२०८१ चैत १२ गते १०:१० विकासन्युज
काठमाडौं । कार किन्ने योजनामा हुनुहुन्छ ? यदि तपाईं बैंकबाट कर्जा लिएर कार किन्ने योजनामा हुनुहुन्छ भने ५ प्रतिशत ब्याजदरमै कार किन्न सकिने भएको छ । जगदम्बा मोटर्सले बैंकसँगको सहकार्यमा कार खरिद गर्दा ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । सवारी कर्जाको व्याजदर इतिहासमा नै यो सबैभन्दा सस्तो भएको व्यवसायीहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकहरूको कर्जाको ब्याजदर औसत ८.५५ प्रतिशत छ भने सवारी कर्जाको औसत ब्याजदर ९.०३ प्रतिशत छ । तर, जगदम्बा मोसर्टले ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन भएको छ । विद्युतीय सवारीसाधन (इभी) बिक्रीमा व्यापक प्रतिस्पर्धा हुँदै गर्दा बिक्रेताहरूले नयाँ नयाँ व्यावसायीक योजना ल्याइरहेका छन् । जगदम्बा मोसर्टका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले विभिन्न बैंकसँग सहकार्य गरेर सो ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको जानकारी दिए ।
‘८/१० वटा बैंकसँग सहकार्य गरेका छौं, बैंकसँगको सहकार्यमा ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने हो । यसमा कम्पनीले सहयोग गरेको हुन्छ । जस्तो बैंकको ब्याजदर ७ प्रतिशत छ भने त्यसमा २ प्रतिशत कम्पनीले योगदान गर्छ,’ उनले भने, ‘बैंकले आफ्नो ब्याजदर जति हो त्यति नै लिन्छ, बैंकको ब्याजदर यथावत नै कायम रहन्छ । तर, यसमा ग्राहकको रूपमा कम्पनीले सहयोग गरेको हुन्छ ।’
तर, कुन-कुन बैंकसँग सहकार्य गरेको हो ती बैंकको नाम भने उनले खुलाएनन् । बैंकको नाम नभन्ने शर्त राखिएको उनले बताए ।
‘हाम्रो आफ्नै इन्भेष्टमेन्ट कम्पनी जगदम्बा कम्पनी छ । बैंकमा तरलता बढी भएर के गरौं भइरहेको छ । यसले बैंकलाई केही असर गर्दैन । बैंकलाई घाटा नहुने गरी उहाँहरूले काम गर्नु भएको छ । ग्राहकबाट ४.९९ प्रतिशतमा लिने हो । बाँकी कम्पनीले योगदान गरेर भुक्तानी गर्ने हो,’ उनले भने ।
सवारी खरिदमा ४० प्रतिशत डाउन पेमेन्टमा बैंकहरूले ६० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराइरहेका छन् । अर्थात ग्राहकले डाउन पेमेन्ट ४० प्रतिशत गर्नुपर्ने हुन्छ भने ६० प्रतिशत बैंकले कर्जा प्रदान गर्नेछ । कम्पनीका अनुसार ग्राहकलाई ४.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गराउनेछ । बाँकी ब्याजदर भने कम्पनीले भुक्तानी गर्नेछ ।
जगदम्बा मोटर्सले प्रोटोन ईमस सेभेन गाडी खरिदका लागि उक्त कर्जा उपलब्ध गराउनेछ । उक्त सवारीको मूल्य ५६.९९ लाख रुपैयाँ तोकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.