अराजकता मच्चाउने राजावादीका १७ जना पक्राउ, सुवेदी नजरबन्द, दुर्गा प्रसाईं फरार

  २०८१ चैत १५ गते २३:५३     विकासन्युज

काठमाडौं । प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्सेर जबरासहित डेढ दर्जन व्यक्तिलाई पक्राउ गरेको छ । राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा मिश्र, जबरासहित १७ जना पक्राउ गरेको हो ।

मिश्र र राणालाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो ।

काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि मिश्र, राणासहित स्वागत नेपाल, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको हो । उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जना भने शुक्रबार दिउँसै पक्राउ परेका हुन् ।

‘राजसंस्था पुनः स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई भने गौरीघाटस्थित घरमै नजरबन्दमा राखिएको छ । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर काठमाडौंको तीनकुनेमा प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गरेको आरोप छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र सुवेदीको नेतृत्वको समूहले गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका छन् ।

घटनाका प्रमुख दोषी मानिएका प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् ।