मनलाग्दी पार्किङ शुल्क असुल्दै क्यान, एक सवारी पार्किङ गर्न साढे तीन लाख तिर्नुपर्ने बाध्यता

  २०८१ चैत १३ गते ११:३४     सीआर भण्डारी

काठमाडौं । हवाइजहाज (प्लेन) पक्कै पनि चढ्नु भएको होला । जहाज चढ्नुअघि यात्रुकक्षबाट निस्किँदा जहाजसम्म पुर्याउन बसहरू पार्किङ्गमा स्ट्याण्ड गरिएका हुन्छन् । करिब एक किलोमिटरको बसको यात्रापछि प्लेन भएको ठाउँसम्म पुगिन्छ । साथै प्लेनबाट ओर्लिएपछि बसको यात्रा गरेर अराइभल (बोर्डिङ्ग पास) हुँदै विमानस्थलबाट बाहिरिनुपर्ने हुन्छ ।

तपाईंलाई थाहा छ ? जहाज चढेर हवाइ यात्रा गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)ले यात्रु सेवा शुल्कबापत प्रतियात्रु ५ सय रुपैयाँ लिने गरेको छ । यात्रुहरूलाई विमानस्थलले सेवा शुल्कबापत रकम असुल गर्छ भन्ने विषय जानकारी नहुन सक्छ । किनभने विमानस्थल कार्यालयले त्यो रकम यात्रुबाट प्रत्यक्ष नभई एयरलाइन्स कम्पनीबाट लिने गर्छ । तर, यात्रुहरूलाई विमानस्थल कार्यालयले दिनुपर्ने सेवा एयरलाइन्स कम्पनी आफैले दिनुपरेको दाबी गर्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुहरूलाई जहाजसम्म पुर्‍याउन र जहाजबाट ओर्लिएपछि बाहिर ल्याउन सम्बन्धित एयरलाइन्स कम्पनीहरूले बसहरू सञ्चालन गरेका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार बुद्ध एयरलाइन्ससँग विमानस्थलभित्र यात्रु ओहोरदोहोरका लागि बस, मिनी बस, यात्रुहरूको सामान बोक्ने भ्यान, ट्याक्टर गरी ३५ वटा सवारीसाधन सञ्चालनमा छन् । यस्तै, यति एयरलाइन्ससँग १४ वटा, तारा एयरसँग ४ वटा र श्री एयरसँग १५ वटा सवारीसाधन छन् ।

विमानस्थलभित्र यी सवारीसाधनहरू पार्किङ्ग गरेबापत एयरलाइन्स कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरलाई दैनिक पार्किङ्ग शुल्क तिर्नुपर्ने हुन्छ । एकातिर यात्रु सेवा शुल्कबापत विमानस्थल कार्यालयले एयरलाइन्सबाट प्रतियात्रु ५ सय रुपैयाँ उठाउँछ भने अर्काेतर्फ यात्रुलाई सेवा दिइरहेका ती सवारीसाधन पार्किङ्ग गरेबापत छुट्टै शुल्क लिइरहेको छ ।

विमानस्थलभित्र सञ्चालन हुने सवारीसाधन पार्किङ्ग गरेबापत विमानस्थल कार्यालयले प्रतिबस ३ लाख ५० हजार रुपैयाँ वार्षिक शुल्क उठाउँदै आएको एक एयरलाइन्स कम्पनीका उच्च अधिकारीले बताए । सो मूल्यका आधारमा विमानस्थलभित्र सवारी पार्किङ्ग गरेबापत दैनिक ९६० रुपैयाँभन्दा बढी तिर्नुपरेको उनको भनाइ छ ।

विगतमा वार्षिक प्रतिसवारी पार्किङ्ग शुल्क ४४ हजार रुपैयाँ मात्रै थियो । तर, विमानस्थल सेवा दस्तुर नियमावली संशोधन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफूखुसी पार्किङ्ग शुल्क निर्धारण गर्दै आएको ती अधिकारीकाे गुनासाे छ ।

‘विगतमा विमानस्थल सेवा दस्तुर नियमावलीको अनुसूचीमा राखेर शुल्क निर्धारण हुन्थ्यो । तर, अहिले अनुसूचीबाट हटाएर पार्किङ शुल्क क्यानले निर्धारण गर्दै आएको छ । शुल्क निर्धारणको अधिकार क्यानले पाएपछि आफूखुसी पार्किङ्ग शुल्क निर्धारण गर्दैछ,’ उनले भने, ‘नियमावलीमै तोकेको भए निश्चित दर हुन्थ्यो । तर, क्यानले आफूखुसी निर्धारण गर्दा महँगो पर्न गएको छ ।’

त्रिभुवन विमानस्थलको बाह्य क्षेत्रको पार्किङ्ग शुल्क उठाउन निजी कम्पनीलाई ठेक्का लगाएर भाडामा दिने गरिएको छ भने आन्तरिक पार्किङ्ग शुल्क भने विमानस्थल कार्यालय आफैले उठाउँछ । एयरलाइन्स कम्पनीहरूले पार्किङ्ग शुल्क बापतको रकम टीआइएको बैंक खातामा पठाउने गरेका छन् । त्यो शुल्क तिरेपछि मात्रै गाडी पार्किङ राख्न स्टिकर दिने गरेको उनले जानकारी दिए ।

‘गाडी नभएर काम छैन । किनभने यात्रुकक्षबाट जहाजसम्म र जहाजबाट यात्रु ओर्लिएदेखि बोर्डिङ्ग पाससम्मको दूरी झण्डै १ किलोमिटर छ । यति धेरै टाढा लगेर यात्रुहरूलाई छोड्नुपर्ने हुन्छ । विमानस्थलले दिनुपर्ने सेवा एयरलाइन्स कम्पनीहरूले दिइरहेका छन् । यसमा पनि धेरै शुल्क लगाएको छ,’ उनले भने, ‘विमानस्थलले यात्रु सेवा शुल्क बापत प्रतियात्रु ५ सय रुपैयाँ लिन्छ । जुन विगतको तुलनामा ८ सय गुणा बढी हो ।’

यस्तो छ पार्किङ्ग शुल्क

विगतमा विमानस्थलको पार्किङ्गमा मोटरसाइकल, स्कुटर, रिक्सा पार्किङ्ग गर्दा प्रतिघण्टा ५ रुपैयाँ र प्रतिदिन ३० रुपैयाँ तोकेको थियो । कार, जीप, टेम्पोको प्रतिघण्टा २० रुपैयाँ, प्रतिदिन १२० रुपैयाँ र प्रतिमहिना ३ हजार रुपैयाँ पार्किङ्ग शुल्क निर्धारण गरेको थियो ।

लिमोजिनको प्रतिघण्टा २० रुपैयाँ, प्रतिदिन १२० रुपैयाँ र प्रतिमहिना ३ हजार रुपैयाँ, बस, ट्रक (गह्रौं सवारीसाधन)को प्रतिघण्टा ५० रुपैयाँ पार्किङ्ग शुल्क निर्धारण गरेको थियो । हल्का सवारीसाधन (मिनीबस, माइक्रो बस)को प्रतिघण्टा ३० रुपैयाँ, प्रतिदिन १५० रुपैयाँ, प्रतिमहिना १ हजार ५ सय रुपैयाँ र प्रतितीन महिना ४ हजार पार्किङ्ग शुल्क निर्धारण गरेको थियो ।

तर, विमानस्थलले उक्त पार्किङ्ग शुल्क बढाएर हाल मोटरसाइकल, स्कुटर, रिक्साको प्रतिघण्टा ४० रुपैयाँ र प्रतिदिन २४० रुपैयाँ, कार, जीप, लिमोजिन, टेम्पोको प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ शुल्क तोकेको छ । यस्तै, हल्का सवारीसाधन मिनिबस, माइक्रोबसको प्रतिघण्टा १ सय रुपैयाँ र प्रतिदिन ६ सय रुपैयाँ, बस ट्रक (गह्रौं सवारी साधन)को प्रतिघण्टा १५० रुपैयाँ र प्रतिदिन ९ सय रुपैयाँ पार्किङ्ग शुल्क निर्धारण गरेको छ ।

‘बाहिरी पार्किङ्ग गरेपछि एयरलाइन्स कम्पनीहरूले भाडा तिर्नै पर्छ । तर, भित्र पनि तिर्नुपर्ने भयो । विगतको तुलनामा धेरै महँगो बनाइएको छ । साथै भित्र चल्ने गाडीहरूको हकमा पनि यही पार्किङ्ग शुल्कदर तोकिएको छ । भित्र चल्ने सवारीहरूका लागि छुट्टै निर्णय गर्नुपर्नेमा बाहिरको पार्किङ्गको लागि गरिएको निर्णय नै भित्र पनि लागू गरिएको छ,’ उनले भने ।

उनका अनुसार विमानस्थलभित्र काम गर्न आउने एयरलाइन्सका कर्मचारीहरू समेत चर्काे पार्किङ्ग शुल्कमा पर्ने गरेका छन् । सवारीसाधन पार्किङ्ग गर्ने कर्मचारीहरूले पार्किङ्गमा ठूलो रकम खर्च गर्नु परेको उनको भनाइ छ ।

‘एयरलाइन्स कम्पनीले सवारीको प्रवेशबापत छुट्टै शुल्क उठाउने गरेको छ । यो लुट नै हो । यात्रु सेवा शुल्क विमानस्थलले लिन्छ । यात्रुलाई सेवा भने एयरलाइन्स कम्पनीले दिन्छ । यो शुल्क बढी भएका कारण हवाई टिकटको भाडा पनि महँगो भएको छ । विमानस्थलले जति शुल्क बढाउँछ त्यति नै हवाई टिकट महँगो हुँदै जान्छ,’ उनले भने, ‘विमानस्थलले लिएको सेवा शुल्क टिकटमा जोडिन्छ । विमानस्थल सेवा शुल्क प्रतियात्रु ५ सय रुपैयाँ, पार्किङ्ग शुल्कसहित सबै सेवा शुल्क जोडेर टिकटको मूल्य निर्धारण गर्छाैं । महिना बित्नेबित्तिकै हामीले विमानस्थललाई त्यो रकम बुझाउँछाै‌ं ।’

विमानस्थल कार्यालयका सूचना अधिकारी तेजबहादुर पाैड्यालले नियमावलीमा भएको व्यवस्था बमोजिम नै पार्किङ्ग शुल्क र यात्रु सेवा शुल्क लिने काम भइरहेकाे बताए । उनका अनुसार एयरलाइन्स कम्पनी र बाह्य लागि छुट्टाछुट्टै पार्किङ्ग शुल्क नतोकी एउटै निर्धारण गरिएको छ । यदि एयरलाइन्स कम्पनीका कर्मचारीहरूलाई पार्किङ्ग शुल्क महँगो लागेमा कम्पनीले बेहोर्नुपर्ने उनको तर्क छ ।

‘यात्रु सेवा शुल्क नै क्यानको मुख्य आम्दानी हो । यात्रु विमानस्थलभित्र प्रवेश गरेपछि विभिन्न सेवा सुविधा प्रयोग गर्नुहुन्छ । गेटबाट छिर्नेबित्तिकै जेजति संरचना वा सेवा सुविधा छन् यात्रुहरूले उपभोग गर्नुहुन्छ । जस्तो ट्रली, भित्र बस्ने कुर्सी, एसी, पानी, वाइफाइ, लगायतको सुविधा क्यानले दिने हो,’ उनले भने, ‘एयरलाइन्स कम्पनीले जहाज उडाएर यात्रु बोक्ने मात्रै हो । विमानस्थलको सबै व्यवस्थापन क्यानले गर्छ । अन्तर्राष्ट्रिय यात्रुको सेवा शुल्क ३ हजार रुपैयाँ र आन्तरिक यात्रुको हकमा ५ सय रुपैयाँ हो । काठमाडौं बाहेकका एयरपोर्टमा यात्रु सेवा शुल्क अझै कम हुन सक्छ ।’

यात्रु सेवा शुल्क ५० रुपैयाँबाट सुरु भएर ५ सय रुपैयाँ पुगेको हो । तर, विगत ३/४ वर्षदेखि भने उक्त सेवा शुल्क नबढेको उनले बताए । अब क्यानले यात्रु सेवा शुल्क बढाउन सक्ने सम्भावना रहेकाे उनकाे भनाइ छ ।

‘यात्रुको सुविधाका एयरलाइन्स कम्पनीले केही गर्दैनन् । एयरलाइन्स कम्पनीले टिकट चेक गरेर उडाउने मात्रै हो । बाँकी रहेको काम क्यानले गर्छ । यदि दोहोरो मारमा परेको भए क्यानमा गुनासो गर्न सक्नुहुन्छ,’ उनले भने, ‘विमानस्थलभित्र सवारी साधन सञ्चालन गरेपछि पार्किङ्गको शुल्क तिर्नुपर्छ । तर, सेवा शुल्कका कारण हवाई टिकट महँगो भयो भन्नु कुतर्क हो । जस्तो काठमाडौंबाट विराटनगरसम्मको हवाइ टिकटको भाडा ५ हजारदेखि साढे ९ हजार रुपैयाँसम्म छ । यात्रु प्याक भएको बेला ९ हजार भन्दा बढी लिने, अनि यात्रु नपाउँदा ५ हजार रुपैयाँ छ । यसमा सेवा शुल्कका असर त कहीँ देखिँदैन ।’

यदि सेवा शुल्कका कारण हवाइ टिकट महँगो भएको हो भने भैरहवा विमानस्थलमा छुट दिँदा किन यात्रु जानु भएन ? भन्ने उनले प्रतिपश्न गरे ।