नीलम ढुङ्गानालाई किन बोक्यो राससले ?

  २०८१ चैत ७ गते १९:५५     विकासन्युज

काठमाडौं । बुधबार साँझ ५ः५१ मिनेटमा राष्ट्रिय समाचार समिति (रासस)मा एउटा ‘व्यक्ति प्रोफाइल’ प्रकाशित आयो । १ हजार ७ सय ३१ शब्दको सो सफलताको कथाको शीर्षक थियो, ‘नीलमको प्रेरणादायी यात्रा : शिक्षिकादेखि डेपुटी गभर्नरसम्म’ । राससका ग्राहक बनेका अधिकांश सञ्चार माध्यमले सो प्रोफाइललाई महत्वका साथ आ-आफ्नो अनलाइन समाचार पोर्टलमा अपलोड गरे । बुधबार नभ्याउने सञ्चार माध्यमले बिहीबार बिहानै सो समाचारलाई प्राथमिकता दिँदै सम्प्रेषण गरे ।

बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकको पहिलो डेपुटी गभर्नर नीलम ढुङ्गानाको व्यक्ति प्रोफाइल मिडियाहरुले आ-आफ्नो प्रकृति र उद्देश्यअनुसार ‘स्पेश’ दिए । व्यक्ति प्रोफाइलमा खासै जोड नदिने राससले नीलम ढुङ्गानाको सफलताको कथा बनाएर सार्वजनिक गर्नुलाई धेरैले महत्वकासाथ हेरेका छन्, टिप्पणी गरेका छन् र केही आशंका र अनुमान पनि लगाएका छन् ।

नीलमको अहिले न नवनियुक्ति हो नत तत्काल राष्ट्र बैंकबाट बाहिरिँदै छिन् । वि.सं २०७७ फागुनमा नेपालको पहिलो महिला डेपुटी गभर्नर बनेकी नीलममाथि राससको आँखा चार वर्षपछि मात्रै कसरी पर्यो ? राष्ट्र बैंकमा अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र पनि छन्, मिश्रलाई वेवास्ता गर्दै राससको नजरमा नीलम कसरी परिन् ? नेपाल राष्ट्र बैंककै गभर्नर महाप्रसाद अधिकारीले राससमा अहिलेसम्म नपाएको स्पेश नीलमले कसरी पाइन् ? अहिले उनी कार्यवाहक गभर्नर बनेको तर्क दिने हो भने पनि उनले यसअघि पनि पटक-पटक सो जिम्मेवारी निर्वाह गरिसकेकी छन् । यी र यस्तै प्रश्न र जिज्ञासा आफैंमा अनुत्तरित छन् । तर, सरकारी स्वामित्व रहेको राससको आँखामा नीलम पर्दा धेरैको चासो बढेको छ ।

अहिले नेपाल राष्ट्र बैंक नयाँ नेतृत्वको पर्खाइमा छ । हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने समय नजिकिँदै गर्दा सरकार नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढिसकेको छ । गभर्नर अधिकारीको कार्यकाल दोहोरिने सम्भावना लगभग समाप्त भइसकेको छ । त्यसैले पनि दुई दर्जन व्यक्ति गभर्नर बन्न लबिङ गरिरहेका छन् । त्यो लबिङको बिचमा राष्ट्र बैंकभित्रकै क्याडरहरु पनि लागेका छन् । अहिलेका डेपुटी गभर्नर नीलम ढुङ्गाना र बमबहादुर मिश्र पनि गभर्नर बन्ने दौडमा छन् ।

अधिकारीले नयाँ गभर्नर नियुक्तिको विषयलाई सहजीकरण गर्नका लागि उनी विदामा बसिसकेका छन् । त्यसैले पनि वरिष्ठताका हिसाबले नीलमलाई अधिकारीले कार्यवाहक गभर्नरको जिम्मेवारी दिँदै आफू घरमा आराम गरिरहेका छन् । यही समयमा राससले नीलमको व्यक्ति प्रोफाइल सार्वजनिक गरेर उनको थप मार्केटिङ गरेको छ । उसो त नीलम पनि अहिले काम गरेर अफिसमै बस्न सक्ने अवस्थामा नरहेको राष्ट्र बैककै कार्यकारी निर्देशकहरु बताउँछन् ।

अहिले नीलमको अधिकांश समय राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्नमै बित्छ । विशेष गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली काँग्रेसका शीर्ष नेताहरुसँग उनले नियमित भेटघाट गरिरहेकी छन् । अर्का डेपुटी गभर्नर मिश्र पनि नेताहरुको घैरदैलोमै व्यस्त छन् । राष्ट्र बैंक स्रोतका अनुसार दुवै जना डेपुटी गभर्नरको समय अहिले राष्ट्र बैंकभन्दा पनि नेताहरुको घरदैलोमै बितिरहेको छ ।

यही समयमा सरकारी स्वामित्व रहेको राससमा आफ्नो सफलताको कथा छपाएर नीलमले बजारमा नयाँ सन्देश सम्प्रेषण गरेकी छन् । राससमा प्रधानमन्त्री तथा मन्त्रीहरुको सफलताको कथाले बिरलै पाउने स्पेश नीलमले सहजै पाएकी छन् । केही दिनअघि एउटा सञ्चार माध्यमले निलम स्वार्थ समूहको उम्मेद्वार बनेको विषय प्रकाशन गरेपछि नीलमको अहिले राष्ट्र बैंकभित्र मात्रै होइन, राजनीतिक बृत्तमा पनि यो विषयको चर्चा हुने गरेको छ ।

सो विषय बाहिरिएको केही दिनमै उनले आफ्नो सफलताको कथा राससलाई सुनाएर मिडिया-मिडियामार्फत आफ्नो गुनगान गाउन लगाएकी छन् । उनले सो सफलताको कथामा राष्ट्र बैंकमा प्रवेश गर्दै गर्दा गभर्नर बन्ने सपना नभएको भए पनि अहिले भने आफू गभर्नरका लागि सक्षम रहेको सन्देश प्रवाह गरेकी छन् ।

राससले उनको सफताको कथामा ‘वरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुंगानाका अगाडि नेपालको पहिलो पटक महिला गभर्नर बन्ने सम्भावनाले पछ्याइरहेको’ उल्लेख गरेको छ । उनी वरिष्ठ डेपुटी गभर्नर भएकोले पनि उनी स्वतः गभर्नर बन्न सक्ने र नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने व्यवस्था भएकोले निलम गभर्नर बन्ने बलियो र प्रबल क्यान्डिडेट भएको तर्क राससले राखेको छ ।

‘करिब तीन दशकको यस यात्रामा मैले बैंकमा गरेको मिहिनेत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र धेरै पटक कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्न सक्छु भन्ने पुष्टि हुन्छ,’ उनले रासससँग भनेकी छन् ।

गभर्नरका लागि दुई दर्जन उम्मेद्वार र अर्का डेपुटी गभर्नर मिश्रसँगै राष्ट्र बैंकभित्रकै केही कार्यकारी निर्देशक पनि गभर्नर बन्ने प्रतिस्पर्धामा भइरहेको बेला अनपेक्षित रुपमा सरकारी मिडिया राससले बेमौसमी सफलताको स्वाद चखाएर बजारमा अर्को नयाँ चर्चा र संशय सिर्जना गरेको छ ।