२०८१ चैत ११ गते १५:३७ विकासन्युज
काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालक समितिको बैठक चैत १० गते बिहान साढे दश बजे बस्यो । बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङलाई नियुक्त गर्ने निर्णय गर्यो । त्यसपश्तात इवाहाङलाई सीईओमा नियुक्ति गरेको जानकारी कम्पनीले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड लगायतका नियामकलाई पत्रमार्फत गर्यो ।
फेरि सोही दिन ४ बजे कम्पनी सञ्चालक समितिको अर्काे बैठक बस्यो । उक्त बैठकले सीईओमा नियुक्त भएका इवाहाङको नियुक्तिलाई खारेजी गर्ने निर्णय गर्यो । नेपाल राष्ट्र बैंकको निर्देशनमा फाइनान्सको सञ्चालक समिति बैठकले सीईओ इवाहाङको नियुक्ति खारेजको निर्णय गरेको कम्पनी सचिव दीपक न्यौपानले बताए ।
फाइनान्सको गत पुष १४ गते बसेको सञ्चालक समिति बैठकले सीईओमा प्रकाशचन्द्र अधिकारीलाई नियुक्त गरेको थियो ।
तर अधिकारीले आफूलाई सीईओमा नियुक्त गर्दा सञ्चालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले कार्य गर्न असमर्थ रहेको भन्दै निवेदन दिएका थिए । त्यसपश्चात उनको नियुक्ति रद्द गरिएको थियो ।
राष्ट्र बैंकले सीईओ नियुक्तिसम्बन्धी प्रक्रिया अध्ययन गरेपछि अधिकारीले संस्थामा कार्य गर्न असमर्थ रहेको पत्र दिएका थिए । त्यसपछि सञ्चालक समितिको चैत ६ गते बसेको बैठकले अधिकारीको सीईओ पदमा नियुक्ति गरिएको यसअघिको निर्णय खारेज गरेको न्यौपानेले जानकारी दिए ।
अधिकारीको नियुक्ति खारेजपछि रिक्त रहेको सीईओ पदमा सञ्चालक समितिले इवाहाङलाई चैत ११ गतेबाट लागू हुने गरी ४ वर्षको लागि नियुक्त गरेको थियो । तर, पुस २४ गते र पुस २५ गते गरेको विशेष निरीक्षणमा कैफियत देखिएपछि सीईओ नियुक्तिसम्बन्धी हालसम्म भए गरेका सम्पूर्ण कार्यहरू रद्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको कम्पनी सचिव न्यौपानले जानकारी दिए ।
तर, राष्ट्र बैंकले गरेको निरीक्षणको प्रतिवेदनमा के कस्ता कैफियत छन् भन्नेबारे आफूलाई जानकारी नभएको न्यौपानले बताए ।
‘सञ्चालक समितिको बैठक बिहान साढे १० बजे बसेर सीईओ नियुक्ति गरियो । तर, निरीक्षणको आधारमा कैफियत देखिएपछि सीईओ नियुक्तिसम्बन्धि हालसम्म भएका कार्य रद्द गर्न भनेर राष्ट्र बैंकले दिउसो पत्र पठायो । कार्यान्वयन गर्दाखेरी भाषामा सम्पूर्ण प्रक्रिया रद्द गर्नु भनेपछि खारेज गरिएको हो,’ न्यौपानेले भने, ‘सीईओ नियुक्तिसम्बन्धि सम्पूर्ण प्रक्रिया रद्द गर्न भनेर राष्ट्र बैंकबाट चिठी आएपछि रद्द गरेको हो ।’
उनका अनुसार प्रकाशचन्द्र अधिकारीलाई सीईओमा नियुक्ति गर्दा उजुरी परेपछि राष्ट्र बैंकले निरीक्षण गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.