२०८१ चैत १३ गते १०:५६ विकासन्युज
काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १३ गते बसेको बैठकले हाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) रहेका ज्ञवालीलाई कामु सीईओमा नियुक्त गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जानकारी दिए ।
२०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएर नबिल बैंकमा डीजीएममा नियुक्त भएर काम सुरु गरेका ज्ञवाली चार वर्षको बीचमा नायब महाप्रबन्धकबाट महाप्रबन्धक, डेपुटी सीईओ, सिनियर डेपुटी सीईओ हुँदै कामु सीईओ बनेका हुन् ।
उनी गत पुसमा मात्रै बैंकको सिनियर डेपुटी सीईओमा बढुवा भएका थिए । सञ्चालक समिति र सेयरधनीहरूसँग नजिक भएर काम गरिरहेका ज्ञवाली एक क्षमतावान र प्रष्ट वक्ताको रूपमा पनि परिचित छन् । यो हिसाबले उनी सीईओ बन्न सक्ने अनुमान धेरैको छ ।
युवाहरूमाझ पनि उत्तिकै चर्चित ज्ञवालीले नबिल बैंकका पूर्व सीईओ अनिल केशरी शाहको फ्लेवर बैंकमा चखाइरहेका छन् । ज्ञवालीलाई सीईओ बनाउनकै लागि गत पुसमा मात्रै वरिष्ठ डेपुटी सीईओमा बढुवा गरेर बाटो खुला गरेको भन्ने चर्चा पनि बैंकभित्र छ ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनीसँग नेपाल राष्ट्र बैंकमा पनि काम गरेको पनि अनुभव छ ।
कम्पनी सचिव पौडेलका अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत भएको छ । ढुंगानाले दिएको राजीनामा चैत १० गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो ।
सम्बन्धित समाचार
Copyright © 2025 Bikash Media Pvt. Ltd.