पाँच इन्स्योरेन्स कम्पनीलाई १०/१० हजार जरिवाना, लाइसेन्स नविकरण पनि भएन

  २०७५ असार ७ गते १८:२१     विकासन्युज

काठमाडौं । समयमै वित्तिय विवरण पेश नगरेपछि बीमा समितिले पाँच वटा बीमा कम्पनीलाई जरिवाना गर्ने भएको छ । समितिले एलआईसी नेपाल, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लगायतका पाँच वटा कम्पनीलाई जरिवाना गर्न लागेको हो ।

यी कम्पनीहरुले आर्थिक बर्ष २०७३/७४ को लेखा परिक्षणसहितको वित्तिय विवरण बुझाएका छैनन् । बीमा ऐनको दफा २५ मा लेखा परिक्षणसहितको वित्तिय विवरण आर्थिक बर्ष सकिएको १० महिना भित्र पास गरिसक्नुपर्ने व्यवस्था छ । यी कम्पनीहरुले बैशाख मसान्तभित्र लेखा परिक्षणसहितको वित्तिय विवरण पास गरिसक्नुपर्ने थियो ।

यसरी विवरण पास गरेपछि ५० हजार शुल्क तिरेर बीमकको लाइसेन्स नविकरण हुने व्यवस्था छ । समयमै वित्तिय विवरण पास गराउन नसकेपछि यी कम्पनीहरुको लाइसेन्स समेत नविकरण भएको छैन् । बीमा ऐनको दफा ११(क)मा समयमै वित्तिय विवरण पास गराउन नसके बीमकको प्रमाणपत्र नविकरण नहुने व्यवस्था छ ।

ऐनको दफा ३६ अनुसार यी कम्पनीहरुलाई ३ हजारदेखि १० हजारसम्म जरिवाना हुने व्यवस्था छ । ‘पाँच वटा कम्पनीहरुको लेखा परिक्षणसहितको वित्तिय विवरण स्वीकृत भएको छैन्, अब कानुन अनुसार ३ देखि पाँच हजार रुपैंयाँ जरिवाना तिराउँछौं’, बीमा समिति उच्च श्रोतले भन्यो ।

समिति श्रोतका अनुसार यी कम्पनीहरुले अहिलेसम्म लेखा परिक्षणसहितको विवरण पेश पनि गरेका छैनन् । समितिमा विवरण पेश गरेपछि बल्ल समितिले त्यसको अध्ययन गरेर परिमार्जन आवश्यक देखिएमा पूनः फिर्ता पठाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.