२०८१ चैत १२ गते १८:४६ विकाश मरासिनी
काठमाडौं । नेपालमा हुन्डाईले सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । उक्त एसयूभीमा गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मज्जाले गुड्न सक्ने र हरेक उमेरका ग्राहकलाई सुहाउने भएकाले यो नेपालमा धेरैको रोजाइ बन्न सफल भयो ।
नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार क्रेटा १० हजार ग्राहकले किनिसकेका छन् । मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुुँदै एसयूभी सेगमेन्टमा क्रेटाले प्रभावकारी स्थान बनाउन सफल भएको हो । यो पनि भन्ने गरिन्छ कि नेपालमा एसयूभी सेग्मेन्टलाई अगाडि बढाउने काम क्रेटाले नै गरेको हो ।
लक्ष्मी ग्रुपको प्रतिष्ठित कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले २०६६ सालबाट हुन्डाई कम्पनीका गाडी बिक्री गर्न थालेको थियो । यो ग्रुपले हुन्डाईका गाडी बिक्री गर्न थालेको छोटो समयमै हुन्डाई कम्पनीको आधिकारिक डिलर बन्न सफल बन्यो ।
अहिले लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका १२ मोडेलका कार बिक्री गर्दै आइरहेको छ । जसमा स्यान्ट्रो, ग्रान्ड आई टेन एनआईओएस, आई ट्वान्टी, ओरा, भेन्यु, वर्ना, अल न्यु क्रेटा, टक्सन, सान्टा फे, पैलिसेड, आयोनिक इलेक्ट्रिक र कोना इलेक्ट्रिक छन् ।
नेपालमा हुन्डाईको सान्ट्रोदेखि लिएर आयोनिक फाइभ ईभीसम्मका सबै गाडी निकै रुचाइएको छ । सर्भिस पनि राम्रो भएकाले धेरैको रोजाइमा हुन्डाई पुग्न सफल भएको हो ।
मेड इन नेपाल एसयूभी
हुन्डाईलाई सबैको मनमा राज गराउन सफल लक्ष्मी इन्टरकन्टिनेन्टलले चैत ११ गते (मार्च २४) सोमबार बहुप्रतीक्षित क्रेटा ईभी र क्रेटा आईस (इन्टर्नल कमबस्टन इन्जिन– यी गाडीहरू पेट्रोल, डिजेल वा ग्यासजस्ता इन्धन जलाएर ऊर्जा उत्पन्न गर्छन् र त्यसैबाट इञ्जिन चल्छ ।) लञ्च गर्यो ।
केही समयअगाडि भारतमा लञ्च भएको क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रहेको छ । क्रेटा ईभी विभिन्न चार भेरियन्टमा उपलब्ध छ ।
क्रेटा आइस नेपालमै बनेको गाडी हो । यो गाडी विभिन्न ५ भेरियन्टमा उपलब्ध छ ।
अब क्रेटा आईस नेपालमा आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । आयातभन्दा नेपालमै बनेको गाडी सस्तो पर्न गएको छ । क्रेटा आईसको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
लक्ष्मी कन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले आयात गरेको भन्दा नेपालमै बनेको गाडी उपभोक्तालाई सस्तो पर्ने बताए । उनले आगामी दिनमा आवश्यकताअनुसार अन्य गाडी पनि बनाउने जानकारी दिए ।
लक्ष्मी ग्रुपको लगानी र हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा लक्ष्मी मोटर कर्पोरेशन स्थापना गरिएको हो । लक्ष्मी मोटर कर्पोरेशनले यसभन्दा अगाडि सन् २०२४ मा नेपालमा बनेको भेन्यू गाडी सार्वजनिक गरेको थियो ।
कर्पोरेशनले भेन्यूपछि क्रेटा आइस बनाएको हो । नेपालमा उत्पादन हुने गाडी कोरिया र भारतमा उत्पादित मोडल सरहकै हुने कम्पनीले दावी गर्दै आएको छ ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, कुल ग्राहस्थ उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्यले नेपालमा गाडी बनाउन थालिएको जनरल म्यानेजर थपलियाले जानकारी दिए ।
हुन्डाई एसेम्बल प्लान्ट कोशेढुंगा
हुन्डाईको एसेम्बल प्लान्ट नेपालको नवलपरासीमा गत वैशाखदेखि सञ्चालनमा आएको थियो । लक्ष्मी मोटर कर्पोरेसनले २०७६ सालमा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरे पनि सरकारी नीतिका कारण प्लान्ट सञ्चालनमा आउन सकेको थिएन ।
सरकारले बजेटमा एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बनाएपछि कर्पोरेसनले प्लान्ट निर्माणको कामलाई अगाडि बढाएको थियो । नेपालमै पाँच भेरियन्टका गाडी (क्रेटा आइस) बन्नुले हुन्डाई एसेम्बल प्लान्ट नेपाली अटो उद्योगमा कोशेढुंगा साबित हुनसक्ने जानकारहरू बताउँछन् ।
प्लान्ट स्थापनाको पाँच वर्षभित्र वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने योजनामा लक्ष्मी कर्पोरेसनको रहेको छ । त्यस्तै, प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि भने वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गरिने बताइएको छ ।
विस्तारै नेपालमै कम्पनीले पाट्र्स पनि उत्पादन गर्ने लक्ष्य राखेको छ । अहिले विदेशबाट पार्टस् मगाएर गाडी उत्पादन गरिन्छ । एसेम्बल प्लान्टमा २०० जनाले रोजगारी पाएको थपलिया बताउँछन् ।
भेन्यूको बिक्री र ग्राहकको प्रतिक्रिया
जनरल म्यानेजर थपलिया नेपालमा ५०० वटा भेन्यू गाडी बनेको बताउँछन् । उनका अनुसार ४५० हाराहारीमा भेन्यू गाडी बिक्री भइसकेको छ । थपलियाले आजसम्म कुनै पनि ग्राहककले नेपाल मेड भेन्यूलाई लिएर कुनै गुनासो नगरेको बताए ।
उनले भने, ‘हामीले ५०० भेन्यू गाडी नेपालमै बनाएका थियौं । जसमध्ये ४५० को हाराहारीमा गाडी बिक्री भइसकेको छ । आजका दिनसम्म यो गाडीको बारेमा कुनै नकारात्मक प्रतिक्रिया पाएका छैनौं । हाम्रा ग्राहक सन्तुष्ट हुनुहुन्छ ।’
पुष्टकारी बिक्रीदेखि सुरु भएको यात्रा
सुरुवातकालीन अवस्थामा पुस्टकारी बेच्ने लक्ष्मी ग्रुपले हालसम्म आइपुग्दा आफूलाई निकै परिष्कृत गराएको छ । हाल लक्ष्मी ग्रुपले मिठाइबाहेक अटोमाबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।
देशभरि ग्रुपका २० भन्दा धेरै कम्पनी छन् । जसमा करिब २ हजारले रोजगारी पाइरहेका छन् ।
सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमा इन्टरकन्टिनेन्टल, जयमा लक्ष्मी टेक्नो सेन्टरलगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन् ।
गरिब किसानको छोराले बनाएको हुन्डाई
हुन्डाईको व्यवसाय अटो र निर्माणलगायत धेरै क्षेत्रमा फैलिएको छ । तर, संसारमा यो कम्पनी केबल आफ्नो गाडीको लागि धेरै परिचित छ ।
हुन्डाईको स्थापना चुङ जु-युङले गरेका थिए, जसलाई लिएर आज दक्षिण कोरियाका हरेक नागरिक गर्व गर्दछन् ।
हुन्डाई समूहमा ८६ कम्पनी थिए । यसले चिप्सदेखि जहाजसम्म सबै कुरा बनाउँथ्यो । यसैबीच, चुङले अटो क्षेत्रमा सम्भावना देखे र कारको डिजाइनमा काम गर्न थाले । उनी मध्यम वर्गका लागि गाडी बनाउन चाहन्थे ।
करिब ८ वर्षको कडा परिश्रमपछि कम्पनीले सन् १९७५ मा आफ्नो पहिलो स्व–निर्मित कार पोनी लन्च ग¥यो । यो सस्तो र यसको डिजाइन पनि उत्कृष्ट थियो ।
पोनी यति सफल भयो कि यसले बजारको ६० प्रतिशत कब्जा ग¥यो । हुन्डाई १९८२ मा बेलायती बजारमा प्रवेश गरेको थियो र पहिलो वर्ष नै कम्पनीले त्यहाँ करिब ३ हजार कार बिक्री गरेको थियो ।
वर्षमै १ लाख ७० हजार कार बिक्री
सन् १९८४ मा कम्पनीले क्यानडामा पोनी २ बिक्री गर्न थाल्यो, जुन राम्रो संख्यामा बिक्री भयो । सन् १९८६ मा कम्पनीले अमेरिकामा एक्सेल कार लन्च गरेको थियो र पहिलो वर्षमै १ लाख ७० हजार कार बिक्री गरेर हलचल मच्चाएको थियो । यो धेरै वर्षको लागि अमेरिकामा सबैभन्दा राम्रो बिक्री कार थियो ।
आज हुन्डाई विश्वको शीर्ष १०० सबैभन्दा मूल्यवान ब्रान्डहरूमा पर्छ । साथै यो टोयोटा र फक्सवागनपछि उत्पादनको हिसाबले तेस्रो ठूलो अटो कम्पनी हो । कम्पनीको व्यवसाय विश्वका १९३ देशमा फैलिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.