२०७५ असार १ गते १२:३४ हरि बास्तोला
स्याङजा । कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–८ स्थित साल्मेडाँडामा प्रथम तथा दोस्रो विश्वयुद्धका क्रममा दिवंगत हुने ६० हजार गोर्खाली सैनिकको सम्झनामा स्मारकसहित संग्रहालय तथा पाँच डिब्बाको रेल, गोर्खा भ्यू टावर र जातीय सांस्कृतिक ग्राम निर्माण गर्न लागिएको हो ।
तीनसय रोपनी जग्गामा निर्माण गरिने स्मारकमा भौतिक संरचना तयार गर्न कूल नौ अर्ब रुपैयाँ खर्च हुने र हालसम्म ब्रिटिश सेनामा कार्यरत नेपालीले नौ करोड रुपैयाँ तथा शहरी विकास मन्त्रालयबाट पाँच करोड रुपैयाँ संकलन भएको स्मारक निर्माण समितिका अध्यक्ष पुरनध्वज गुरुङले जानकारी दिए ।
रोजगारीको क्रममा जन्मभूमि छोडी ब्रिटिश सेनामा गएका गोर्खाली युवा ब्रिटिश साम्राज्यको स्वार्थ र समृद्धिका लागि लड्दा मारिएको बताउँदै उनले तिनै वीर गोर्खालीको समग्र विवरण स्मारकमा समेटिने जानकारी दिएका छन् ।
नेपालमा जातीय सद्भाव कायम गर्ने उद्देश्यका साथ १७ जातिका मानिसलाई लक्षित गरी लगभग ३०० जना क्षमताको जातीय अनुसन्धान केन्द्र भवन, अत्याधुनिक टावर, रेष्टुराँसमेत निर्माण गरिने योजना रहेको उनले जानकारी दिए ।
उनका अनुसार साल्मेडाँडाबाट मट्टिखान हुँदै कास्कीको दक्षिणभेगस्थित भरतपोखरीसम्म करीब १५ देखि २० किलोमिटर दूरीको पाँच डिब्बाको रेल सञ्चालनमा ल्याउने तयारीमा समिति जुटेको छ ।
पोखराको दक्षिणी भेगमा पर्ने उक्त क्षेत्रबाट रेलमा शयर गर्दै धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृंखला एवं फेवातालसहित पोखरा बजारको दृष्यावलोकन गर्न सकिने उनले बताए ।
यसैबीच, प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त क्षेत्रको निरीक्षण गर्दै स्मारक प्रदेशकै महत्वपूर्ण गहना हुने बताए ।
उनले निर्माणाधीन संरचना पूरा भएसँगै यसको माध्यमबाट आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । वीर नेपाली गोर्खालीकै कारण नेपालको शिर उच्च रहेको बताउँदै उनले स्मारक निर्माणले ती वीर गौर्खालीको योगदानलाई स्मरण गराउनुका साथै गौरवको अनुभूति हुने उल्लेख गरेका छन् ।
उनले प्रदेश सरकारका तर्फबाट स्मारक निर्माणलाई सहयोग पुर्याउने बताए । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.