नीर्जीवन बीमा कम्पनीहरूको फागुनसम्मको व्यवसाय २८ अर्ब २ करोड

  २०८१ चैत १० गते १८:१०     विकासन्युज

काठमाडौं । नीर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म कुल २८ अर्बभन्दा बढी लाख बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ नीर्जीवन बीमा कम्पनीले १८ लाख ४३ हजार बीमा लेख जारी गरी कुल २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेका हुन् ।

कम्पनीहरूले फागुन महिनामा मात्रै २ लाख २१ हजार बीमा लेख जारी गरी ३ अर्ब ७५ करोड कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले फागुन मसान्तसम्ममा एक लाख ९७ हजार ५२८ बीमालेख जारी गर्दा कुल ४ अर्ब १ करोड ३९ लाख व्यवसाय गरेको छ । कम्पनीले फागुनमा मात्रै २३ हजार ४१२ बीमालेख जारी गरी ८८ करोड १८ लाख बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले एक लाख ८५ हजार ८७ बीमा लेख जारी गरी सो रकम बराबरको बीमा शुल्क संकलन गरेको हो ।

सलिकोले फागुनमा मात्रै ३८ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी, आईजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले फागुनसम्ममा २ अर्ब ३२ करोड ४४ लाख बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले फागुनमा मात्रै ३४ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

फागुन मसान्तसम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड, फागुनमा मात्रै २८ करोड ८७ लाख, नेको इन्स्योरेन्सले फागुन मसान्तसम्ममा २ अर्ब १९ करोड, एनएलजी इन्स्योरेन्स एक अर्ब ८५ करोड ९१ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड ८६ लाख र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।