राष्ट्रिय जीवन बीमाले डाक्यो प्रथम साधारण सभा, पुँजी वृद्धिसहित ५ वर्षको अडिट पारित गर्ने

  २०८१ चैत ११ गते ९:०५     विकासन्युज

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान)ले साधारण सभा बोलाएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी को सञ्चालक समितिको चैत १० गते बसेको बैठकले प्रथम साधारण सभा वैशाख ३ गते रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजे बोलाएको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको २०८१ असार ३० गते बसेको बैठकले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्ने र प्रबन्धपत्र र नियमावली, २०८० मा समयानुकूल संशोधनसमेत गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीको सभाले सञ्चालक समितिका अध्यक्षको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२/७३ र २०७३/७४ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक अनुमोदन गर्नेछ ।