२०८१ चैत १२ गते १२:३३ विकासन्युज
काठमाडौं । दक्षिण कोरियाको प्रतिष्ठित कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हान जोंग–हीको निधन भएको छ ।
उनको हृदयघातका कारण ६३ वर्षको उमेरमा निधन भएको हो । कम्पनीले उनको निधनको पुष्टि गरेको छ ।
हानले कम्पनीको उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उपकरण विभागको नेतृत्व सम्हालेका थिए ।
सामसुङले हालसम्म हानको उत्तराधिकारीको नाम घोषणा गरेको छैन ।
हान जोंग–हीले १९८८ मा इनहा विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक डिग्री पूरा गरेपछि सामसुङमा काम गर्न सुरु गरेका थिए ।
२०११ देखि २०१३ सम्म उनी कम्पनीको उत्पादन अनुसन्धान र विकास (आर एन्ड डी) टोलीको प्रमुख थिए ।
हानले २०१७ मा भिजुअल डिस्प्ले व्यवसायको नेतृत्व लिएका थिए । २०२१ मा उनलाई उपाध्यक्ष र डीसीईओमा पदोन्नति गरिएको थियो ।
स्थानीय मिडियाका अनुसार सामसुङको टिभी व्यवसायलाई उचाइमा पुर्याउने श्रेय उनलाई दिइन्छ ।
सामसुङका एक प्रवक्ताका अनुसार हान जोंग–हीको मृत्यु कार्डियक अरेस्टका कारण भएको हो ।
३० नोभेम्बर, २०२४ सम्ममा हानको कुल सम्पत्ति करिब ९ लाख ७१ हजार २९१ नेट वर्थ थियो । उनको वार्षिक तलब प्याकेज ६.९० अर्ब वोन (झन्डै ४८.३ लाख डलर) थियो ।
गत वर्षको अवधिमा सामसुङका सेयरहरू सबैभन्दा कमजोर प्रदर्शन गर्ने प्रविधि सेयरहरूमा परेका थिए । हानले भनेका थिए कि कम्पनीले तीव्र रूपमा विकसित भइरहेको एआई सेमिकन्डक्टर बजारलाई पर्याप्त रूपमा जवाफ दिन असफल भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.