निजी क्षेत्रले पायो काठमाडौंको फोहर व्यवस्थापनको जिम्मा, महानगरले अब खर्च होइन आम्दानी गर्ने

  २०८१ चैत १० गते १४:११     विकासन्युज

काठमाडौं । देशकै राजधानी काठमाडौं हरेक नेपालीको सपनाको सहर हो । पूर्वदेखि पश्चिमसम्मका नागरिक विभिन्न सपना बोकेर काठमाडौं आइपुग्छन् । सपना पूरा गर्न गाउँ छाड्नेहरुको जमात बढ्दै जाँदा गाउँघर सुनसान हुँदै गएका छन् । यता काठमाडौंमा जनसंख्या बाक्लिदै गएको छ । सहर बाक्लिदै गएसँगै आधारभूत सहरी सेवा तथा सहरी पूर्वाधार र फोहरमैला व्यवस्थापनमा थप चुनौतीपूर्ण बन्दै गएको छ ।

फोहरमैला व्यवस्थापन काठमाडौं उपत्यकाको मात्रै नभएर देशभरको समस्या हो, जुन जनप्रतिनिधिहरूको टाउको दुखाइको विषयसमेत बन्ने गरेको छ । काठमाडौंमा जनसंख्याको चाप बढ्दै जाँदा महानगरभित्र दैनिक उत्पादन हुने फोहरको मात्रा पनि दिनानुदिन बढ्दै गएको छ । हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार ६ सय मेट्रिक टन फोहर निस्कने गर्छ । महानगरले हाल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्दै आएको छ ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको लागि छुट्टै ल्याण्ड फिल्ड साइट नहुँदा महागनगरले बेला–बेला थप समस्या झेल्दै आउनुपरेको समस्याबाट अनविज्ञ कोही छैनौं । तत्कालको लागि फोहर व्यवस्थापनको समस्या समधान भएको देखिएपनि दीर्घकालीन समाधानको लागि भने महानगरले अझै गृहकार्य गर्नुपर्ने देखिन्छ ।

फोहर व्यवस्थापनकै लागि काठमाडौं महानगरले वार्षिक करोडौं रुपैयाँ खर्च गर्दै आइरहेको छ । महानगरले कर्मचारी, फोहोर उठाउन प्रयोग हुने गाडी, औजार लगायतमै वार्षिक १२ करोड खर्च गर्दै आइरहेको हो । ल्याण्डफिल्ट साइट (बञ्चरेडाँडा) लाई महानगरले छुट्टै शुल्क बुझाउनुपर्छ । महानगरका वातावारण व्यवस्थापन विभागका इन्जिनियर रामप्रसाद न्यौपानका अनुसार फोहर व्यवस्थापन र सरसफाइ शीर्षकमा महानगरको वार्षिक ७० करोड रुपैयाँ खर्च हुँदै आएको छ । यो रकम महानगरले राजस्वबाट भुक्तानी गर्दै आएको छ ।

महानगरले फोहरमैला व्यवस्थापनको लागि पनि उल्लेखनीय बजेट विनियोज गर्दै आएको छ । महानगरले आर्थिक वर्ष २०८०÷८१ मा फोहरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित कार्यक्रमको लागि ८७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

हालसम्म महानगर आफैले फोहर व्यवस्थापन गर्दै आइरहेकोमा अब त्यसको जिम्मा निजी क्षेत्रलाई जाने भएको छ । महानगरले पहिलोपटक फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको हो । फोहर संकलन र व्यवस्थापनको लागि महानगरले सातवटा क्षेत्र निर्धारण गरेको छ ।

जसमध्ये ६ क्षेत्रको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रले गर्दैछ भने बाँकी एउटा क्षेत्रको फोहर व्यवस्थापन महानगर आफैले गर्ने भएको हो । फोहर व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्र निर्धारण गरेको विभागका इन्जिनियर न्यौपाने बताउँछन् ।

फोहरबाट आम्दानी

महानगरले फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्दैछ । फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा महानगरपालिका वातावारण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ । हाल महानगरका केही वडामा फोहर वर्गीकरण भइरहेपनि सबै वडामा फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने तयारी महानगरले गरेको हो ।

महानगरका अनुसार नकुहिने फोहर रिसाइकल सुविधाको लागि सात ठाउँमा प्रशोधन केन्द्र पहिचान गरिएको छ । उक्त ठाउँमा प्रशोधन केन्द्र निर्माणको लागि टेन्डर आह्वान गर्ने प्रक्रियामा महानगर छ ।

अहिले केही समयको लागि अस्थायी केन्द्रमै काम गर्ने र त्यसलाई एक वर्षभित्र व्यवस्थापन गर्ने उनको भनाइ छ । महानगरले सुख्खा नकुहिने फोहरको मात्रै नभएर कुहिने फोहरको पनि व्यवस्थापन गर्ने तयारी गरेको छ । उनले भने, ‘कुहिने फोहरको व्यवस्थापनको लागि सोच्दैछौं ।’

इन्जिनियर न्यौपानेका अनुसार हाल कुहिने र नकुहिने फोहर छुट्टाछुटटै संकलन गर्ने, कुहिने फोहरलाई ल्याण्डफिल्ड साइटमा पठाउने र नकुहिने फोहरलाई प्रशोधनको लागि दुई कम्पनीले ठेक्कासमेत पाएको छ । महानगरका अनुसार नेप्सेम्याक सेवा प्राइभेट लिमिटेड र मेची पोली इन्डस्ट्रिजले ठेक्का पाएको छ ।

यी दुई कम्पनीले फोहर संकलन गर्नुका साथै पुनः प्रयोगमा ल्याउन सकिने फोहरलाई प्रशोधन गरेर आम्दानी गर्न सक्ने भएको हो । फोहर रिकभरी र बिक्री गर्ने भएपछि महानगरपालिकाले अब खर्च मात्रै नभएर आम्दानीसमेत गर्ने भएको छ । रिकभरी कम्पनीहरुले फोहर प्रशोधन गरी बिक्री गर्ने र त्यो बिक्रीबापत आएको रकममध्ये सम्झौताअनुसारको रकम महानगरलाई दिनुपर्छ । सम्झौताअनुसार नेप्सेम्याकले ६६ लाख ४२ हजार रुपैयाँ र मेची पोलीले एक करोड १५ लाख बुझाउनुपर्ने हुन्छ ।

इन्जिनियर न्यौपानेका अनुसार सुख्खा फोहर रिकभरीको लागि सात क्षेत्रमै प्रशोधन केन्द्र राखिनेछ । यसरी फोहर रिकभरीमार्फत महानगरले वार्षिक ६ देखि सात करोडसम्म आम्दानी गर्न सकिने अनुमान महानगरले गरेको छ ।

नेप्सेम्याकले विगत २७ वर्षभन्दा बढी लामो समयदेखि फोहर संकलन र व्यवस्थापनमा काम गर्दै आएको बताउँछन् कम्पनीका प्रवक्ता लक्ष्मीप्रसाद घिमिरे । उनका अनुसार कम्पनीले उपत्यकाको मात्रै नभएर देशभरका विभिन्न पालिकाको फोहर व्यवस्थापनको जिम्मा लिँदै आएको छ । महानगरले निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मा सुम्पिनु सकारात्मक कदम भएको बताए ।

‘हामी साना गल्लीबाट स्टेसनसम्म फोहर संकलन गर्छौ । त्यसबाट बिक्री हुन योग्य फोहर छान्छौं, बिक्री नहुने फोहर ल्याण्डफिल्ड साइट लान्छौं,’ उनले भने ।

उनका अनुसार कम्पनीले सुख्खा फोहर प्रशोधनको लागि बालजुमा एउटा फ्याक्ट्री खोलेका छ । कम्पनीले नकुहिने फोहरबाट खानेपानीको पाइप बनाउँदै आएको छ ।

कर्मचारी कटौती हुँदैन

फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने भएसँगै महानगरभित्र हाल सरसफाइ र फोहर व्यवस्थापनमा काम गर्दै आइरहेको कर्मचारीको रोजगारीमा भने असर पर्ने देखिन्छ । तर, महानगरले भने कर्मचारी कटौती नहुने जनाएको छ ।

महानगरका अनुसार फोहर तथा सरसफाइमा खटिएका धेरैजसो कर्मचारी रिटायर्ड हुने अवस्थामा पुगिसकेको हुनाले सम्मानसहित बिदाइ गर्ने महानगरले तयारी गरेको छ । केही कर्मचारीलाई अन्य क्षेत्रमा रोजगारी दिने तयारी महानगरले गरेको हुँदा फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रमा जाँदा कुनै प्रभाव नहुने महानगरले जनाएको छ । हाल फोहर व्यवस्थापन तथा सरसफाईमा १२ सय कर्मचारी रहेका छन् ।