२०८१ चैत ७ गते ९:५६ विकासन्युज
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना नबिल बैंकबाट बाहिरिने भएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुङ्गानाले पनि सीईओबाट बाहिरिएर गभर्नरका लागि प्रतिस्पर्धा थालेका हुन् ।
अहिले उनी विदामा बसेर राजनीतिक लबिङमा लागिरहेका छन् । ‘गभर्नरका लागि सिफारिस समितिले मेरो नाम पठाएपछि मात्र राजीनामा दिन्छु’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले एक महिनाअघि विकासन्युज प्रतिनिधिसँग भनेका थिए ।
तर, अहिले परिस्थिति परिवर्तन भएको छ । बैंकमा बहालवाला प्रमुख कार्यकारी अधिकृतलाई गभर्नरमा सीफारिस गर्न नसकिने जनाउँदै माथिल्लो तहबाट ढुंगानामाथि राजीनामाको दबाब परेको छ ।
गभर्नर बन्ने तीब्र चाहनासहित प्रतिस्पर्धामा ओर्लिएका ढुंगाना गत सातादेखि देखि नै विदामा बसेका हुन् । प्रमुख कार्यकारी अधिकृत ढुंगाना विदामा बसेको तर राजीनामा गरिनसकेको बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।
सिफारिस हुनुभन्दा अगाडि राजीनामा गर्न आफूलाई सुझाव आएको ढुंगानाले बताए । राजीनामा बारे केही दिनमा निर्णय लिने पनि उनको भनाइ छ ।
सीईओ ढुङ्गानाले डेढ वर्षअघि देखि नै गभर्नर बन्ने योजनासहित सोही किसिमले लबिङ सुरु गरेका थिए । विकासन्युजले २०८० भदौमा उनले गभर्नरका लागि तयारी थालेको समाचार सम्प्रेषण गरेको थियो । त्यसपछि उनलाई धेरैले गभर्नरको प्रतिस्पर्धीको रुपमा चर्चा गरेका थिए ।
नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि दुई दर्जन व्यक्तिले आकांक्षा देखिएका छन् । बैंकका सीईओ, अन्य नियमनकारी निकायममा नेतृत्व गरिसकेका व्यक्तिहरुले राष्ट्र बैंकको गभर्नर बन्न आकांक्षा देखाएका छन् । उनीहरुले सोही किसिमले राजनीतिक लबिङ गरिरहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.