८ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय १ खर्ब नाघ्यो, नेपाल लाइफको सर्वाधिक कमाइ

  २०८१ चैत ११ गते १६:४०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरूले  एक खर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले १ खर्ब आठ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

उक्त अवधिमा कम्पनीहरूले नवीकरण शुल्कमार्फत एक अर्ब ९६ करोड ६४ लाख शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरूले फागुन महिनामा मात्रै ४ लाख १९ हजार २५३ बीमालेख जारी गर्दा १३ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

फागुनमा मात्रै कम्पनीहरूले नवीकरण शुल्कमार्फत १० अर्ब ३७ करोड, वैदेशिक रोजगार बीमा शुल्क ३० करोड ५१ लाख संकलन भएको प्राधिकरणले जनाएको छ।

नेपाल लाइफको सर्वाधिक

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्यारेन्सले सर्वाधिक व्यवसाय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले फागुन मसान्तसम्ममा १९ लाख ४ हजार ९६ बीमा लेख जारी गर्दा २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफले फागुनमा मात्रै ३ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

बीमा शुल्क आर्जनमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले ८ महिना अर्थात फागुन मसान्तसम्ममा  कुल १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँको व्यवसाय गरेको छ । उक्त अवधिमा कम्पनीले १५ लाख ३४ हजार ४ बीमालेख जारी गरेका छन् । कम्पनीको फागुनको मात्रै व्यवसाय २ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेको छ ।

तेस्रो नम्बरमा रहेको एलआईसी नेपालले फागुनसम्ममा १२ अर्ब ५६ करोड रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । एलआईसीले फागुनमा मात्रै एक अर्ब ३८ करोड ९५ लाख रुपैयाँको व्यवसाय गरेको प्राधिकरणको तथ्यांक छ । त्यस्तै, धेरै व्यवसाय गर्ने चौंथो नम्बरमा हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

अन्य बीमा कम्पनीहरूमा फागुन मसान्तसम्ममा सूर्यज्योति लाइफ इन्स्यारेन्स ६ अर्ब ६९ करोड ५० लाख, एशियन लाइफ इन्स्यारेन्स ५ अर्ब ६९ करोड ८२ लाख, सिटिजन्स लाइफ इन्स्यारेन्स ४ अर्ब ४९ करोड। राष्ट्रिय जीवन बीमा कम्पनी ४ अर्ब ४७ करोड ९३ लाख, सानिमा रिलायन्स ४ अर्ब २९ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, मेट लाइफ ३ अर्ब ८८ करोड ९ लाख, आइएमई लाइफ इन्स्योरेन्स ३ अर्ब २८ करोड ७८ लाख, प्रभु महालक्ष्मी  ३ अर्ब १९ करोड ७६ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ३ अर्ब १७ करोड ५९ लाख र सन नेपाल लाइफ इन्स्यारेन्स २ अर्ब ७० करोड २९ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् ।

१३ जीवन बीमकको व्यवसाय बढ्दा एकको व्यापारमा गिरावट

अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको तुलनामा चालु आव २०८१/८१ को सोही अवधिको तुलनामा १३ वटा जीवन बीमकको व्यापार बढेको छ भने एउटाको घटेको छ ।

सबैभन्दा धेरै व्यापार गर्ने नेपाल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा समीक्षा अवधिमा आफ्नो व्यापार ११.७८ प्रतिशतले बढाएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको फागुनसम्ममा नेपाल लाइफले २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

दोस्रो धेरै व्यवसाय गर्ने नेशनल लाइफ इन्स्यारेन्सले फागुनसम्म १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११.८७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ११ अर्ब ५६ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

तेस्रोमा नेपाल लाइफ इन्स्यारेन्सको व्यवसाय गत आवको तुलनामा ८.४९ प्रतिशतले बढेर १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीहरूको व्यवसाय ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

हिमालयन लाइफको व्यवसाय ०.३८ प्रतिशतले बढेको छ । सूर्यज्योति लाइफको १७.२९ प्रतिशत, एसियन लाइफको १०.४६ प्रतिशत र सिटिजन लाइफको २०.४३ प्रतिशतले बढेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय १४.३७ प्रतिशतले घटेको छ । फागुनसम्ममा ४ अर्ब ४७ करोड ९३ लाख व्यवसाय गर्दा गत आवको सोही अवधिमा कम्पनीले ५ अर्ब २३ करोड ७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो ।