२०८१ चैत ९ गते १५:३२ विकासन्युज
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था लागू नगर्नुपर्ने बताएका हुन् ।
राज्यले उहाँहरुलाई मानसम्मान गर्नु ठीक भएपनि सुविधा भने दिन नहुने उनको भनाइ छ । उनले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिए ।
‘मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ,’ उनले भने ।
मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए । औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने उनको भनाइ छ ।
स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिए । उनले बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.