गभर्नरको इज्जत राख्न एनपीएमा घारघुर, बैंकका सीईओहरूले राजीनामा दिन सक्ने

  २०८१ चैत ८ गते १३:५७     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणाली र प्रकाशित वित्तीय विवरणहरूप्रति अविश्वास गर्दै अनुभवी बैंकर्सहरूले वित्तीय क्षेत्रमा ठूलो समस्या रहेको दावी गरेका छन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले राजधानीमा आयोजित एक कार्यक्रममा सीए तथा पूर्व बैंकर्स अनलराज भट्टराईको प्रस्तुति र त्यसमाथिको ग्रुप छलफलको क्रममा उनीहरूले बिदा हुँदै गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि पनि गम्भीर आक्षेप लगाएका छन् ।

पूर्व बैंकर्स सीए अनलराज भट्टराईले बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा समस्या देखिनु, खराब कर्जा बढ्दै जानु, देश ग्रे लिष्टमा पर्नु, २५ करोड रुपैयाँबराबर विदेशी मुद्रा अवैधानिक रुपमा ट्रकमा ओसारपसार हुनु, अनौपचारिक अर्थतन्त्र विस्तार हुनुले देशको औपचारिक अर्थतन्त्रमा लागि गम्भीर समस्या चित्रित भएको बताए ।

सन् २०१५ देखि उच्चदरमा कर्जा विस्तार भएकोमा २०२३ देखि कर्जा विस्तार रोकिएको तर एनपीए वृद्धि उच्चदरमा हुने लागेको उनको विश्लेषण छ ।

‘कर्जा दिने बैंक तथा वित्तीय संस्थालाई पूर्ण पारदर्शी बनाउने प्रयास भइरहेको छ, कर्जा लिने पक्षलाई पारदर्शी बनाउने प्रणालीको विकास नभएकाले पनि कर्जाको दुरुपयोग भएको हो, बैंकहरुले कर्जा असुलीमा अहिले समस्या भोग्नु परेको छ,’ उनले भने ।

नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले अहिले देशको अर्थतन्त्रमा ‘स्ट्रेस र डिस्ट्रेस’ रहेको सुनाए । ‘अरु सबै उद्योग व्यवसाय घाटामा हुने, बैंकले मात्र नाफा कमाउनु पर्ने’ भनेर बैंकरलाई गालि गरिन्थ्यो । अब त्यो गालि बैंकर्सले खानु पर्ने छैन, अहिले बैंक पनि घाटामा जान थालेका छन्,’ उनले भने ।

उनले ४/५ वटा बैंकको खराब कर्जा कर्जा ५ प्रतिशतमाथि देखिएको बताउँदै त्यसमा धेरैलाई खराब कर्जा व्यवस्थापन गर्न सकस भइरहेको सुनाए ।

‘केही बैंकको ५ प्रतिशतमाथि छ, केहीले सकिनसकी ५ प्रतिशत कममा बस्न ४.९, ४.८, ४.७ वा ४.६ प्रतिशत राखेका छन्, उनीहरुले राष्ट्र बैंकले तोकेको मापदण्डभित्र पर्न र व्यवसायमा पर्ने केही समस्याबाट जोगिन घारघुर गरेका मात्र हुन् । उनीहरुको पनि वास्तविक एनपीए ५ प्रतिशत भन्दा माथि छ भनेर बुझ्दा हुन्छ,’ उनले प्रष्ट हुँदै भने ।

यस्तै, कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विनासकारी भूकम्प, कोरोना महामारी तथा विश्व अर्थतन्त्रमा रहेको मन्दीको असर बैकिङ क्षेत्रमा देखिएको धारणा राखे ।

‘बजार अत्यन्तै चुनौतिपूर्ण छ, एनपीए समग्रमा ४.९२ प्रतिशत छ । तर, यो छिमेकी देशहरु भारत, बंगलादेशको तुलनामा धेरै खराब होइन । बंगलादेश र पाकिस्तालमा एनपीए ९ प्रतिशतभन्दा माथि छ । श्रीलंकामा १३ प्रतिशत नाघेको छ,’ उनले भने, ‘नेपालमा ५ प्रतिशतभन्दा कम छ । यसलाई धेरै खराब भन्न मिल्दैन । तर हामी गम्भीर भएर अगाडि बढ्नुपर्छ ।’

यस्तै, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले सहकारी क्षेत्रमा देखिएको समस्याले नगद प्रवाहमा समस्या भइरहेको सुनाए । विगतका दशकमा बैंकहरुले उच्च दरमा कर्जा वृद्धि गरेकोले त्यसको असर अहिले देखिएको उनको बुझाइ्र छ ।

उनले सहकारी क्षेत्र समस्यामा पर्दा उपभोगदेखि व्यापार चक्रमा नकारात्मक असर परेको बताउँदै खाद्यान्यको माग करिब २० प्रतिशतले घटेको धारणा राखे ।

‘निर्माण सामग्रीको उत्पादन र व्यापार घटेको छ, अटोमोबाइल्सको व्यापार पनि घटेको छ, समग्र व्यापार चेनमा संकुचन आउँदा ऋणीले बैंकको कर्जा भुक्तानी गर्न सकिरहेका छैनन्, त्यसले पनि बैंकलाई कर्जा असुलीमा समस्या परेको हुनुपर्छ,’ उनले भने ।

नेक्सजेन म्यानेजमेन्ट कम्पनीका प्रबन्ध निर्देशक रमेशकुमार भट्टराईले २०५८ सालदेखि एसेट म्यानेजमेनट कम्पनीको बारेमा बहस भएको तर अहिलेसम्म कानूनी प्रबन्ध नगरिँदा अहिले बैंकिङ क्षेत्रका लागि आवश्यक बैकिङ एसेट म्यानेजमेन्ट कम्पनी अभाव भएको धारणा राखे ।

ब्याजमा सहुलियत दिने, कर्जा पुर्नसंरचना गर्ने, नीतिगत रुपमा प्रथामिकताका क्षेत्रमा कर्जा प्रवाहमा दवाव सिर्जना गर्ने कार्यले बैकिङ क्षेत्रमा एनपीए बढेको बताए ।

‘आउटगोइङ गभर्नरसावले सबै बैंकका सीईओहरुलाई बोलाएर म जाने बेलामा बैकिङ क्षेत्र नराम्रो नदेखियोस् भनेर एनपीए ५ प्रतिशतभन्दा कम राख्न भनेको थिए ।यो सतप्रतिशत सत्य हो ,’ उनले कार्यक्रममा भने -‘चैतपछि एनपीए झन् बढ्ने छ ।’

बैंकका सीईओहरुले इमान्दारपूर्वक प्रोभिजन गर्ने हो भने र प्रुडेन्ट नर्म अनुसार जाने हो भने बैंकहरुको एनपीए १५ प्रतिशतसम्म जान सक्ने उनको भनाइ छ । वर्तमान गभर्नर विदा भएपछि बैंकहरुको एनपीए पनि बढ्ने र धेरै बैंकको सीईओहरुले राजीनामा दिएर हिड्ने अवस्था आउने विश्लेषण उनको छ ।

बैंकहरूको बास्तविक वित्तीय विवरण वाहिर सार्वजनिक नहुनुमा सीएहरू पनि जिम्मेवार भएको उनले बताए । ‘सीएहरु पनि इमान्दार भएनन् । व्यापारीले बिक्रीको आम्दानीलाई खल्तीमा हाल्दा पनि सीएहरुले हिसाब मिलाई दिए । क्यास सेल गरेर कम्पनी घाटा देखिएका छन्, बैंकको कर्जा तिरेका छैनन्, सीएले हिसाब मिलाइदिएका छन् । यो गलत काम भयो । ५० हजार वा एक लाख रुपैयाँ पाउँदैमा एकाउन्ट म्याचिङ गर्ने काम सीएहरुले गर्नु भएन,’ उनले कार्यक्रममा भने ।