२०८१ चैत १४ गते १५:१७ विकासन्युज
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.५१ अंकले बढेर २६६३.३८ बिन्दुमा पुगेको छ ।
नेप्से बढेसँगै बिहीबार कारोबार रकममा समेत वृद्धि भएको छ । आज ३०९ स्टकको ५३ हजार ३९० पटक कारोबारमा ९७ लाख ६१ हजार १८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २१ करोड ८७ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३१७ कम्पनीको ९१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँ बढीको करोबार भएको थियो ।
कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्यारेन्स कम्पनीको सर्वाधिक ५१ करोड १६ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल रिइन्स्यारेन्स कम्पनीको २६ करोड ९२ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ३२ लाख सीईडिबी होल्डिङ्गको १९ करोड ३५ लाख र ग्रिन डेभलपमेन्ट बैंकको १८ करोडको रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
आज सबै सेक्टरका सूचकमा हरियाली छाएको छ । व्यापारको सबैभन्दा बढी ५.०५ प्रतिशतले बढेको छ । बैंकिङ ०.९९, विकास बैंक १.१८, फाइनान्स १.४५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.६५, माइक्रोफाइनान्स २.२८, जीवन बीमा १.७९, निर्जीवन बीमा ०.९५, अन्य १.६८ र म्युचल फण्ड ०.४१ प्रतिशतले बढेको छ ।
बिहीबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । गुँरास लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर १० प्रतिशतले सर्किट लागेको हो । त्यस्तै कुमारी सबल योजनाका लगानीकर्ताले सर्वाधिक १.८२ प्रतिशतले गुमाएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.