एनसेल एनएसएल : ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनर बन्यो एनसेल

  २०८१ चैत १५ गते १०:२५     विकासन्युज

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को बहुप्रतीक्षित यात्रा शनिबारदेखि सुरु हुँदैछ । जसमा ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकका रूपमा साथ दिने भएको छ । यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीबीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

ललितपुर सिटी एफसीले आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीविरुद्ध खेल्नेछ । यस साझेदारीले ललितपुर सिटी एफसीका खेलाडीहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ ।

यस सिजनमा ललितपुर सिटी एफसीसहित काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनसेलका प्रमुख व्यावसायिक अधिकृत उमेर मोहसिनले भने, ‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल खेलकुद र युवा प्रतिभा विकासप्रति सधैं प्रतिवद्ध रहेको देखाउँछ। सबैलाई उत्साहित बनाउँदै नेपाली फुटबलसँग आवद्ध हुन पाएकोमा हामी गर्व गर्छौं ।’

एनसेल एनएसएल सिजन ३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न सहयोग गर्नुका साथै खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने एनएसएल सिजन ३ मा एनसेल मुख्य प्रायोजकका रूपमा पहिले नै संलग्न भइसकेको छ ।

एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले फुटबल, क्रिकेट, भलिबल, गल्फजस्ता खेलकुद तथा सामाजिक उत्तरदायित्व कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आएको छ । एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणमा समेत योगदान पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ ।