सरकारलाई बालेनको चुनौती-‘मलाई जेल हाल’

  २०८१ चैत १२ गते १०:३७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध आफ्नै कर्मचारीहरूलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिं भाषणमा सुन्नुपर्ने र माथिको कुरा गलत भए मलाई जेल हाल ।’

बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले बनाएको छानविन समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंको गल्ती नभएको प्रतिवेदन दिएपछि बालेनले उक्त प्रतिवेदन नै बुझ्न मानेका थिएनन् । त्यसपछि बालेनले महानगरकै तीन विभागीय प्रमुखहरूलाई लेख्न लगाएको प्रतिवेदन आज फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।