२०८१ चैत १२ गते ९:२५ विकासन्युज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ्ग क्षेत्र झण्डै १३ करोड रुपैयाँ भाडामा ठेक्का दिइने भएको छ । सवारी पार्किङ्ग शुल्क असुल गर्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेशन एयरलाईन्स भवन अगाडी तथा आन्तरिक टर्मिनल भवन अगाडीको क्षेत्र भाडामा दिने भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले तोकिएको ७७५५.४ वर्गमिटर क्षेत्रफल रहेको पाकिङ्ग क्षेत्रमा सवारी साधन विशान सेवा शुल्क उठाउन ठेक्कामा भाडामा दिन लागिएको जनाएको छ । कार्यालयका अनुसार सवारी साधन विसान शुल्क उठाउने सेवा सञ्चालनको ठेक्का अवधि ३ वर्षको हुनेछ ।
साथै, कार्यालयले ३ वर्षको लागि न्यूनतम १२ करोड ९८ लाख १६ हजार रुपैयाँमा सो क्षेत्र भाडामा ठेक्का लगाउने भएको हो । उक्त क्षेत्रमा पार्किङ्ग सेवा शुल्क उठाउन इच्छुक व्यक्ति तथा कम्पनीले चैत १९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।
साथै, बोलपत्र पेस गर्दा आफूले कबोल गरेको बहाल रकमको ५ प्रतिशत रकम कार्यालयको बैंक खातामा जम्मा गर्नुपर्नेछ । बोलपत्र फाराम खरिद शुल्क भने ११ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
कार्यालयका अनुसार पार्किङ्ग क्षेत्र भाडामा लिइसकेपछि मोटरसाईकल, स्कुटर, रिक्साको प्रतिघण्टा ४० रुपैयाँ र प्रतिदिन २४० रुपैयाँ शुल्क उठाउनुपर्नेछ । यस्तै, कार, जिप, लिमोजिन, टेम्पोको प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तै, हल्का सवारी साधन मिनिबस, माइक्रोबसको प्रतिघण्टा १ सय रुपैयाँ तोकिएको छ भने प्रतिदिन ६ सय रुपैयाँ तोािकएको छ । बस ट्रक (गह्रौं सवारी साधन)को प्रतिघण्टा १५० रुपैयाँ र प्रतिदिन ९ सय रुपैयाँ पार्किङ्ग शुल्क असुल गर्न पाउनेछ ।
एम्बुलेन्स बाहक यात्रु, सववाहन जस्ता आपतकालीन उद्धारमा प्रयोगमा हुने सवारी साधनहरु डिप्लोमेटिक यूएन एजेन्सी र प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनबाट शुल्क उठाउन पाईने छैन । नियमित रूपमा विसान गर्ने सवारी साधनको एकमुष्ठ मासिक दरले अग्रिम बुझाउनेलाई ३० दिनको लागि लाग्ने दस्तुरको दुई तिहाईले हुन आउने रकम मात्र लाग्ने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.