अधिकांश नेपालीकाे मुखमा समस्या, पाउँदैनन् सजिलै उपचार

  २०८१ चैत ७ गते १९:२६     विकासन्युज

काठमाडौं । के तपाईंको मुख स्वस्थ छ ? तपाईंको दाँत वा गिजासम्बन्धी कुनै पनि समस्या छैन ? त्यसो हो भने तपाईं स्वस्थ व्यक्तिको रूपमा पर्नुहुन्छ । चिकित्सकका अनुसार व्यक्तिलाई लाग्ने धेरैजसो रोगहरू मुखबाट लाग्ने गर्छ । आजभोलि मुख स्वस्थ रहेको व्यक्ति भेट्न गाह्रो पर्ने उनीहरू बताउँछन् ।

नेपालमा कति प्रतिशत व्यक्तिमा यो समस्या छ भन्ने यकिन तथ्याङ्क कसैसँग छैन । तर, ९५ प्रतिशतभन्दा बढी व्यक्तिको मुख अस्वस्थ रहेको हुनसक्ने नेपाल डेन्टल एशोसिएसनका अध्यक्ष अर्थात दन्तरोग विशेषज्ञ डा. प्रणय शाक्य बताउँछन् ।

मुख स्वास्थ्य व्यक्तिको शरीरको ऐना हो । शारीरिक मात्र होइन, मानसिक रूपमा पनि स्वस्थ रहन मुख स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने चिकित्सक बताउँछन् । मुख तथा दाँत सम्बन्धका धेरै रोगहरू सजिलै रोकथाम गर्न सकिने भएपनि अहिले आम नागरिककै लागि जनस्वास्थ्यको समस्याका रूपमा देखिएको छ । दन्तचिकित्सक डा. निकिता काफ्ले दूध खाने बच्चादेखि ज्येष्ठ नागरिक यो समस्याबाट ग्रसित रहेको बताउँछिन् । उनी आजभोलि बच्चाहरूमा समेत यो समस्या बढी देखिने गरेको उल्लेख गर्छिन् ।

पीरमा अभिभावक

दोलखाकी ज्योति पाण्डेकी छोरी ६ वर्षकी भइन् । छोरीका सबै दाँत किराले खाएको छ । सबै दाँतमा कीरा लाग्दा उनी अब के गर्ने भन्ने पीरमा छिन् । यतिसम्मकी खाना खुवाँउदा पनि दाँतमा अड्केको कुरा निकाल्ने सिन्को लिएर बस्नुपर्छ ।

यो समस्यामात्रै होइन, आजभोलि गिजा सुनिने, पीप बग्ने समस्या पनि देखिन थालेको छ । छोरीलाई यस्तो समस्या देखिएपनि ज्योतिले चिकित्सकलाई देखाइन् ।

चिकित्सकले अहिलेको दाँत सबै निकाल्नपर्ने सल्लाह दिए । अहिले नै सबै दाँत निकाल्न छोरीको स्वास्थ्यमा समस्या देखिने पीरले उनी अस्पतालबाट फर्केर आइन् ।
‘पैसा पनि धेरै लाग्ने, यतिका सबै दाँत निकाल्दा छोरीलाई गाह्रो होला भन्ने पीरले उपचारै नगराइ घर आएँ,’ उनी भन्छिन्, ‘छोरीको दाँतले गर्दा मलाई निन्द्रा पनि लाग्दैन । उनी दूधे दाँत झरेर अब आउने नयाँ दाँत राम्रो हुन्छ कि भन्ने पर्खाइमा छिन् ।

ज्योतिको जस्तै समस्या कविता खड्कालाई पनि छ । उनकी छोरीका पनि सबै दाँत उसैगरी किराले खाएका छन् । उनी पनि दूधे दाँत झरे नयाँ दाँत राम्रो आउँछ कि भन्ने आशामा छिन् । अहिले धेरैजसो अभिभावक छोराछोरीको दाँतलाई लिएर पीरमा छन् । दाँत झिक्न सानैमा साह्रो होला भन्ने पीर, त्यत्तिकै छोडे भोलि अन्य रोग लाग्छ कि भन्ने पीरले आफूहरूलाई निकै पीर लाग्ने गरेको अभिभावक बताउँछन् ।

दन्त चिकित्सक निकिता आजभोलि अधिकांश बालबालिकामा दाँतको समस्या देखिन थालेको बताउँछिन् । अगाडिको दाँत मात्र नभइ बालबालिकाहरूका पुरै दाँत सखाप भएका अभिभावक अस्पताल पुग्ने गरेको बताउँछिन् ।

उनी भन्छिन्, ‘कहिलेकाहीं अभिभावक यस्तो अवस्थामा उपचारको लागि अस्पताल पुग्छन् कि नसामा समेत किरा लागेको हुन्छ,’ उनी भन्छिन्, ‘बालबालिकाको दाँतको उपचार गर्नुको साटोँ दाँत झरेर नयाँ आउँछन् भन्ने आशामा अभिभावक बसेका हुन्छन् ।’

डा. निकिताका अनुसार बच्चाको दातमा किरा लाग्नुको कारण चकलेटमात्र होइन । दूधले पनि यो समस्या निम्त्याउँछ । बच्चालाई बोटल चुसाएर सुताउँदा बालबालिकाको पछाडिको बंगरा र माथिको अगाडिको माथिपट्टि किरा लाग्ने सम्भावना धेरै हुन्छ ।

तलको दाँतमा लागेको दूध थुकले पखाल्दा किरा लाग्दैन भने माथिल्लो भागमा किरा लाग्छ । तीन वर्षसम्मको बच्चामा बोटलको दूध चुसाउँदा समस्या हुन्छ ।

दुखाइ सहनै कठिन

दाँतको समस्या अन्य समस्या भन्दा धेरै दुखाइ र सहन पनि कठीन हुन्छ । चिकित्सकहरू दुखाइमात्र अस्वस्थ हुनु नभएको भन्दै यसले निम्त्याउने समस्या खतरनाक हुने बताउँछन् । दाँतमा, गीजामा आएको समस्यालाई हामीले बेवास्ता गरे क्यान्सरसमेत लाग्ने जोखिम रहन्छ । तर नेपालीको बानी जबसम्म दुख्दैन अथवा सहन नसक्ने गरी दुखाइ हुन्छ तब बल्ल अस्पताल पुग्ने हुन्छ ।

दाँतको समस्या दाँत र गिजामा मात्र सीमिति हुँदैन । यो टाउकोदेखि खुट्टासम्मको विभिन्न नशासम्म जोडिएको छ । लापरवाही गर्यो भने निको हुन धेरै समय अनि पैसा पनि धेरै लाग्छ दाँत, गिजा, हड्डी मांशपेशी तथा तन्तुहरूको स्वस्थ रहनुलाई मुख स्वस्थ भनिन्छ ।

मुखमा रोग भयो भने रगतको माध्यमबाट अरू अंगमा फैलन सक्छ । डा. शाक्य गिजा पनि स्वस्थ हुनु उत्तिकै आवश्यक रहेको बताउँछन् । कुनैपनि खानेकुरा खाइसकेपछि दिनमा तीन पटक अथवा साँझ बिहान दुई पटक भएपनि दाँत अनिवार्य माझ्नुपर्छ ।

चिकित्सकका अनुसार दाँत माझ्न कम्तीमा पाँच मिनेट लगाउनुपर्छ । यसका लागि प्रक्रिया पनि जान्न पनि आवश्यक छ । अनि दिउँसो केही खाँदा पनि मुख कुल्ला गर्नुपर्छ । सुपारी खाने, गुट्खा चपाउने, चुरोट बिँडी खान हुँदैन । दाँत सिरिङ्ङ हुने, माझ्दा रगत आयो भने चिकित्सकलाई देखाउनुपर्छ । घाउ आएको २ सातासम्म निको भएन भने जाँच गर्नुपर्छ ।

फैलिँदै चेतना

मुख र दाँतसम्बन्धी समस्या अहिले पनि धेरै छ । तर, पहिलेको भन्दा जनस्तरमा चेतना पुगेको कतिपय चिकित्सकहरू बताउँछन् । दन्तरोग विशेषज्ञ डा. शाक्य आजभोलि दाँतको उपचार गर्नुपर्छ भन्ने चेतना बढेको बताउँछन् ।

उनी भन्छन्, ‘पहिलेको भन्दा जनचेतना फैलिएको छ, आजभोलि ६–६ महिनामा जाँच गर्न आउनेहरू पनि धेरै भेटिन्छन्, मुखमा कुनै घाउ खटिरा आयो भने पनि यो के हो, कसो हो भनेर सोधीखोजी गर्छन् ।’

आजभन्दा १०–१५ वर्ष अगाडि यस्तो अवस्था थिएन । दाँतमा किरा लाग्दा समेत फुक्ने, किरा झार्न जाने, दुखाइ कम गर्ने भन्दै अनेकथरि दाँतमा राख्ने समस्या थियो । तर अहिले बिस्तारै यो चलन कम हुँदै गएको छ । शाक्य आफ्नै डेन्टलमा पनि आजभोलि दाँत जाँच गराउनेहरूको संख्या बढ्दै गइरहेको बताउँछन् ।

‘पहिलेभन्दा अहिले मान्छेले बुझिसकेका छन्,’ उनी भन्छन्, ‘तर अझै पनि दुर्गमका नागरिकहरूमा यो समस्या धेरै छ । अब हामीले यस्ता सचेतना कार्यक्रम गाउँमा गर्न आश्यक छ । अहिले पनि अस्पतालमा जटिल भएको अवस्थामा आउनेको संख्या पनि उत्तिकै रहेको छ ।’

एशोसियसनले यस्तै जनचेतना फैलाउने, दन्त चिकित्सकका हकमा हकहितको लागि लड्ने दरबन्दी थप गर्न सरकारलाई घच्घच्याउने काम गरिरहेको उनको भनाइ छ ।

सुर्ती र टिमुर राख्नुपर्ने बाध्यता अझै

नेपालमा मुख तथा दाँतका समस्या बढ्दै गएपनि नागरिकले सहज सेवा भने पाउन सकेका छैनन् । सामान्य जाँचभन्दा बाहेक आरसीटीकै लागि पनि सहर झर्नुपर्ने बाध्यता छ । अछामको मेल्लेख गाउँपालकाकी निरु खड्काको दाँत दुख्न थालेको ४० वर्ष भयो । उनको तलपट्टिको दुवैतिरका दाँत किराले खाँदै दुख्दै झरी सके । दाँतको जरामा अहिले पनि दुखाइ भइरहन्छ । दाँत दुखेसँगै कहिले सुर्ती, टिमुर राखेर ४० वर्ष बिताइसकिन् ।

अहिले उनी धनगढी दुई महिनाको समय लिएर दाँतकै उपचारका लागि पुगेकी छिन् । निरुको जस्तै समस्या अहिले हरेक दुरगमका नागरिकले सहेर बस्नु परिरहेको छ । तर स्वास्थ्यलाई नागरिकले पाउनुपर्ने मौलिक हकमा समावेश गरेको सरकारले सेवा भने दिन सकिरहेको छैन ।

उत्पादन छ, दरबन्दी छैन

दुर्गमका नागरिकले यसरी उपचारमा समस्या पाइराख्दा पनि सरकार भने रमिता हेरेर बसिरहेको छ । मुख तथा दाँत सम्बन्धी समस्यालाई सरकारले प्राथमिकतामै नराखेको विज्ञहरू बताउँछन् ।

अहिले नेपालमा अध्ययनका लागि १४ वटा डेन्टल कलेज छन् । ती कलेजहरूमा वार्षिक ५ सय ७५ दन्त चिकित्सक उत्पादन हुन्छ । तर बाध्यता उनीहरू सबैले नेपालमा काम पाउँदैनन् । नेपाल डेन्टल एशोसिएसनका अध्यक्ष डा. शाक्य सरकारले दरबन्दी नथप्दा उत्पादन भएको जनशक्तीले काम पाउन नसकेको बताए ।

उनी अधिकांश चिकित्सक यही कारण विदेश पालयन भएको बताए । नेपाल मेडिकल काउन्सीलमा दर्ता दन्त चिकित्सकको संख्या नेपालमा हाल नेपाल ५ हजार छ । तर सरकारले दन्त चिकित्सकको दरबन्दी नेपालभर ८२ जनाको मात्र राखेको छ ।
वार्षिक ५ सयभन्दा बढी चिकित्सक उत्पादन हुँदा पनि सरकारले दरबन्दी नबढाउँदा एकातिर चिकित्सकले विदेश जानुपर्ने बाध्यता छ भने अर्कोतिर नागरिकले उपचार पाउनबाट वञ्चित भएका छन् ।