२०८१ चैत १३ गते १५:२१ विकासन्युज
काठमाडौं । नबिल बैंकको उच्च नेतृत्व परिवर्तन हुँदा यस कम्पनीको सेयर मूल्यमा शून्य प्रभाव परेको छ । सेयर बजार खुल्नुअघि नै बैंकको मूल नेतृत्व परिवर्तन भएको सूचना बैंकले सार्वजनिक गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदबाट दिएको राजीनामा स्वीकृत भएको बैंकले औपचारिक रूपमा जनाएको छ । साथै बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कामु सीईओको जिम्मेवारी पाएका छन् ।
नबिल बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा दुई जना कार्यरत थिए, मनोज ज्ञवाली र सुजित शाक्य । बैंकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको छ ।
बुधबार नविल बैंकको सेयर प्रतिकित्ता ४७७ देखि ४८५ रुपैयाँसम्ममा कारोबार भएको छ । कारोबार बन्द हुन्दा प्रतिकित्ता ४८१ रुपैयाँ मूल्य कायम भएको छ । मंगलबारको तुलनामा यो मूल्य ८७ पैसाले बढी हो । बुधबार नेप्से परिसूचक भने ४०.४७ अंकले बढेर २६२३ भएको छ ।
यस वर्ष नविलको सेयर मूल्य प्रतिकित्ता ७०० सम्ममा कारोबार भएको छ । न्यूनतम मूल्य भने ४१९ रुपैयाँसम्म झरेको थियो । यतिबेला सेयर किन्नेका लागि नविल कम जोखिमयुक्त र बढी लाभदायक हुने जानकारहरु बनाउँछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.