२०७५ जेठ १९ गते ११:३३ विकासन्युज
हेटौँडा । प्रदेश नं ३ ले आगामी आर्थिक वर्षमा संघीय राजधानी काठमाडौँको प्रदूषण नियन्त्रण गरिने र प्लाष्टिकमुक्त शहर बनाइने लक्ष्य राखेको छ । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै प्रत्येक जिल्लामा कृषिउपजका लागि सीपमूलक कार्यक्रम र एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने बताइन।
नीति तथा कार्यक्रममा भूमि आयोग गठन गरी अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाइने, आगामी पाँच वर्षभित्र प्रत्येक गाउँपालिकासम्म सडक सञ्जाल पु¥याई बाटो कालोपत्र गरिने र प्रत्येक गाउँपालिकामा १५ देखि ५० श्ययाको अस्पताल निर्माण गरिने उल्लेख छ ।
त्यसरी नै प्रदेशमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पाइपलाइन बिछ्याइने, बलात्कार तथा घरेलु हिंसाविरुद्धको कडा कानून, जलविद्युत् लगानी बोर्डको स्थापना, मुख्यमन्त्री ग्रामीण सडक, बहुप्राविधिक महाविद्यालय, प्रदेश सूचना उद्यान निर्माण र सञ्चालन, प्रेस रजिष्ट्रारको कार्यालय स्थापना र चलचित्र नगर निर्माण गरी सञ्चालनमा ल्याइने छ ।
विभिन्न क्षेत्रका एकाधिकार, प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन, सार्वजनिक जग्गाको अतिक्रमण, लागुऔषधको ओसारपसार र बेचबिखन, जबर्जस्ती चन्दा असुलीलगायत सबै किसिमका गैरकानूनी क्रियाकलाप नियन्त्रण गरिने, खाद्य संप्रभूताको सुनिश्चितताका लागि बहुआयामिक कृषि उत्पादनमा जोड दिइनेछ । प्रदेशस्तरीय जलस्रोत आयोग वा प्राधिकरण स्थापना गरी संघ तथा स्थानीय तहसँग समन्वय र सहकार्यमा अघि बढाइने योजना संसद्मा पेश भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.