३० अंकले बढ्यो सेयर बजार, २१० कम्पनीको मूल्य बढ्यो

  २०८१ चैत ११ गते १५:१७     विकासन्युज

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । लागातार घटिरहेको सेयर बजार ६ वटा कारोबार पछि आज बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० बिन्दुमा पुगेको छ । आज २१० कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ ।

सोमबार ३२६ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, सीइडीबी होल्डीङसको १५ करोड, नेपाल रिइन्स्योरेन्सको १२ करोड, गर्डियन माइक्रोलाइफको १२ करोड र सिन्धु विकास बैंकको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

सोमबार कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशतले बढेकाे छ । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशतले बढेकाे छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले बढेकाे छ । पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२  प्रतिशतले बढेकाे छ ।

यस्तै, अपरहेवाखोला हाइड्रोपावरको ४.९२, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ तथा युनाइटेड मोदी हाइड्रोको २.९ प्रतिशतले सेयर मूल्य घटेकाे छ ।