राजावादीको प्रदर्शन उग्र भएपछि तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी

  २०८१ चैत १५ गते १६:३०     विकासन्युज

काठमाडौं । राजावादीको प्रदर्शन उग्र भएपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

करिब साढे चार बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँ बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको हाे ।

यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।

राजावादीहरूले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेका छन् । प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले भाटभटेनीमा तोडफोड गरेको हो । तीनकुनेको प्रदर्शन र सभा बिथोलिएपछि उनीहरू तितरबितर भएका हुन् ।

यसैगरी, राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा तोडफोड गरेका छन् ।

काठमाडौंको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी र ढुंगा प्रहार गरेका छन् ।

यसैगरी, राजावादीहरूले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका छन् । यस्तै, उनीहरूले पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

त्यस्तै, उनीहरूले तीनकुनेको एक घरमा आगलागी गरेका छन् । त्यस्तै, प्रदर्शनकारीले कान्तिपुर टीभी र अन्नपूर्ण मिडिया हाउसमा पनि ढुङ्गामुढा गरेका छन् । अन्नपूर्णमा लगाएको आगो भने अहिले नियन्त्रणमा आएको छ ।

तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससहित हवाई फायरसमेत गरेको थियो ।