२०८१ चैत १३ गते १३:४३ इन्द्रसरा खड्का
काठमाडौं । आजभोलि शिक्षा र सीपका विषयमा बजारमा धेरै बहस हुन्छ । किताब भित्रका कुरा घोकाउन मात्र नेपालको शिक्षा केन्द्रित भएको गुनासो आइरहेका बेला बजारमा प्राविधिक शिक्षालयहरू सञ्चालनमा आइरहेका छन् । यसैमध्येको एक हो, काठमाडौं टेक्निकल स्कूल (केटीएस) । जुन काठमाडौंको सुकेधारामा अवस्थित छ ।
हामी स्कूल भन्नेबित्तिकै सामान्यतः किताबको भारी बोकेर पढ्न जाने बुझ्छौं । आखिर हो पनि । नेपालमा नेपालीले लिने शिक्षा भनेको किताब बोकेर पढ्न जाने नै हो । अझ भनौं वर्षभरि पढेर तीन घण्टाको परीक्षा दिएर विद्यार्थीको मूल्यांकन हुन्छ । तर यो स्कूल भने यस्ता खालका स्कूलभन्दा बिल्कुल फरक हो । यहाँ न नर्सरी, यूकेजी पढाइ हुन्छ । न त १० पढेर एसईई परीक्षा दिनुपर्छ । यो त्यस्तो स्कूल हो, जसले सीपयुक्त दक्ष जनशक्ति अर्थात कामदार उत्पादन गर्छ ।
कुनै पनि काम गर्न अथवा जागिर खोज्न वा पाउन व्यक्ति पढेलेखेको मात्र भएर पुग्दैन । साथमा सर्टिफिकेट भएको तर हातमा सीप नभएको युवाले अब जागिर पाउँदैनन् । हातमा सर्टिफिकेट पनि भएको साथै हातमा सीप पनि भएको एउटा दक्ष कामदार उत्पादन गर्नु यो केटीएसको उद्देश्य हो । व्यक्तिको आफ्नो रुचि चाहना भएको विषयमा उसले कुनै पनि सीप अब नेपालमै सिक्न सक्छ । नेपाली बजार अथवा विश्व बजारमा सीपयुक्त शक्ति उत्पादन गर्ने लक्ष्यका साथ आजभन्दा दुई वर्ष पहिलेदेखि सुरु भएको यो स्कूलको उद्घाटन मंगलबार भएको छ ।
काठमाडौंको सुकेधारा चोकबाट करिब पाँच मिनेटको पैदलमा पुगिन्छ, केटीएस अर्थात काठमाडौं टेक्निकल स्कुल । जहाँ स-सानादेखि ठूला पाँचवटा भवन छन् । भर्खरै निर्माण गरिएका यी भवनमा विद्यार्थीहरू आफूले चाहेको सीप सिक्न सक्छन् । यहाँ भएका पूर्वाधार, उपकरणदेखि लर्निङ मेट्रियलहरू पनि त्यही खालका छन् । कक्षाकोठा पनि प्रविधिसहितका आधुनिक डिजाइनका छन् ।
‘जबसम्म पूर्वाधार राम्रो हुँदैन, राम्रो सिकाइको वातावरण हुँदैन, वातावरण नबनेसम्म विद्यार्थीहरू खुसी भएर सिक्दैनन्,’ यो मान्यताले पनि हामीले पूर्वाधारमा विशेष जोड दिएका छौं र सोही अनुसार पूर्वाधार तयार पारेका छौं,’ स्कूलका अध्यक्ष मनोज शर्मा पौडेलले भने ।
अन्य स्कूलभन्दा फरक
केटीएस नेपालमा रहेका अन्य स्कूलभन्दा फरक रहेको छ । अन्य स्कूलमा पाठ्यक्रममा भएको कुराको सिकाइ हुन्छ भने यहाँ त्यसको अभ्यास हुन्छ । किनकि यो सिकाइ रोजगारीसँग जोडिएको छ । बजारसँग जोडिएको विषय भएकाले यो विद्यालयले कोर्सको डिजाइन पनि सोहीअनुसार निर्माण गरेको स्कुलका अध्यक्ष पौडेलले जानकारी दिए ।
यो स्कुलले नेपालको परिवेशअनुसार पाठ्यक्रम निर्धारण गरेको छ । एक हप्तादेखि ६ महिनासम्मका तालिमको डिजाइन भइरहेको छ । सीप पाइसकेको जनशक्तिलाई बजारमा कसरी जोड्ने, रोजगारीका ठाउँहरू के-के छन् ? भन्ने विषयमा यो स्कुलको मुख्य भूमिका र जोड हुन्छ । सरकारले १० वर्षमा १० सीपयुक्त जनशक्ति तयार पार्ने महत्वकाक्षी लक्ष्य राखेको छ त्यसमा कम्तीमा पनि १० प्रतिशत योगदान दिने योजना बनाएको छ ।
यस्ता छन् कोर्स
केटीएसले हाल हस्पिटालिटी, केयर गिभिङका तालीम सञ्चालन गरिरहेको छ । हस्पिटालिटीअन्तर्गत कुलिनरी आर्ट्स, वारिष्ठा, बार ट्रेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिमहरु सञ्चालन गरिरहेको छ । यस्तै, केयर गिभिङअन्तर्गत जेष्ठ नागरिकहरूको हेरचाह र नर्सिङ होममा गरिने कामका लागि सीप सिकाइरहेको छ ।
औपचारिक रूपमा मंगलबारदेखि उद्घाटन भएपनि यो स्कूलले दुई वर्षको अवधिमा ४ सय दक्ष युवा उत्पादन गरी बजारमा पठाइसकेको छ । तीमध्ये कतिपय युवाहरू विदेशमा काम गरिरहेका छन् भने कतिपयले स्वदेशमै रोजगार पाइरहेका छन् । यहाँ तीन महिना, ६ महिनादेखि एक वर्षसम्मका कोर्सहरू उपलब्ध छन् । यो स्कुलले नेपालमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद (सीटीईभीटी)का कोर्ष सञ्चालन गरिरहेको छ भने युकेको सीटी एण्ड गिल्ट्स र अस्ट्रेलियाको सीआईबीटीसँग मिलेर विभिन्न कोर्सहरू डिजाइन गरी सीप सिकाइरहेको छ । नेपाली उद्योगसँगै मिलेर विभिन्न कोर्सहरू तयार गरिने स्कुलले जनाएको छ ।
यस्ता विद्यार्थीले पाउँछन् पढ्न
कुनै पनि कोर्स अथवा शिक्षा लिन निश्चित क्राइटेरिया छुट्याइएको हुन्छ । यो स्कूलमा सीप सिक्न आउने युवाहरूको शैक्षिक योग्यता कस्तो र कतिसम्मको हुनुपर्छ भन्ने प्रश्नमा अध्यक्ष पौडेल भन्छन्, ‘यो कोर्सअनुसार निर्धारण गरिएको छ । कतिपय सीपको लागि बेसिक योग्यता चाहिन्छ भने कतिपय कोर्सका लागि साक्षरसम्म भए मात्र पनि पुग्छ ।
यस्तै, कतिपय कोर्सको लागि भने न्यूनतम कक्षा १२ पास गरेको वा ब्याचलर्ससम्म पास भएको विद्यार्थी हुनुपर्छ । अहिले यो स्कूलमा १० जना शिक्षक छन् भने अरू विशेष तालिमका दिन विभिन्न कम्पनीबाट मान्छे बोलाएर सिकाइन्छ । आफ्नै विद्यार्थी पनि शिक्षक छन् । पहिलो ब्याचमा पढेका कतिपय विद्यार्थीहरू पनि अहिले आफै ट्रेनर बनेका छन् ।
केयर गिभिङमा आकर्षण
नेपाली युवाहरूको आकर्षण केयर गिभिङमा बढिरहेको छ । इजरायल, जापान, अष्ट्रेलियालगायतका विभिन्न देशमा राम्रो तलवमा काम पाइने भएकाले युवाको आकर्षण यतातिर बढेको स्कूलका अध्यक्ष पौडेलले जानकारी दिए । विदेशमात्र नभए नेपालमै पनि काम पाइने र केयर गिभिङ नै सञ्चालन गर्ने मनसायले यो सीप सिक्न युवाहरू आकर्षण रहेको उनले बताए ।
यसका लागि सीटीईभीटीले तयार पारेको कोर्सहरू नै राम्रो रहेको उनले बताए । यसै कोर्सलाई स्तरीकरण गर्न बाहिरको कोर्स पनि यसमा समावेश गरिएको छ । उनी भन्छन्, ‘सीटीईभीटीको कोर्स राम्रो भएपनि ग्लोबल्ली रूपमा बाहिरको कोर्स बढी प्राथमिकतामा पर्दो रहेछ, त्यसैले यो कोर्समा हामीले छोटो छोटो कोर्स बाहिरको पनि समावेश गरेका छौं ।’
केटीएस खुल्नुको उद्देश्य
यो स्कुलको मुख्य उद्देश्य नेपाली युवाहरूलाई सीप सिकाएर विश्व बजारमा काम गर्न सक्ने बनाउनु हो । यसका लागि यो स्कुलले विभिन्न रोजगारदाताहरूसँग सहकार्य गरेको छ । हस्पिटालिटी क्षेत्रमा काम गरिरहेका कम्पनीहरू साझेदारी गरी उनीहरूलाई चाहिने जनशक्ति स्कूलले उत्पादन गर्नेछ ।
नेपालमा प्रत्येक वर्ष पाँच लाखभन्दा बढी युवाहरू रोजगारको लागि बजारमा जान्छन् । तीमध्ये सबैभन्दा धेरै नेपाली देश बाहिर जान्छन् । नेपालमै केही गर्न खोज्नेहरूसँग पनि सीप हुँदैन । सीप नसिकेर विदेश गएकाहरू न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यतामा छन् ।
अध्यक्ष पौडेल यो स्कुलले यो समस्याको अन्त्य गरी बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने बताए । ‘बजारमा रोजगारका अवसर धेरै छन् । तर रोजगारदाताले जसलाई खोजिरहेको छ त्यस्ता कामदार बजारमा भेटिँदैनन्,’ उनी भन्छन्, ‘उपयुक्त जनशक्ति नपाउँदा रोजगारदाताले खोजे जस्तो कामदार पाइरहेको छैन । अब हाम्रो उद्देश्य, नेपालमा उत्पादन भइरहेको जनशक्तिलाई सीपयुक्त बनाइ बजारसँग जोड्ने ल्याउने हो ।’
उनी नेपालमा युवाहरूलाई सीप सिकाउन विभिन्न प्रयास भइरहे पनी यो पर्याप्त नभएको बताउँछन् । ‘अहिले कुनैपनि युवाले कोर्स सकिसकेपछि भोलिपल्टै रोजगारीमा जोडिन सक्ने खालको सीप पाइरहेका छैनन् । यस्तो अवस्थामा अब नीजि क्षेत्रबाटै यसको सुरुवात गर्नुपर्छ भन्ने हिसाबले यो स्कूलको सुरुवात गरिएको हो,’ अध्यक्ष पौडेलले भने ।
योजना
हस्पिटालिटी र केयर गिभिङबाट सुरु गरेको कोर्सलाइ बिस्तारै प्रविधि, इलेक्ट्रोनिक भेहिकल लगायतका इनोभेटिभ क्षेत्रमा पनि जनशक्ति तयार पार्ने अध्यक्ष पौडेल बताउँछन् । यो स्कूलले प्रत्येक वर्ष १० हजार विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको छ । काठमाडौंमा सुरु भएको यो स्कुलमा विद्यार्थीको आकर्षण बढे सातवटै प्रदेशका मुख्य सहरमा पनि सञ्चालन गर्न सकिने उनले बताए।
उनी यसका लागि भौतिक संरचना निर्माण गरेरभन्दा पनी डिजिटल माध्यमबाट युवाहरूलाई सीप दिन सकिने बताउँछन् । ‘पहिलो वर्षमा १० हजारको टार्गेट राखेका छौं, विस्तारै यो संख्यालाई बढाउँदै लान सकिन्छ,’ अध्यक्ष पौडेल भन्छन्, ‘यसका लागि हामी विदेशबाट काम गरे फर्केका युवाहरूलाई पनि सीप सिकाउन सक्छौं, काम गरिरहेकाहरूलाई पनि सीप सिकाउने हाम्रो योजना छ ।’
१० करोडको लगानीमा स्थापना
केटीएस १० करोड रुपैयाँ लगानीमा निर्माण गरिएको जनाइएको छ । आईएमई ग्रुप र आईएक्सआई कर्पको लगानीमा स्कूल सञ्चालनमा ल्याइएको हो
Copyright © 2025 Bikash Media Pvt. Ltd.