२०८१ चैत १४ गते १०:४१ विकासन्युज
काठमाडौं । एनआइएमबि एस क्यापिटलले लक्ष्मी स्टील्सको सेयर किनेको छ । एनआइएमबि एस क्यापिटलले सञ्चालन गरिरहेको एनआइबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्सको १० लाख कित्ता सेयर खरिद गरेको हो । क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक बिमल कुमार सावरथियाले सेयर खरिदबिक्री सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
सन् २००८ मा सौरभ ग्रुपले स्थापना गरेको लक्ष्मी स्टील्सले टिएमटी रड, ब्लेड र रिब्ड तारहरू उत्पादन गर्दै आएको छ । नवलपरासीको सुनवलमा अत्यधुनिकस्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिन लगानी भित्र्याएको बताएको छ ।
लक्ष्मी स्टील्सका सावरथियाका अनुसार एनआइएमबिको लगानीबाट संकलन रकमले उद्योगको क्षमता विस्तारमा सहयोग पुग्नेछ । साथै, देशको आर्थिक विकासमा योगदान गर्न थप मद्दत पुग्ने उनले बताए ।
‘यो साझेदारी नेपालको औद्योगिक क्षेत्रका विकासकोे लागि एक महत्वपूर्ण कदम हो । वित्तीय विशेषज्ञता र उत्पादन क्षमताको संयोजन गर्दै दीर्घकालिन फाइदा पु¥याउनेछ, देशको पूर्वाधार लक्ष्यहरूलाई अगाडि बढाउने उद्देश्य छ,’ उनले भने ।
एनआइएमबि एस क्यापिटलका अध्यक्ष टिवडेवालले लक्ष्मी स्टील्ससँगको सहकार्यले उत्साहित भएको बताए । एनआइबिएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पु¥याउन तथा व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । कम्पनीको लगानीले लक्ष्मी स्टील्सलाई नयाँ उचाइमा पु¥याउने र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत पुग्ने उनले बताए ।
एनआइ्बिएल इक्विटी पार्टनर्सले गरेको लगानीबाट स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र बजार पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।
लक्ष्मी स्टील्सको गत माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० लाख कित्ता सेयर बिक्रीको निर्णय गरेको थियो । सोही बमोजिम कम्पनीले गत फागुन १२ गते विद्यमान संस्थापक सेयरधनीहरूका लागि १५ दिनको समय तोकि सेयर बिक्रीमा राखेको थियो । उक्त अवधिमा संस्थापक सेयरधनीहरूले ३ लाख ८६ हजार ७९२ कित्ता सेयर मात्रै खरिद गरेका थिए ।
बाँकी रहेको १६ लाख १३ हजार २०८ कित्ता सेयर चैत १ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको थियो । कम्पनीले सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २६५ रुपैयाँ तोकेको थियो । तर, एनआइएमिब एस क्यापिटलले भने कति मूल्यमा सेयर खरिद गरेको उल्लेख गरेको छैन ।
‘एनआइएमबि क्यापिटको एनआइएमबि इक्विटी पार्टनर्स भन्ने प्राइभेट इक्विटी फण्ड छ । प्राइभेट इक्विटी फण्डले लक्ष्मी स्टील्सको स्टेकमा लगानी गरेको हो । लक्ष्मी स्टील्समा नयाँ लगानीकर्ता बनेको हो, २० लाख कित्तामा हामीले १० लाख कित्ता खरिद गरेका हौ,’ क्यापिटल स्रोतले भन्यो, ‘बाँकी अन्य फण्डले पनि अलिअलि गरेर सेयर खरिद गरेका छन् । नेशनल फण्ड, प्रभु लगायतले पनि हेरिरहेको थिए ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.