२०८१ चैत १३ गते १०:२४ विकासन्युज
काठमाडौं । काठमाडौं फिन्टेक र भारतको गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टको सहकार्यमा आयोजित पाँच दिने डिजिटल लिडरसीप तालिम गोवामा सम्पन्न भएको छ । नेपालका बैंकिङ तथा फिन्टेक क्षेत्रलाई डिजिटल रूपान्तरण गर्ने अभियान अन्तर्गत काठमाडौं फिन्टेकको नेतृत्वमा सो तालिम आयोजना गरिएको हो ।
सो तालिममा आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डेटा एनालिटिक्स, तथा स्मार्ट बैंकिङ जस्ता अत्याधुनिक प्रविधिहरूको बैंकिङ क्षेत्रमा प्रयोग सम्बन्धी ज्ञान प्रदान गरिएको थियो । भारतीय फिन्टेक क्षेत्रका अनुभवी विशेषज्ञहरू तथा गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्राध्यापकहरूद्वारा सहभागीहरूलाई व्यवहारिक प्रशिक्षण दिइएको थियो ।
नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त तालिममा मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, तथा फोनपे का प्रतिनिधिहरू सहभागी थिए ।
काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बाका अनुसार, यस्ता अन्तर्राष्ट्रिय स्तरका तालिमहरूले नेपाली बैंकिङ तथा फिन्टेक क्षेत्रलाई नवीनतम ज्ञान तथा सीप हासिल गर्न सहयोग पुर्याउनेछ । यसले नेपाली वित्तीय संस्थाहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास लिइएको छ ।
काठमाडौं फिन्टेकले नेपाललाई क्षेत्रीय तथा विश्व फिन्टेक तथा डिजिटल बैंकिङको नक्सामा स्थापित गर्ने लक्ष्य राख्दै डिजिटल बैंकिङ तथा फिन्टेक ज्ञान प्रदान गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्जीव सुब्बाले बैंकिङ, शिक्षा, तालिम, फिन्टेक तथा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव हासिल गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.