२०८१ चैत ११ गते २१:४८ विकासन्युज
काठमाडौं । सरकारले राम्रो काम गरिरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई बर्खास्त गरेर विवादित व्यक्तिलाई नियुक्ति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकल घिसिङलाई बर्खास्त गर्दै उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कुलमानले एक कार्यकाल सफलताका साथ सम्पन्न गरेर दोस्रो कार्यकालको अन्तिममा थिए । उनले दोस्रो कार्यकालमा पनि विद्युत प्राधिकरणलाई विद्युत उत्पादन तथा व्यवसायमा अब्बल संस्थानका रुपमा देखाएका छन् ।
आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरणलाई कुलमानले नेतृत्व गरेपछि निरन्तर नाफामा लगेका थिए । प्राधिकरणले गत आव २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा गरिसकेको छ ।
प्राधिकरणका अनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
अहिले नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ । यो किसिमको फड्को मारिरहेको प्राधिकरणको नेतृत्वलाई सरकारले प्रतिसोध साँध्दै बर्खास्त गरेको हो ।
कुलमानलाई हटाएर सरकारले हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । शाक्यको प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा यो दोस्रो कार्यकाल हो ।
शाक्यको स्थायी घर इलाम हो । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् । उनी ओलीको श्रीमती राधिका शाक्यको भाइ हुन् । लामो समय उपकार्यकारी निर्देशक भएर काम गरेका उनी पछि प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । तर, सरकारले उनलाई उर्जा मन्त्रालयमा तानेर कुलमानलाई प्राधिकरणको जिम्मेवारी दिएको थियो । उनी सो निर्णयको विरुद्द अदालत पनि पुगेका थिए । उनीमाथि कमजोर व्यवस्थापको रुपमा पनि आलोचना हुने गरेको छ ।
यस्तै, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेललाई नियुक्त गरेको छ । उनी पनि विवादित पात्र हुन् । लुइँटेल यस अगाडि तारागाउँ विकास समितिको सदस्य सचिव रहँदा नै विवादित थिए । उनी पनि एमाले निकट मानिन्छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.