२०८१ चैत १५ गते १०:४८ विकासन्युज
काठमाडौं । नेपालमा गर्भवती महिला र नवजात शिशुमा देखिएको कुपोषण न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अमेरिकी परोपकारी संस्था एलेनर क्रुक फाउण्डेसनसँग सहकार्य प्रस्ताव गरेका छन् ।
फ्रान्सको पेरिसमा आयोजित पोषणसम्बन्धी विश्व सम्मेलनमा सहभागी भइरहेका मन्त्री पौडेलले पेरिसस्थित नेपाली दूतावासमा फाउण्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग वार्ता गर्दै नेपालमा मातृ-शिशु पोषण सुधार गर्न संस्थागत साझेदारी आवश्यक रहेको बताएका हुन् ।
नेपालमा हाल गर्भवती महिलालाई आइरन चक्की प्रदान गरिँदै आए पनि अन्य १५ आवश्यक पोषक तत्वको अभाव रहेको विज्ञहरूको भनाइ छ । सरकार अब ती सबै तत्वको मिश्रण दिने योजना बनाउँदैछ । जसका लागि मन्त्री पौडेलले अमेरिकी परोपकारी संस्थासँग आर्थिक तथा प्राविधिक सहयोगको आग्रह गरेका छन् ।
संस्थाले सरकारलाई आवश्यक पर्ने थप बजेट तथा स्रोत पहिचान गर्न सघाउने प्रतिबद्धता जनाएको छ । निकट भविष्यमा यसबारे औपचारिक सम्झौता हुने आशा गरिएको छ ।
‘आर्थिक अभावका कारण मातृ-शिशु स्वास्थ्य हेरचाह कमजोर हुन नदिने हाम्रो प्रयास हो,’ मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एउटा महत्वपूर्ण कडी हो, जसबाट हामी उत्साहित छौं ।’
केही महिनाभित्रै सहकार्यका लागि कार्ययोजना निर्माण भइरहेको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिएका छन् । साथै, नेपाली उद्योगहरूलाई पोषक तत्व मिश्रित सामग्री उत्पादनमा संलग्न गराउने मन्त्री पौडेलको प्रस्तावमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।
नेपालमा कुपोषणका कारण हुने मातृ-शिशु मृत्युदर न्यूनीकरणका लागि पोषक तत्वयुक्त खाद्य पदार्थको उपलब्धता महत्वपूर्ण हुने भएकाले यस सहकार्यले दीर्घकालीन रूपमा ठूला लाभ पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.