२०७५ जेठ २७ गते १७:१८ विकासन्युज
काठमाडौं । रुसमा अर्को साताबाट शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ । प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् ।
डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन् । फुटबल जगत बाहिरका विशेष अतिथीहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन् ।
चार बर्षमा एक चोटि आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको छ । उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो ।
प्रशारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपाली भाषामा नै हुने हुदा विश्वकपलाई सामान्य नेपाली दर्शकहरुले पनि सजिलै बुझ्न सकिने कुरा डिशहोमले जनाएको छ । नेपालमा पहिलो पटक विश्वकप नेपाली भाषामा प्रशारण हुन लागेकोले दर्शकहरुमा कौतुहलता र गुणस्तरमा शंका उपशंका समेत रहेको छ । तर नेपालका प्रख्यात तथा फुटबल कमेण्टेटरिमा विज्ञता हाशिल गरेका सञ्जिब शिल्पकार भएकोले गुणस्तरमा कुनै कमी नहुने डिशहोमले बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.