२०८१ चैत ७ गते १६:१५ सीआर भण्डारी
काठमाडौं । गोर्खाज फाइनान्सको गत पुष १४ गते बसेको सञ्चालक समिति बैठकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भए प्रकाशचन्द्र अधिकारी । पुष १८ गतेदेखि लागू हुने गरी अधिकारीलाई कम्पनीले ४ वर्षको लागि सीईओमा नियुक्त गरेको थियो ।
तर, सीईओमा नियुक्त भएको तीन महिनामै अधिकारीको नियुक्ति खारेज भयाे । अधिकारीलाई सीईओमा नियुक्त गर्दा सञ्चालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले कार्य गर्न असमर्थ रहेको भन्दै अधिकारीले निवेदन दिएपछि सीईओ नियुक्ति रद्द गरिएको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मुकुन्द श्रेष्ठले जानकारी दिए ।
कामु सीईओ श्रेष्ठका अनुसार सञ्चालक समितिको चैत्र ६ गते बसेको बैठकले अधिकारीको सीईओ नियुक्तिलाई खारेज गरिएको र सो सम्बन्धमा कुनै सम्झौता नगरिने निर्णय भएको छ ।
‘उहाँको निवदेनअनुसार रद्द गरिएको हो । सञ्चालक समितिमा सर्वसम्मत निर्णय भएन । सर्वसम्मत नहुँदा काम गर्न नसक्ने भनेर निवेदन दिनु भएपछि नियुक्ति रद्द गरिएको हो । उहाँको निवेदन सम्बोधन भएको मात्रै हो,’ कामु सीईओ श्रेष्ठले भने ।
कम्पनीको सञ्चालक समिति अध्यक्ष गौरव बुढाथोकीले सर्वसम्मति हुन नसकेपछि बहुमत प्रक्रियाबाट सीईओ नियुक्त गरिएको बताए । तर, संस्थाको हितका लागि सञ्चालकहरूमा सर्वसम्मति नै हुनुपर्ने माग राखेपछि नियुक्ति प्रक्रिया रद्द गरिएको उनको भनाइ छ ।
‘सञ्चालक समितिले सीईओ नियुक्ति प्रक्रिया अपनाउनुपर्छ । सर्वसम्मतिले प्रकाशजी नियुक्त हुन सक्नु भएन । सर्वसम्मतले नियुक्त नभएपछि बहुमतबाट अधिकारीलाई नियुक्ति गरिएको हो । प्रक्रिया अनुसार सर्वसम्मत कि बहुमत प्रक्रिया अपाइएको हो,’ उनले भने, ‘नियुक्त भएपछि सबै सञ्चालकहरूसँग मिलेर काम गर्नुपर्ने हुन्छ । सञ्चालक समितिले बनाएको नीति नियममा व्यवस्थापनले कार्यान्वयन गर्नुपर्छ । सर्वसम्मत हुन नसक्दा प्रकाशजीले म काम गर्न सक्दिनँ भनेपछि उहाँ बाहिरिनु भयो ।’
अध्यक्ष अधिकारीका अनुसार ५ जना सञ्चालक समितिमा ३ जनाको बहुमत थियो । २ जना सञ्चालकले भने उनको नियुक्तिविरुद्ध सहमति जनाउन सकेनन् । बहुमत विधिबाट जितको सन्देश गएपनि कहिलेकाहीँ संस्थाले हार्न सक्छ । अधिकारी कम्पनीको सीईओमा नियुक्त भएपनि सपथ भने नलिएको उनले बताए ।
‘संस्थाले जित्नुपर्छ । वित्तीय संस्थाको अवस्था राम्रो छैन । सीईओ नियुक्ति नभएको लामो समय भइसक्यो । कसरी अगाडि बढ्ने, कसरी प्रतिफल हासिल गर्ने, कमाउने कसरी भन्ने विषयमा हामी द्रूत गतिमा जाने तयारीमा छौं,’ उनले भने, ‘उहाँ नियुक्त भएपनि तलब भत्ता केही लिनु भएन । करार नै गरिएन । सपथ नै खुवाइएन । नियुक्तिको सूचना मात्रै जारी भयो । नेपाल राष्ट्र बैंकले निरीक्षण गरिसकेपछि हामी सबै ‘पर्ख र हेर’को अवस्थामा थियौं । तर, हालसम्म केही आएको छैन ।’
संस्थामा कार्यकारी प्रमुख नहुँदा संस्था चलाउन गाह्रो हुने गरेको बताउँछन् । कम्पनीलाई संस्थागत सुशासनमा सञ्चालन गर्ने र सेयरधनीलाई लाभांश पाउने अपेक्षा सधैं भइरहने उनले बताए । कम्पनीले गत पुस २९ गते ३०औं वार्षिक साधारण सभा बोलाएको थियो । तर, आवश्यक गणपूरक संख्या नपुगेपछि साधारण सभा स्थगित छ ।
कम्पनीमा नयाँ सीईओ नियुक्त भइसकेपछि छिट्टै स्थगित साधारण सभा बोलाउने उनको भनाइ छ । साथै कम्पनीले सीईओ नियुक्ति प्रक्रिया पनि अघि बढाइसकेको उनले जानकारी दिए ।
३ महिनाअघि कम्पनीको सीईओमा नियुक्त भएका अधिकारी एक दिन पनि कार्यालयन गएनन् । सञ्चालक समितिले सीईओ नियुक्त गरेको र खारेज गरेको जानकारी पाएपनि चिनजान र भेटघाट गर्न नपाएको कम्पनीका एक कर्मचारीले विकासन्युजसँग बताए ।
‘नियुक्त गर्यो भन्ने सूचना देखें । तर, उहाँ एक दिन पनि काम गर्न आउनु भएन । उहाँ र मेरो चिनजान नै भएन । चिनजान नै गर्न पाइएन । अफिस नै आउनु भएन,’ एक कर्मचारीले भने, ‘सञ्चालक समितिले एकतर्फीरुपमा निर्णय गरेको र सहमति नभएपछि उहाँ बाहिरिनु भएको हो भन्ने सुनेको थिएँ ।’
अब कम्पनीको सीईओ इन हाउसबाटै ल्याउनुपर्ने उनले माग गरे । कम्पनीमा कार्यरत कर्मचारीहरू सक्षम रहेकाले आन्तरिक रूपमा नै सीईओ नियुक्त गर्नुपर्ने माग कर्मचारीहरूको छ ।
यस विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाबाटै विभिन्न कैफियतसहित उजुरी परेपछि सीईओ नियुक्तकाे विषयमा अगाडि बढ्न आवश्यक नभएको बताएको छ । राष्ट्र बैंकले यो विषयमा अहिले पनि निरीक्षण तथा अनुसन्धान भइरहेकोले बढी बोल्न आवश्यक नभएको जानकारी दिएको छ ।
को हुन् अधिकारी ?
प्रकाशचन्द्र अधिकारी एनआईसी एशिया बैंकका पूर्वकर्मचारी हुन् । तत्कालीन कमर्स एण्ड ट्रस्ट बैंक नेपाल र नेपाल बैंकमा काम गरिसकेका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि टप थ्रीकाे सूचीमा परेका उनले नेपाल बैंकको माथिल्लो तहबाट बाहिरिएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.