२०७२ जेठ १७ गते १२:३३ विकासन्युज
बुढेशकालमा फेरी नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्त हुनुभयो त ?
बास्तवमा म ५६ वर्षको उमेरमा अवकास भए । मैले नागरिकता लिँदा उमेर लेख्ने चलन थिएन । एसएलसी दिँदा मास्टर साबले ८५ जनाको एउटै जन्म मिति राखिदिनु भयो । म नौ सालमा जन्मिएको तर सर्टिफिकेटमा २००७ साल उल्लेख छ । मास्टरले दुई बर्ष उमेर बढाएको कारण मैले कोलम्बो प्लानमा अध्ययन गर्न स्कलरसिपमा पाएँ । मास्टरको पनि दोष छैन । मैले पनि त्यसैलाई माने । दुई वर्ष बढी जागिर खान उमेर सच्याउनेतर्फ मैले प्रयास पनि गरिन । सर्टिफिकेट अनुसार म अहिले ६३ वर्ष मात्र भए । मेरो परिवारमा १६० भन्दा बढी सदस्य व्यापार व्यवसायमा लागेका छन् । म मात्र सार्वजनिक सेवाको क्षेत्रमा काम गर्छु भनेर ३१ साल प्रबेश गरे । अझै १५÷२० वर्ष सार्वजनिक सेवाको क्षेत्रमा काम गर्न सक्छु भन्ने आत्मविश्वास छ ।
सार्वजनिक सेवाका क्षेत्रमा काम गर्दा प्रशंशा पनि हुन्छ । आलोचना पनि हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मलाई भ्रष्टाचारको आरोपमा मुद्दा पनि हाल्यो । तर इतिहासमा पहिलो पटक अख्तियारको मुद्दा विरुद्ध जुलुस निस्कियो । ट्राभल एजेन्सी, टे«ेकिङ एजेन्सी, निगमका कर्मचारी सबैले डिल्ली बजार जेलमै गएर नाराजुलुस र भाषण गरेका थिए । जेलका कर्मचारी नै दंग परेका थिए ।
कति दिन बस्नुभयो जेलमा ?
सात÷आठ दिन । त्यो पनि धरौटी तिर्न नसकेर । अदालतले कल्पनै नगरेको धरौटी माग्यो । मसहित छ जनाविरुद्ध मुद्दा परेको थियो । पाँच जनालाई १० देखि १५ लाखको धरौटी तोकिएको थियो । मैले पनि आफ्नो लागि करिब ६० लाख जति ठिक पारेको थिएँ । अदालतले अचानक छ करोड धरौटी माग्यो । धन्न न्यायलयले न्याय दियो । इतिहासमा पहिलो पटक बिशेष अदालत र सर्वाेच्च अदालत दुबैबाट सफाई पाएँ । त्यसपछि निगममा जाँदा निगमका सबै कर्मचारीले अविर माला लगाएर खुशी व्यक्त गरे ।
जुन संस्थामा काम गर्दैै गर्दा तपाई जेल पर्नुभयो, त्यही संस्थामा फेरी काम गर्ने जोस जाँगर छ तपाईमा ?
त्यहि संस्थामा पुन जिम्मेवारी पाउनुलाई म प्रतिको सम्मानका रुपमा मैले लिएको छु । गोली लाग्यो, सानोतिनो घाउ भयो भन्दैमा म युद्ध मोर्चा छाडेर भाग्ने सिपाही होइन । त्यसैले फेरि पनि निगममा जाने सोँचसहित लागिपरेको थिए । अहिले जिम्मेवारी पाएको छु । यसले थप काम गर्ने हौसला प्रदान गरेको छ ।
निगममा फेरी कार्यकारी प्रमुख हुन कति जना मन्त्रीको घरमा धाउनुभयो ?
हरेक मन्त्रीलाई भेटेर नियुक्तीका लागि प्रयास गरेको हुँ । विशेषत विद्युत प्राधिकरण र बायु सेवा निगम मेरो रोजाईका क्षेत्र हुन । निगममा मेरो कार्यकाल दुई महिना मात्रै बाँकी थियो । त्यतिबेलाका पर्यटनमन्त्री खड्ग बहादुर विश्वकर्माले मलाई बोलाएर सबै व्यवस्थापन परिवर्तन गर्न चाहेको छु, राजीनामा दिनुस भन्नुभयो । मैले ‘राजीनामा दिएर भाग्दिन, बरु तपाईले हटाउनुहोस्, तपाईको निर्णय विरुद्ध अदालतमा जान्न । त्यसरी तपाईलाई सहयोग गर्छु’ भने । त्यसपछि सौहार्दपुर्ण वातावरणमा म निस्किएँ । अनि उहाँले मनरुप शाहीलाई नियुक्त गर्नु भयो ।
लोकन्द्र बहादुर विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पनि जिम्मेवारी माग्दै गएको थिएँ । त्यसपछि पोष्ट बहादुर बोगटी मन्त्री बन्नुभयो । उहाँसगको दुईवटा भेटमा मलाई जिम्मेवारी दिँदा हुन्छ भनेर उहाँ कन्भिन्स भैसक्नु भएको थियो । मन्त्री बोगटीले भन्नु भएको थियो–‘सुगतजी तपाई बाहेक अरुले यो संस्था चलाउन सक्दैनन ।’ उहाँले मेरो बायोडाटा माग्नु भयो र प्रस्ताव पनि क्याबिनेटमा लानु भएको थियो तर त्यहाँबाट पास भएन । मदन खरेल ४ वर्षको लागि नियुक्त भएपछि म चुप लागेर बसेँ । विद्युत प्राधिकरणमा पनि मुकेशजी आउनुभएपछि मैले प्रयास गरिन । खाली भएको अवस्थामा मात्र म सक्रिय हुने हो । निगममा मदन खरेलले राजीनामा गरेपछि फेरी प्रयास गरेको हुँ ।
निगममा के के काम गर्ने योजना छ ?
करिब १४ सय कर्मचारी छन् निगममा । कर्मचारीको मनोबल गिरोको छ । एक जना उच्च अधिकारीले राजीनामा दिने घोषणा गरेका थिए रे । मेरो नियुक्तीले निगमभित्र केही उत्साह थपिएको छ भन्ने सुनेको छु । मेरो पहिलो प्रयास भनेको कर्मचारीलाई मोटिभेसन गर्ने हो ।
दोश्रो कुरा भनेको निगममा रहेको राजनीतिलाई असल बाटोमा लैजाने । कसैलाई काखा कसैलाई पाखा गर्नै पर्छ । सहि मान्छेहरुलाई काँखी च्यापिन्छ खराबहरुलाई पाखा लगाउँछु । आजै बिहान पनि एक जनाले घरमै आएर चाकडीको प्रयास गरे । मैले नियुक्तीको पत्र पाएकै छैन । एक जना ९ औं तहको कर्मचारीले बिहान ६ बजे नै घरमा आएर भेटेर गए । यस्ता मान्छेहरु पनि छन्् । कुरा मिठो गर्ने तर काम नगर्नेलाई पाखा लगाउनैपर्छ ।
अर्काे महत्वपुर्ण कुरा भनेको जनशक्तिको आपूर्ति हो । चारवटा जहाज छन् । ती जहाज उडाउन पाईलट छैनन् । विदेशी पाईलट ल्याउनु परेको अवस्था छ । इन्जिनियर छैनन् । तीनको व्यवस्थापन गर्नुपर्छ ।
१० अर्ब ऋणको ११ प्रतिशतका दरले ब्याज तिर्नु पर्नेछ । चारैवटा जहाजलाई फुल फेजमा उडाउनु पर्नेछ । निर्माता कम्पनीको नियमानुसार नयाँ जहाज दैनिक १६ घण्टासम्म उडाउन सकिन्छ । पुराना जहाज पनि नौ १० घण्टा उडाउन सकिन्छ ।
विमान किन्ने कुरा सजिलो हुन्छ । खल्तिमा पैसा छ भने जहाज तुरुन्तै किन्न सकिन्छ । खल्तिमा पैसा छ भने आलु किन्नु र विमान किन्नु उस्तै हो । गाह्रो काम भनेको जहाज उडाएर पैसा कमाउनु हो ।
तर नेपाल त विमान किन्नु पनि ठूलो महाभारत बनिरहेको छ । त्यतिबेला मलाई खुरुखुरु काम गर्न दिएको भए अहिलेसम्म छ वटा जहाज आईक्थ्यो । अहिलेसम्म हाम्रो कार्यालय जापान, युरोप र अमेरिकामा हुन्थ्यो । बोनस खान नसके पनि हामी ऋण मुक्त हुन सक्थ्यौं । नाफामा गैसकेका हुन्थ्यौं । १० अर्बको सामान किन्न खोजेको १० करोडमा किचकिच भयो । १० तलाको घर बनाउन खोज्नेले एउटा चुक्कुलको साईज किन यस्तो भो भनेर विवाद गरेर पनि हुन्छ ? तर हामी कहाँ त चार बर्ष चुक्कुलमै विवाद गरेर बित्यो ।
तपाईको व्यापार योजना के हो ?
नेपाल एयरलाईन्स भनेको नेपालको पर्यटन क्षेत्रका मेरुदण्ड हो । यो कुरा धेरैले बुझेनन् । मलेसियामा दुई करोड, थाईल्याण्डमा डेढ करोड, सिंगापुरमा एक करोड २५ लाख र थाईल्याण्डमा दुई करोड पर्यटक जान्छन । त्यसको कारण भनेको उनीहरुसँग बर्षाै पहिलेदेखि राष्ट्रिय ध्वजाबाहक थियो । मलेसियन एअर लाईसन्ससँग ८० वट जहाज छ । त्यसमा पनि आधा जति वाइड बडिका जहाज छन् । सिंगापुर एअरलाईन्स त दशौं बर्षसम्म संसारकै उत्कृष्ठ कम्पनीका रुपमा स्थापित रह्यो । हाम्रो मुख्य प्रयास भनेको अन्तराष्ट्रिय उडान वृद्धि गर्ने हो । जहाज थप्दै जाने हो ।
कति बर्षमा ऋण तिर्ने योजना छ ? नाफामा कहिले जाने ?
कर्मचारी सञ्चय कोषको ऋण १५ बर्षमा तिरसक्नु पर्ने सम्झौता छ क्यारे । डिटेल चाँही चाटर्ड एकाउन्टेन्टले हेर्छन । म त्यहाँ हुँदा दुईवटा वाईड बडि किनिसकेपछि सातदेखि आठ बर्षसम्ममा सञ्चय कोषको ऋण तिरिसक्ने योजना बनेको थियो ।
निगमको संरचना परिवर्ततबारे कुनै योजना बनाउनु भएको छ ?
म नेपाल टेलिकममा हुँदा २० बर्षसम्म निजीकरणको कुरा भयो । काम भएन । म प्रबन्ध निर्देशक भएपछि करिव ८ प्रतिशत सेयर सरकारले बिक्री ग¥यो । त्यसपछि निजीकरणतर्फ केही पनि काम भएको छैन ।
नेपाल एयर लाईन्समा पनि रणनीतिक साँझेदार भित्र्याउने कुरा दशौं बर्षदेखि बहसमा आएको कुरा हो । यो मालिकले तय गर्ने कुरा हो । म त केबल व्यवस्थापक मात्रै हुँ । यो सरकारले गर्ने निर्णय हो । यसको पक्षमा लाग्नेहरु राम्रा कुरा मात्रै गर्छन भने बिरोधीहरुले बिरोध मात्रै गर्छन ।
नेपाल एयरलाईन्सलाई थाई एयरवेजकै उचाईमा लैजाने हो भने म्यानेजमेन्ट कन्सल्टेन्ट नियुक्ती गर्न लाज नमान्दा हुन्छ । फूर्ति गर्दै नेपालीहरु पनि के कम भनेर मात्रै हुँदैन । व्यवस्थापन विज्ञ नियुक्त गर्ने निर्णय सरकारले गर्छ भने त्यसको कार्यान्वयनका लागि म तयार हुन्छु ।
साँझेदार भित्र्याएपछि उसले राख्ने सर्तपनि हेर्नुपर्छ । तुरुन्तै तीन सय कर्मचारी निकाल भन्यो भने त्यो निर्णय न कर्मचारीले मान्छन्, न मैले नै मान्न सक्छु ।
निजीकरण वा रणनीतिक साँझेदारीमा जाने बारे केही सोच्नु भएको छ ?
भर्खरै रुप्थान्सासँगको साँझेदारी प्रस्तावका बारेमा कुरा चलेको छ । बाहिर आएका प्रस्तावहरुमध्ये एउटा व्यवस्थापनमा सघाउने र राजश्वको केहि प्रतिशत हिस्सा लिने भन्ने रहेछ । अर्काे प्रस्ताव भनेको उसले एकै पटक छ सात वटा जहाज फाईनान्सिङ गरेर ल्याईदने भन्ने रहेछ । यो प्रस्ताव मलाई ठिक लाग्यो । हामी कहाँ विमान किन्नु भनेको साह्रै लफडाको काम हो । फेरि एयर बससँगै विमान किन्छु भनेर पनि कुर्ने समय छैन । आज विमान अर्डर गर्यो भने दुई बर्षपछि दिन्छु भन्छ । अनि हामी दुई बर्षचाँही हात बाँधेर बस्ने कुरा पनि भएन । त्यसैले अहिले नियमित उडान भरिररहेका पाँच सात महिना वा एक डेढ बर्ष पुराना जहाज ल्याएर उडाउने कुरा साह्रै राम्रो हो । तर यसमा पनि समस्या छ । यसमा पनि सार्वजनिक खरिद ऐनले बाधा गर्छ । प्रतिष्पर्धा गराउन अनिवार्य जस्तै छ ।
रणनीतिक साँझेदार वा निजीकरण नगराई तपाईकै नेतृत्वमा अबको चार बर्षमा निगम कहाँ पुग्ला ?
चार बर्षमा युरोप जापान र अष्टे«लिया र अमेरिकामा नेपाली ध्वजाबाहक पुर्याउनु पर्छ । एसियामा सबै भन्दा महंगो हवाई टिकट काठमाडौंमा रहेछ । काठमाडौं आउने टिकट अन्त भन्दा ३० प्रतिशत महंगो छ । नेपाल आउन २५ वटा एयर लाईन्सले सबै भन्दा बढि पैसा काठमाडौंमा उडानमा कमाउँछन् । जापानबाट नेपाल आउने टिकटको मुल्य एक लाख ४० हजार देखि एक लाख ५० हजारसम्म पर्छ । यो त विश्व घुम्ने पैसा हो । विश्व घुम्ने पैसाले कोही नेपाल आउँछ । पक्कै पनि आउँदैनन । त्यसका लागि नेपाल बायु सेवा निगमले उडान बढाएर टिकटको मुल्यमा बजार हस्तक्षेप गर्नुपर्छ ।
अहिले चार वटा विमान चलाउन पनि गाह्रो भैरहेको छ । त्यसका लागि सात आठवटा जहाज चाहिन्छ । दुईवटा वाईड बडि त तुरुन्तै चाहिन्छ । जहाज मात्रै आएर पनि हुँदैन । अब पाईलट र इन्जिनियरहरु पनि चाहिन्छ । त्यसैले जहाज ल्याउने र कर्मचारीको व्यवस्थापनको एकै पटक काम गर्नुपर्छ ।
चिनियाँ जहाज उडाएर पैसा कमाउन सकिन्न भन्ने छ नि ?
आन्तरिक उडानका जहाजमा मेरो जोडबल थिएन । ती जहाजमा समस्या छन् रे । एक जना इन्जिनियरले भन्दै थिए–पार्टपुर्जा चाहियो भनेर फोन गरियो भने उसले अग्रेजी नबुझ्ने अनि हामीले चिनियाँ भाषा नबुझ्ने भयो रे । यस्तो अवस्थामा सानो पेजकिलाले पनि करोडौं नोक्सानी गर्न सक्छ ।
दुईवटा जहाज निशुल्क आईसक्यो अब चार वटा आउँदै छन् । यी जहाजको उचित व्यवस्थापन पनि मेरो लागि ठूलो चुनौती हो । थप चिनियाँ जहाज लिने कि नलिने भन्ने पनि प्रश्न उठिसकेको छ । तर यो सरकारले गर्ने निर्णय हो । मेरो प्राथमिकता भनेको विदेश उडान नै हो । विदेश उडाएर पैसा कमाउने अनि जनतालाई सेवा दिन ग्रामीण क्षेत्रमा उडान भर्ने हो ।
चिनियाँ जहाजका बारेमा सरकार र निगमको कुरा बाझिएको हो ?
बाहिर आएका कुराहरुलाई मान्ने हो भने निगम र सरकारको कुरा बाझिएकै देखिन्छ । निगमले अब हामी चिनियाँ जहाज उडाउन सक्दैनौ भनेको सुनिन्छ । सरकारले वास्ता गरेको देखिन्न ।
ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिने बारे ठूलो प्रयास भईराखेको छ नि ?
अहिलेकै अवस्थामा ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिने सम्भावनै छैन । यो कल्पना भन्दा बाहिरको कुरा हो । हामीले अन्तराष्ट्रिय उडानबाट नाफा नकमाउँदासम्म ग्राउण्ड ह्याण्डलिङ अरु कम्पनीले पाउँदैनन् । हामी नाफामा गएर बोनस खान सक्ने भएपछि आफैं भन्नेछौं अब हामीलाई यो काम चाहिएन । निजी कम्पनीलाई दिने वित्तिकै ग्राउण्ड ह्याण्डलिङमा सुधार आउँछ भन्ने कुरा गलत भएको तथ्य देखिईसकिएको छ भारतबाट । संसारभर ग्राउण्ड ह्याण्डलिङमा ध्वजा बाहक कम्पनीले प्राथमिकता पाउँदै आएको छ र यहाँ पनि त्यहि हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.