हुलास हायर पर्चेजको नाफामा ९७२.३५ प्रतिशत उछाल, ३ बैंकबाट लियो १ अर्ब ९३ करोड ऋण

  २०८१ चैत १० गते ८:२६     विकासन्युज

काठमाडौं । गोल्छा समूहको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ९ करोड ८१ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९१ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नाफा गत वर्ष ९७२.३५ प्रतिशत बढेको देखिन्छ ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी १७७.५८ प्रतिशत बढेर १३ करोड ७४ लाख २१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ९५ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीले गत वर्ष खुद शुल्क तथा कमिशन आम्दानीबाट २३ करोड ३८ लाख रुपैयाँ, कुल सञ्चाल आम्दानी ३७ करोड १२ लाख रुपैयाँ, खुद सञ्चालन आम्दानी ३२ करोड ४४ लाख रुपैयाँ गरेको छ । साथै, कम्पनीले कर्मचारी खर्चमा ११ करोड १५ लाख रुपैयाँ, अन्य सञ्चालन खर्चमा ४ करोड १३ लाख रुपैयाँ गरी कुल १६ करोड २७ लाख रुपैयाँ गरेको छ ।

८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य रिजर्भ १६ करोड ९ लाख रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको वितरणयोग्य नाफा २८ करोड ४० लाख ६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चित नाफा २४ करोड ९५ लाख ९२ हजार रुपैयाँ मात्रै थियो ।

कम्पनीले बैंकहरूबाट १ अर्ब ९३ करोड ५० लाख ३ हजार रुपैयाँ ऋण सापटि लिएको छ । जसमध्ये ग्लोबल आइएमई बैंकबाट १० प्रतिशत ब्याजदरमा ९ करोड ५१ लाख ८८ हजार रुपैयाँ र ८.९० प्रतिशत ब्याजदरमा ८७ करोड २ लाख ५३ हजार रुपैयाँ, एभरेष्ट बैंकबाट ८.४३ प्रतिशत ब्याजदरमा ५९ करोड ५० लाख रुपैयाँ र सानिमा बैंकबाट ९.७० प्रतिशत ब्याजमा ३७ करोड ४५ लाख ६१ हजार रुपैयाँ ऋण लिएको कम्पनीले जनाएको छ ।

कम्पनीले २०८१ असारसम्म ३ अर्ब ३३ करोड २८ लाख ४७ हजार रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । अघिल्लो वर्ष कम्पनीले २ अर्ब ५२ करोड ३९ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

गत असारसम्म कम्पनीको खराब कर्जा (एनपीएल) ५.७८ प्रतिशत र प्रतिसेयर आम्दानी १२.२७ रुपैयाँ रहेको छ । १९३ कर्मचारी रहेको यस कम्पनीको कुल सम्पत्ति ३ अर्ब ५५ करोड २ लाख रुपैयाँ रहेको छ ।