२०८१ चैत १३ गते १३:५३ विकासन्युज
काठमाडौं । नेपाल सुपर लिग २०२५ को तेस्रो संस्करणमा डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ र ‘आइएमई पे’ आधिकारिक टिकटिङ पार्टनरका रूपमा आबद्ध भएका छन् । चैत्र १६ देखि वैशाख १३ सम्म दशरथ रंगशालामा आयोजना हुने यो प्रतिष्ठित फुटबल प्रतियोगितामा दर्शकहरूले खल्ती वा आइएमई पे एपमार्फत सजिलै टिकट खरिद गर्न सक्नेछन् ।
यस साझेदारीले खेल प्रेमीहरूलाई सहज रूपमा आफ्नो सिट सुरक्षित गर्न र मनपर्ने टोली तथा खेलाडीलाई रंगशालाबाट प्रत्यक्ष रूपमा हौसला प्रदान गर्न थप सुविधाजनक बनाउनेछ ।
नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले खल्ती र आइएमई पे जस्ता विश्वसनीय डिजिटल वालेटहरूसँग सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित रहेको बताए । ‘हाम्रो लक्ष्य फुटबल दर्शकहरूलाई अझ सहज, इन्टरेक्टिभ र पहुँचयुक्त अनुभव प्रदान गर्नु हो,’ उनले भने ।
आइएमई पेका कार्यकारी अधिकृत प्रविन रेग्मीले डिजिटल प्रविधिमार्फत नेपाली फुटबललाई सशक्त बनाउन पाउँदा गर्व लागेको बताए । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस साझेदारीलाई ऐतिहासिक बताउँदै डिजिटल माध्यमबाट टिकट बुकिङलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल सुपर लिग २०२५ मा ललितपुर सिटी, काठमाडौं रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर र धनगढी गरी ७ क्लब भिड्दैछन् । डिजिटल टिकटिङ साझेदारीको यस नयाँ प्रयासले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.