कुलमान हटाउने विषयमा सरकारलाई उद्योगीको साथ, ‘मौन सन्तोष प्रकट’

  २०८१ चैत १२ गते १७:१५     विकासन्युज

काठमाडौं । सरकारले सोमबार राति नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटायो । सरकारले ८ महिनाको ठूलो दौउधूप गरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरी घिसिङलाई हटाइएको हो । देशभर घिसिङ उज्यालोको नायकको रूपमा परिचित छन् । लोडसेडिङ हटाउन उनले महत्तपूर्ण भूमिका खेलेका थिए ।

घिसिङको कार्यकाल सकिन करिब चार महिना मात्रै बाँकी रहँदा सरकारले सुटुक्क उनलाई पदबाट हटाएको हो । उनलाई हटाएको विषयले अहिले सामाजिक सञ्जाल निकै तातिएको छ । सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

कुलमानलाई जसरी पनि पदबाट हटाउनुपर्ने पक्षमा केही उद्योगी पनि थिए । ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौताको विषयमा विवाद हुँदा उनीहरु कुलमानप्रति रुष्ट थिए भने कुलमानले आफूहरुलाई सहयोग नगरेको भन्दै उनको सार्वजनिक रुपमै आलोचना गरिरहेका थिए । उनलाई प्राधिकरणबाट हटाउनका लागि बारम्बार सरकारसँग आग्रह गर्दै आएका थिए । उद्योगीको अपेक्षाअनुसार नै सरकारले पनि उनलाई पदबाट हटाएको छ ।

कुलमानलाई बर्खास्त गरेको विषयमा अहिले सरकारको विरोध र आलोचना भइरहँदा केही उद्योगी व्यवसायी भने मौन रुपमा खुसी छन् ।गत आइतबार साँझ नेपाल सिमेन्ट उद्योग उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर नै  कुलमानप्रति आक्रोश पोखेका थिए ।

देशमा लोडसेडिङ अन्त्य भएको भनेर चर्चा हुने गरेकाे भए पनि आफूहरूले प्रत्येक वर्षको पुस महिनादेखि जेठसम्म लोडसेडिङको समस्या खेप्दै आइरहेकाे गुनासाे उद्योगीहरूले पत्रकार सम्मेलनमा गरेका थिए । उनीहरूकाे गुनासाेपछि सरकारले त्यसकाे एक दिनपछि कुलमानलाई बर्खास्त गरेको हाे ।

कुलमानलाई हटाएपछि बक्यौता तिर्न बाँकी उद्योगीहरु मौन रुपमा खुसी देखिन्छन् । नेपाल स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले सरकारले कुलमानलाई हटाएको विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए ।

उनले प्राधिकरणले बत्तीको लाइन काटेर लोडसेडिङ नगरेको भन्दै बाहिर भ्रम फैलाइएको धारणाा राखे । अध्यक्ष न्यौपानेले भने, ‘सरकारले कुलमानजीलाई हटाएकोमा हामी न खुसी नत दुःखी छौं । यो हटाउने नहटाउने विषय सरकारको हो । हामीलाई त हाम्रो समस्याको निकास चाहिएको हो । हामीले कुलमानजीलाई हटाउनु भनेका छैंनौ ।’

सिमेन्ट उत्पादक संघका अध्यक्ष नघुनन्दन मारु पनि सरकारले कुलमानलाई हटाएको विषयमा आफूहरूको कुनै धारणा नरहेको सुनाए । उनी भन्छन्, ‘पहिला पनि कुलमानजीलाई हामीले हाम्रो समस्या बुझिदिनुपर्छ भनेका थियौं । अझै पनि हामीले त्यही भन्दै आइरहेका छौं । प्राधिकरणमा जाेसुकै आए पनि हाम्रो समस्या समाधान हुनुपर्यो । हिजो पनि आशा नै थियो । अब पनि समस्या समाधान हुने आशामै छौं ।’

उद्योगीहरु नेपाल उद्योग परिसंघको नेतृत्वमा विरोध जनाउँदै आएका थिए । परिसंघको नेतृत्व हाल राजेश अग्रवालले गरिरहेका छन् ।

घिसिङलाई हटाएपछि मन्त्रिपरिषद्ले प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीका साला हुन् ।