उद्योग व्यवसाय प्रवर्द्धनका लागि अनुकूल वातावरण निर्माण गर्न नाडाको आग्रह

  २०८१ चैत १२ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल अटोमोबाइल डीलर्स एसोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी उद्योग व्यवसाय प्रवर्द्धनका लागि अनुकूल वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

सोमबार भएको भेटमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरू नेपालमा निर्वाध प्रवेश गर्दा नेपाली ढुवानी व्यवसायलाई ठूलो असर परेको भन्दै सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसकेको गुनासो गरे । उनले नेपालमै उत्पादित सामानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै लुब्रिकेन्ट्स उद्योगका नाममा फिनिस्ड गुड नेपालमा ल्याएर बिक्री वितरण भइरहेको रोक्नुपर्ने बताए ।

त्यस्तै, नेपालमै टायर उद्योग खोल्न पहल भए पनि त्यसका लागि आवश्यक मापदण्ड तय नगरिएको उनको भनाइ थियो । बुट मोडेलमा बाह्य लगानी भित्र्याउन सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले सरकारलाई नाडाको ६ बुँदे लिखित सुझावसमेत पेश गरे ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन आयातकर्ताहरूलाई ठूलो समस्या परेको भन्दै ऐन छिटो पारित गर्न आग्रह गरे । महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका ब्याट्री उद्योगहरूको अवस्थाबारे जानकारी गराउँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई अन्य उपयुक्त स्थानमा सारेर पुनः सञ्चालन गर्न सकिने तथा सो क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्न सकिने सुझाव दिए ।

छलफलका क्रममा मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायबारे संसदमा जानकारीविना नै प्रश्न उठ्ने गरेको गुनासो गर्दै खुला बजार अर्थनीति अपनाएको नेपालमा ७०० प्रतिशतसम्म मुनाफा गर्न सकिने उल्लेख गरे । नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाइने जानकारी दिँदै उनले एजेन्सी दर्ता ऐन छिट्टै पारित गर्ने प्रतिबद्धता जनाए ।

उनले नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि आफू पूर्ण रूपमा समर्पित रहेको बताउँदै आवश्यक नीतिगत सुधारका लागि सरकार गम्भीर रहेको धारणा राखे ।

छलफलमा वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, निजी सचिव सुमन धिताल, स्वकीय सचिव आनन्दप्रसाद भट्ट लगायतका सरकारी अधिकारीहरूको उपस्थिति थियो । नाडाका तर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, तथा एशोसिएसन सचिव सुरेन्द्र प्रधानलगायतका प्रतिनिधिहरू सहभागी थिए ।