२०८१ चैत १३ गते १८:०० विकासन्युज
काठमाडौं । जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा फारम भरेका पाँच हजार विद्यार्थी अनुपस्थित भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले फर्म भरेका करिब पाँच हजार विद्यार्थीले परीक्षा नदिएको जनाएको छ । चैत्र ७ गतेदेखि सुरु भएको एसईई परीक्षाका लागि पाँच लाख १४ हजार ७१ जनाले फारम भरेर प्रवेशपत्र लिएका थिए ।
फारम भरेका नियमिततर्फका २ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी नभएको परीक्षा नियन्त्रक नन्दलाल जोशीले बताए । यस्तै, पूरक परीक्षाका लागि फारम भरेका सबै जसो विषयमा ११ प्रतिशत विद्यार्थी अनुपस्थित रहेको पाइएको छ ।
जोशीका अनुसार पूरकका लागि फारम भरेका ७६ हजार ८६ विद्यार्थी मध्ये करिब ११ प्रतिशत विद्यार्थी सहभागी नभएको पाइएको छ ।
नियमित र पूरक गरी करिब ७ हजार विद्यार्थी फारम भरेर प्रवेशपत्र लिएर पनि अनुपस्थित भएको जोशीले जानकारी दिए । उनका अनुसार यो तथ्याङ्क ७७ वटै जिल्लाबाट आएको पहिलो दिनको तथ्याङ्क हो । उनले यस्ता विद्यार्थी कुनै बाध्यतामा परी परीक्षामा सहभागी नभएको हुनसक्ने बताए ।
‘कतिपय पारिवारिक कारण सहभागी हुन सक्नुभएन होला, कतिपयलाई व्यक्तिगत कारण पर्यो होला,’ उनी भन्छन्, ‘कतिपयलाई पढ्ने मनै नभएर पनि हुनसक्छ, कतिपय रोजगारीका लागि विदेश जाँदा पनि यस्तो भएको हुनसक्छ ।’
२ जना निष्कासित
एसईई दिने दुईजना विद्यार्थी निष्कासनमा परेका छन् । सुनसरी र रूपन्देहीमा गरी दुइजना परीक्षार्थीलाई निष्कासित गरिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सुनसरीमा कार्यालय सहयोगी बनेर परीक्षा दिइरहेका एकजना र रूपन्देहीमा नक्कली विद्यार्थी गरी दुईजनालाई निष्कासित गरिएको हो ।
२० जना निरीक्षक केन्द्राध्यक्षको कारबाहीमा
सामान्यतया शान्तीपूर्ण रुपमा अहिले एसईई परीक्षा भइरहेपनि छिटफुट रूपमा विभिन्न गतिविधि पनि भएको बोर्डले जनाएको छ । यो बीचमा ह्वाट्सएप ग्रुप बनाएर विद्यार्थीहरूलाई चिट चोराउने, परीक्षा भइरहेको ठाउँमा चिट चोराउने लगायतका गतिविधि पनि भएका छन् ।
यसरी चिट चोराउनेहरूलाई पक्राउ गरिएको नियन्त्रक जोशीले बताए । उनले विभिन्न परीक्षा केन्द्रहरूबाट ७८ मोबाइल जफत गरिएको बताए । यस्तै, परीक्षालाई अमर्यादित बनाउन सहयोग गर्ने ३ जना केन्द्राध्यक्षलाई पनि कारबाही भएको छ ।
सप्तरीमा दुईजना र सुनसरीमा १ जना गरी तीन जना केन्द्राध्यक्षलाई कारवाही गरिएको हो । यस्तै, विभिन्न ठाउँमा गरी २० जना निरीक्षकहरूलाई निकालिएको छ ।
एसईईमा खुलेआम चिट चोराउने, माेबाइल प्रयोग गर्ने नक्कली विद्यार्थी राखेर परीक्षा दिन लगाउनेजस्ता अमर्यादित कार्यहरू गरेको पाइएको परीक्षा नियन्त्रक जोशीले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.