एनआईसी एशिया बैंकको सहयोगमा सिद्धार्थ माविको पुस्तकालय भवनको उद्घाटन

  २०८१ चैत १४ गते १०:३७     विकासन्युज

काठमाडौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय भवन समुद्घाटन गरेको छ ।

विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्री उपलब्ध गराई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकको सहयोगमा विद्यालयसँगको सहकार्यमा पुस्तकालय भवन निर्माण गरिएको हो । चैत १२ गते सम्पन्न उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक बिनोद मेहता, बैंकका मधेश प्रदेश प्रमुख अमित केसी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पुस्तकालय सञ्चालनमा आएसँगै झन्डै १५०० विद्यार्थी र शिक्षकहरूले आधुनिक पुस्तकालय सुविधाको प्रत्यक्ष लाभ लिन सक्नेछन् । बैंकले शैक्षिक गुणस्तर सुधार्न पुस्तकालयको महत्वलाई प्राथमिकतामा राख्दै आएको छ ।

यसअघि बैंकले बागमती प्रदेशको चितवन जिल्लाको राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सियारी गाउँपालिका–४ छपियामा अवस्थित पब्लिक सेकेन्डरी स्कुल, मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँस्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापास्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालय सञ्चालनमा आईसकेका छन् ।

एनआईसी एशिया बैंकले देशभरका सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माणका लागि २ करोड ५ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ।

बैंकका अनुसार, ११,००० भन्दा बढी विद्यार्थीहरूले यी पुस्तकालय सुविधाबाट प्रत्यक्ष रूपमा लाभ लिनेछन् । पुस्तकालय स्थापना कार्यक्रममार्फत विद्यार्थीहरूलाई ज्ञानमा पहुँच पुर्‍याई उनीहरूको शैक्षिक गुणस्तर सुधार गर्ने र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने बैंकको विश्वास छ ।