गभर्नरका आकांक्षीले धमाधम राजीनामा दिँदै, ज्ञानेन्द्रको ‘एक्जिट’पछि प्रकाश पनि ताते

  २०८१ चैत १३ गते १९:४९     विकासन्युज

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छान्नका लागि तीव्र तयारी अगाडि बढाउँदा गभर्नरका आकांक्षीहरुले पनि गभर्नर बन्नका लागि रस्साकस्सी गरिरहेका छन् । गभर्नर बन्नका लागि लामो समयदेखि लविङ गरिरहेका विभिन्न व्यक्तिहरुले अन्तिमघडिमा आएर थप दौडधूप बढाएका हुन् । उनीहरुले गभर्नरका लागि लबिङ बढाउनकै लागि अहिले काम गरिरहेको ठाउँबाट राजीनामा दिएर राजनीतिक भेटघाट बढाएका छन् ।

यही दौडमा नबिल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईआ) ज्ञानेन्द्र ढुङ्गाना पनि छन् । उनले नबिल बैंकबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका छन् । लामो समयदेखि राजनीतिक लबिङमा लागेका उनी उसो त विगत दुई सातादेखि विदामा थिए । गत सोमबार राजीनामा दिएर उनी बैंकबाट औपचारिक रुपमा बाहिरिएका हुन् । उनले आफू गभर्नर बन्ने प्रतिस्पर्धामा भएकोले पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रतिस्पर्धामा जाँदा टप थ्रीमा पर्नका लागि पनि वाणिज्य बैंकका सीईओले पदबाट राजीनामा गर्नुपर्ने कारणले ढुङ्गानाले राजीनामा दिएका हुन् । धेरैले ढुङ्गाना काँग्रेस निकट भनेर चिन्ने गरेका छन् ।

यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् । उनले पनि गभर्नरको प्रतिस्पर्धामा लाग्नका लागि राजीनामा दिएका हुन् ।

हाल राष्ट्रिय योजना आयोगको सदस्य समेत रहेका श्रेष्ठले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएकाे जानकारी  आएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए । श्रेष्ठले काम आयोगमा गरेपनि सेवा सुविधा भने राष्ट्र बैंकको बुझ्दै आएका थिए । उनी एमाले निकट मानिन्छन् ।

श्रेष्ठ आगामी जेठमा ५८ वर्षको उमेरहदका कारण राष्ट्र बैंकबाट अवकास हुँदैछन् । त्यसैले पनि उनलाई राजीनामा दिन सजिलो भएको हो । राष्ट्र बैंकको कार्यकारी निर्देशक भइसकेको व्यक्ति गभर्नरको लागि योग्य हुने कानूनी व्यवस्था छ ।

‘हेर र पर्ख’को अवस्थामा भट्ट र शेरचन

यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट पनि गभर्नर बन्ने प्रतिस्पर्धामा छन् । तर, उनले भने अहिलेसम्म राजीनामा नदिएको जानकारी दिए ।

‘गभर्नरका लागि मेरो पनि इच्छा हो । तर, अहिलेसम्म राजीनामा भने दिएको छैन,’ डा. भट्टले विकासन्युजसँग भने ।

उसो त बैंकिङ क्षेत्रमै काम गरिरहेका प्रभु बैंकका सीईओ अशोक शेरचन पनि गभर्नर बन्ने दौडमा रहेको बुझिएको छ । तर, उनले पनि हालसम्म राजीनामा दिएका छैनन् ।

उनी राजनीतिक लबिङमा भने रहेको बुझिएको छ । डा. भट्ट र शेरचन पछिल्लो माहोललाई नियालिरहेका छन् । उनीहरु हेर र पर्खको अवस्थामा छन् ।