२०८१ चैत १६ गते ८:०४ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन समितिले धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकेको छ । कामपाको उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा रहेको समितिले निर्माण कार्यको अनुगमन गर्दा भर्याङ जोखिमपूर्ण भेटिएको भवन निर्माण प्रक्रियामा लापर्वाही देखिएपछि निर्माण कार्य रोकेको जनाएको छ ।
समितिले जोखिमपूर्ण भर्याङ भत्काउन, सुपरभाइजर र साइट इञ्जिनियरको लिखित स्वीकृति बिना थप काम अगाडि नबढाउन समेत निर्देशन दिएको हो । जमिन तलाबाट पहिलो तलामा जाने भर्याङका तलाहरुको उचाइ फरक फरक भएको, साँघुरो भएको, ढलान गर्न जोडिएका फर्मामुनि इटा राखिएको, सुपरभाइजर र इञ्जिनियरले यसअघि दिएका निर्देशन पालना नगरेको अवस्था पाइएकाले निर्माण कार्य रोकिएको कामपाको भनाइ छ ।
अनुगमनका क्रममा समितिका संयोजक एवं कामपाको उपप्रमुख डङ्गोलले, पूर्वाधार निर्माणमा भइरहेका गलत क्रियाकलापमा आँखा चिम्लिन नसकिने बताइन् ।
‘तोकिएको मापदण्डमा घट्ने गरी कतैको पनि काम अगाडि बढ्न दिँदैनौँ । काम नभएर फरक पर्दैन, गलत हुनुहुँदैन,’ डङ्गोलले भनिन् ।
निर्माण कार्यमा अपनाउनुपर्ने विधिमा लापर्वाही गरेको भेटिएको सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले बताउ । उनका अनुसार निर्माण कार्यमा पहिलेको दाँजोमा सुधार आएको छ । तर, अझै कडा निगरानी चाहिएको छ । यसलाई कडाइ गरेर लैजाने उनले बताए ।
उक्त विहार बुद्ध शिक्षाका लागि निर्माण गर्न लागिएको हो । गएको भदौ २३ गते कार्यादेश दिइएको निर्माण कार्य २०८२ भदौ २२ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।
आयोजनाको सम्झौता रकम ५६ लाख ५८ हजार ३७२ रुपैयाँ हो । १ हजार १७८.१८ वर्गफिट क्षेत्रफल भएको जमिनमा निर्माण हुने चार तले विहारको जमिन तला, पहिलो र दोस्रो तला ८२३.२३ वर्गफिटका हुनेछन् । माथिल्लो तला ५७८.६४ वर्गफिट क्षेत्रफलको हुनेछ ।
त्यस्तै वडा नं २२ मा रहेको मूलश्री महाविहार (मुःबाहा) मा रहेको कुमारी द्यो छेँ र वडा नं २४ मा रहेको ब्राम्हिण राजोपाध्याय आगमछेँ निर्माण प्रक्रियाको बारेमा पनि जानकारी लिएको थियो ।
मूःवहामा रहेको तीन तला र बुइँगल रहेको कुमारी द्यो छेँको सम्झौता रकम १ करोड ९२ लाख ९ हजार ११३ रपेयाँ हो । यसको पुनःनिर्माणका लागि २०८१ भदौ ९ कार्यादेश दिइएको हो । विसं २०८२ फागुन ८ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्छ । पछिल्लो समय कामपाले निर्माणाधीन सम्पदाको अनुगमन गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.