बालशिक्षामा समर्पित एनएमटीसीले मनायो रजत जयन्ती

  २०८१ चैत १० गते १४:१७     विकासन्युज

काठमाडौं । नेपाल मोन्टेसरी ट्रेनिङ सेन्टर (एनएमटीसी) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलमा सम्पन्न गरेको छ ।

बालशिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू र सरोकारवालाहरू एकत्रित भई एनएमटीसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मोन्टेसरी शिक्षाको भावी मार्गचित्रबारे छलफल गरेका थिए ।

औपचारिक समारोहका क्रममा एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले सम्बाेधन गरेकी थिइन् । उनले संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटीसीले पुर्‍याएको प्रभावबारे प्रकाश पारिन् ।

उनले मोन्टेसरी शिक्षकहरूको अथक समर्पण र एनएमटीसीलाई नेपालको प्रमुख प्रशिक्षण संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण समुदायको भूमिका उल्लेख गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएमटीसीको नेपालमा मोंटेसरी प्रशिक्षणको अगुवा भूमिकाको प्रशंसा गर्दै गुणस्तरीय प्रारम्भिक बाल शिक्षाले राष्ट्रको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।

समारोहमा बालशिक्षामा उल्लेखनीय योगदान दिएका व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियाे ।

एनएमटीसी एन्ड्युरिङ एक्सिलेन्स: लङ्गेस्ट सर्भिस अवार्ड र एनएमटीसी एलुम्नाई एक्सिलेन्स इन मोन्टेसरी एजुकेशन लिडरशिप अवार्ड विभिन्न व्यक्तिहरूलाई दिइयाे ।

यसैगरी, प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलका आईबीडीपी विद्यालय काउन्सलर तथा मनोवैज्ञानिक कर्णव प्रभाकरले ‘न्यूरोडेभलपमेन्टल डिसअर्डर र प्रारम्भिक बाल विकास’ विषयमा सेमिनार प्रस्तुत गरेका थिए ।

त्यस्तै, स्पिच एन्ड हियरिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष तथा भाषिक-सुनाइ विशेषज्ञ नीलम लामा दाहालले “भाषा तथा श्रवण विकास: महत्वपूर्ण चरणहरू र प्रारम्भिक जोखिम पहिचान” विषयमा अर्को सत्र प्रस्तुत गरेकी थिइन् ।

२५ वर्षदेखि बाल शिक्षामा अतुलनीय योगदान दिँदै आएको एनएमटीसीले मोन्टेसरी सिद्धान्तहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।