२०८१ चैत १५ गते १५:५५ विकासन्युज
काठमाडौं । सरकारले आर्थिक रूपमा विपन्न परिवारका १५ वर्षमुनिका बालबालिकाको मुटु सम्बन्धी रोगको निःशुल्क उपचार गर्ने भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सो जानकारी दिएका हुन् । उनका अनुसार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘आर्थिक कठिनाइका कारण कुनै पनि बालबालिका मुटु उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो,’ प्रवक्ता बुढाथोकीले भने ।
स्वास्थ्य मन्त्रालयले ५०० बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका २ लाख ५० हजार रुपैयाँ सहायता उपलब्ध गराउनेछ । नेपालमा प्रत्येक १,००० बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
त्यस्तै, मन्त्रालयले मस्कुलर डिस्टोफी रोगको पहिचान, रोकथाम, उपचार तथा पुनःस्थापनाका लागि नीति तथा कार्ययोजना बनाउन प्राध्यापक डा. जगदिशप्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन गरेको छ ।
मस्कुलर डिस्टोफी एक प्रकारको अनुवंशिक रोग हो, जसले मांसपेशी कमजोर बनाउँदै शरीरलाई गतिहीन बनाउने गर्छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी जानकारी लिन, सेवा प्रवाहमा गुनासो गर्न र सुझाव दिन ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गर्न सकिने व्यवस्था मिलाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.