२०८१ चैत ११ गते २०:१० विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर)हरूको धितोपत्र प्रत्याभूति (अण्डरराइटिङ)को सीमा बढाएको छ । बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ को अुनसूचीमा भएका व्यवस्थालाई संशोधन गर्दै अण्डरराइटिङको सीमा बढाएको हो ।
मर्चेन्ट बैंकरहरूले संगठित संस्थासँग सम्झौता गरी संगठित संस्थाले निष्काशन गरेको धितोपत्रहरु बिक्री नभएको अवस्थामा त्यस्तो धितोपत्रहरु स्वीकार गरी धितोपत्रको मूल्य भुक्तानी गर्ने लगायत प्रत्याभूति सम्बन्धी अन्य कार्य गर्न पाउँछन् ।
बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीको सहायक कम्पनी र त्यस्तो कम्पनीको मुख्य कम्पनीबीच मुख्य कम्पनीले दायित्व सकार्ने गरी करार सम्झौता भए मुख्य कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिमको नेटवर्थमा नबढ्ने गरी मर्चेन्ट बैंकरले प्रत्याभूति गर्न सक्ने संशोधित नियमावलीमा उल्लेख गरिएको छ ।
बोर्डका अनुसार बैंकको सहायक कम्पनीको रूपमा स्थापना भएका मर्चेन्ट बैंकर कम्पनीहरूले माउ कम्पनीको नेटवर्थसम्मको अन्डरराइटिङ गर्ने सक्नेछन् । हाल मर्चेन्ट बैंकरले आफ्नो नेटवर्थको ३ गुणासम्म मात्रै अन्डरराइटिङ गर्नसक्ने व्यवस्था रहेकोमा अब मुख्य कम्पनीको पनि नेटवर्थसम्म अन्डरराइटिङ गर्न पाउनेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.