ललितपुर महानगर उज्यालो शहरको रूपमा स्थापित हुनेछ : मेयर महर्जन

  २०८१ चैत १४ गते १५:१६     विकासन्युज

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको सुविधाका लागि अपाङ्गतामैत्री पुल निर्माण र सडक बत्ती जडानलाई महानगरको मुख्य प्राथमिकतामा राखिएको बताएका छन् ।

बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २५ र २६ जोड्ने नख्खु खोलामा निर्मित नयाँ पुल उद्घाटन गर्दै मेयर महर्जनले पछिल्लो समय महानगर पुलमय भएको बताए ।

उनले कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा पुलको अभावमा हालसम्म १६ जनाको ज्यान गइसकेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि महानगरले पुल निर्माण र सडक बत्ती जडानलाई तीव्रता दिएको जानकारी दिए ।

मेयर महर्जनका अनुसार चक्रपथ क्षेत्रको कुसुन्तीमा पैदल यात्रुका लागि अपाङ्गतामैत्री पुल निर्माण भइरहेको छ । साथै, सो क्षेत्रमा रातिको समयमा दुर्घटना रोक्न सडक बत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए ।

‘त्यहाँ पुल नभएकै कारण १६ जनाले ज्यान गुमाइसकेका छन् । यो हामी सबैका लागि दुःखद विषय हो। त्यसैले महानगरले चक्रपथ पार गर्न सुरक्षित बनाउने उद्देश्यले अपाङ्गमैत्री पुल निर्माण गरिरहेको छ । साथै, सडक बत्ती नहुँदा रातिको समयमा दुर्घटना बढ्ने भएकाले दशैँसम्म सम्पूर्ण बत्ती जडान सम्पन्न गरिसक्ने योजना बनाएका छौँ,’ मेयर महर्जनले भने ।

मेयर महर्जनले रात्रीकालीन समयमा हवाईजहाजबाट काठमाडौं उपत्यका छिर्दा सबैभन्दा उज्यालो देखिने क्षेत्र ललितपुर महानगरपालिका बनाउने लक्ष्यका साथ बत्तीको व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे ।

‘अबको केही महिनाभित्र ललितपुर महानगर उज्यालो शहरको रूपमा चिनिनेछ,’ उनले भने।