२०८१ चैत १५ गते ११:११ विकासन्युज
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार विश्वव्यापी कार्यकारीहरूसँग भेटघाट गरेका छन् । अमेरिकासँग व्यापार तनाव बढ्दै जाँदा बेइजिङले व्यावसायीक सम्बन्ध सुदृढ गर्न निकै ध्यान केन्द्रित गरिरहेको छ ।
राष्ट्रपति जिनपिङले बहुराष्ट्रिय कम्पनीहरूको ‘वैश्विक व्यवस्था कायम राख्ने’ ठूलो जिम्मेवारी रहेको बताउँदै चीनसँग हातेमालो गर्न आवश्यक रहेको उल्लेख गरे ।
उनले चीनलाई विदेशी कम्पनीहरूको लागि सुरक्षित र स्थिर ठाउँ भएकोमा जोड दिए । उनले भनेका थिए, ‘चीनमा लगानी गर्नु भनेको भोलिमा लगानी गर्नु हो ।’
हालैका नीतिगत योजनासँग मेल खाने गरी सीले चीनले सरकारी खरिद बोलपत्रहरूमा विदेशी व्यवसायहरूलाई समान अवसर सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको बताए ।
सीसँग भएको गोलमेच छलफलमा ४० भन्दा बढी व्यक्ति मुख्यतः विदेशी कार्यकारीहरू र व्यावसायीक अधिकारीहरू सहभागी थिए । तीमध्ये ब्रिजवाटर एसोसिएट्सका रे डालियो, स्ट्यान्डर्ड चार्टर्डका सीईओ बिल विन्टर्स र ब्ल्याकस्टोन ग्रुपका सीईओ स्टिभ श्वाट्र्जम्यान पनि थि ए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीदेखि चीनमाथि २० प्रतिशत ट्यारिफ वृद्धि गरेका छन्, जसको कारण चीनलाई अमेरिकी फेन्टानाइल संकटका लागि दोषी ठहराइएको छ ।
साथै अप्रिलको सुरुवातदेखि प्रमुख व्यापारिक साझेदारहरूमा नयाँ ट्यारिफहरू लगाउने धम्की ट्रम्पले दिएका छन् ।
यसै साता ट्रम्पले चीनमा लगाइएको ट्यारिफ घटाउने संकेत दिए जुन बेइजिङ-आधारित बाइटडान्सलाई अमेरिकी अपरेसनबाट टिकटक बेच्न बाध्य पार्ने सम्झौता टुंग्याउन मद्दत गर्न सक्ने बताइएको छ ।
यसै हप्ता अमेरिकी सरकारले चीनका दर्जनौं प्रविधि कम्पनीहरूलाई आफ्नो निर्यात कालोसूचीमा थपेको छ ।
चीनले दक्षिणपूर्वी एसियाली देशहरू र युरोपियन युनियनसँग व्यापार बढाएको छ, तर एकल देशका आधारमा अमेरिका अझै बेइजिङको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ ।
सीले अमेरिका–चीन व्यापार तनाव वार्ताबाट समाधान गरिनु पर्ने बताउँदै भने, ‘हामीले विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थायित्वका लागि काम गर्नुपर्छ ।’ साथै उनले डिकपलिङ (अर्थतन्त्र अलग्याउने) को कुनै उपाय नभएको उल्लेख गरे ।
यस बैठकमा पोलिटब्युरो स्थायी समिति सदस्य काइ ची, चीनका प्रमुख कूटनीतिज्ञ वाङ यी, उपप्रधानमन्त्री हे लिफेङ, साथै चीनको आर्थिक योजना एजेन्सी, वित्त मन्त्रालय र वाणिज्य मन्त्रालयका प्रमुखहरू पनि सहभागी थिए ।
व्यापार दबाबलाई शक्तिशाली रूपमा प्रत्युत्तर दिनुभन्दा सन्तुलित समाधान खोज्ने संकेतस्वरूप चीनले आइतबारदेखि सोमबारसम्म चलेको सरकारी समर्थनप्राप्त वार्षिक सम्मेलनमा प्रमुख अमेरिकी व्यवसायका कार्यकारीहरूसँग भेटवार्ता गरेको थियो ।
सम्मेलनमा एप्पलका सीईओ टिम कुक सहभागी भए पनि टेस्लाका सीईओ एलन मस्क भने अनुपस्थित थिए ।
आइतबार नै अमेरिकी रिपब्लिकन सिनेटर स्टिभ डेन्सले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली च्याङसँग भेटवार्ता गरे । यो जनवरीमा ट्रम्पको नयाँ कार्यकाल सुरु भएयता पहिलो पटक कुनै अमेरिकी राजनीतिज्ञले चीन भ्रमण गरेको हो ।
‘यो महत्वपूर्ण अर्को चरणतर्फको पहिलो कदम हो, जुन राष्ट्रपति सी र राष्ट्रपति ट्रम्पबीचको बैठक हुनेछ,’ डेन्सले वाल स्ट्रीट जर्नललाई भने, ‘त्यो कहिले र कहाँ हुने भन्ने कुरा टुंगो लाग्न बाँकी छ ।’
चीनको राज्य सञ्चालित मिडियाका अनुसार लीले सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै व्यापार युद्धबाट कसैलाई पनि फाइदा नहुने उल्लेख गरे ।
डेन्ससँगको बैठकमा फेडएक्स, फायजर, कारगिल, क्वालकम, बोइङजस्ता प्रमुख कम्पनीका कार्यकारीहरूका साथै अमेरिका–चीन व्यापार परिषदका अध्यक्ष सीन स्टाइन पनि उपस्थित थिए । विदेशी मिडिया रिपोर्ट अनुसार उनीहरू चीनसँगको व्यापार नीतिबारे छलफल गर्न आएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.