि नै प्रतिस्पर्धा र संघर्ष गर्दै आएका हामी संघर्षदेखि किन डराउनु ? हामीले कहिल्यै पनि हार मान्नु हुँदैन ।

हामीले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार भएर बस्नु पर्छ । परिस्थिति अनुकुल भए ठिकै छ प्रतिकुल भए अनुकुल बनाउने प्रयासमा लाग्नु पर्दछ । परदेश आएपछि धेरै कुरामा तनाब हुन सक्छ । कहिले एक्लै भइएला, एक्लै भए भनेर निराश होइन, भोलीको आशमा अघि बढ्नु पर्छ । धेरैमा त डिप्रेशनको समस्या देखिने गर्छ । यस्तो बेला आफुमा आत्मविश्वास अधिक हुनु पर्दछ । सधैँ सकारात्मक सोंच राख्नु पर्छ । आफ्नो मन लाई नियन्त्रण गर्ने क्षमताको विकास गर्नुपर्छ । आत्मविश्वका साथ आफैसँग लड्नु पर्छ, भिड्नु पर्छ । परदेशमा हामी घरदेशमा सोचेको जस्तो सजिलो छैन । सपनाको गन्तव्य त कति टाढा छ कति ।

मेहनत गर्न मन लाग्दैन । मेहनत नगरेसम्म गन्तव्यमा पुग्न सकिँदैन । गन्तव्यमा नपुगेसम्म हाम्रो आत्मबल दह्रो हुँदैन र बनाउन सकिँदैन । त्यो गन्तव्यसम्म पुग्न निकै कठिन हुन्छ । आएको चार पाँच वर्षसम्म नेपालबाट आउँदा लागेको ऋण तिरी नसकेका हरु पनि थुप्रै भेटेको छु । पदरदेश आएपछि मान्छेलाई पैसाको मात्रै ऋण हुँदैन । यहाँ कतिपय गुनासोका पनि ऋण हुन्छन् । कसैको बैैगुनको ऋण हुन्छ । कतिपयको बचनको ऋण हुन्छ । सबैभन्दा ठूलो कुरा यहाँ आएपछि इज्जतको ऋण हुन्छ । सुनौलो भविष्य निर्माण गर्ने इच्छा हुन्छ । त्यसैले पीडा बिनाका मान्छे भेटाउन नै गाह्रो हुन्छ । पीडा कसलाई हुँदैन र ? सबैलाई छ फरक यत्ति हो कसैले रोएर देखाउम्छन त कसैले मनभित्रै गुम्साएर राख्छन् ।

त्यसैले आत्महत्या समस्याको समाधान कदापी होइन । बरु के भएको छ, आफ्नो परिवारसँग कुराकानी गर्नुपर्छ । सबै कुरा बुझ्न सक्ने मान्छेलाई आफ्ना समस्या सुनाउनु पर्छ । कसैले पनि गलत निर्णय लिनु हुँदैन । एकदिन सबै सोचेको जस्तो हुन्छ भनेर मनलाई चित्त बुझाउनु पर्छ । सान्त्वना दिनुपर्छ । विदेशमा बस्ने हामी पनि यहाँ गरिने संघर्ष र पश्रिमका कहानीहरुलाई वास्तवविक रुपमा देखाउनुपर्छ । जस्तो बि विदेश आउँदा साहु महाजनवाट लिएको ऋण, अनि हरेक महिना बैंकलाई तिर्नु पर्ने किस्ताले दिने पीडा, परदेशमा आएपछि होटल, रेष्टुराँ, अस्पताल, सुपरमार्केटमा खटेर गर्नु पर्ने काम । के कस्तो काम गर्दै हुनुहुन्छ त्यो पनि बताई दिनु पर्छ ।

कामको शिलशिलामा हुने मानसिक तनाव र पीडाहरू पनि भनिदिनु पर्छ । विदेशमा बस्दा घरपरिवार, समाज रीतिरिवाज, चाडपर्व लगायत सामाजिक कारणले हुने पीडा पनि सुनाउनुपर्छ । कति समय खट्नु पर्छ त्यो पनि भनिदिनु पर्छ । सामाजिक सञ्जालमा देखिने तपाईंको मोजमस्तीको जीवनशैली तडकभडक भन्दा सामान्य जीवनशैली जीउन सक्नुपर्छ ।

(लेखक केसीको घर गंगादेव गाउँपालिका ६ रोल्पा हो, हाल उनी जापानमा छन् ।)